स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

मदन भण्डारी राष्ट्रिय पुरस्कार चित्रकार शर्मालाई

सेयर गर्नुहोस

काठमाडौँ, १४ असार : ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०७४’ बाट कलाकार हरिप्रसाद शर्मा आज सम्मानित हुनुभएको छ ।

जननेता मदन भण्डारीको ६७औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकार शर्मालाई सम्मान गर्नुभयो । पुरस्कारको राशि रु एक लाख र साथमा सम्मानपत्र छ ।

फाउण्डेशनले प्रदान गरेको उक्त पुरस्कार चित्रकार शर्मालाई नेपाली कलामा प्राचीन इतिहास, जनजीवन, धर्म र संस्कृति उजागर गरेवापत प्रदान गरिएको हो । लिच्छविकालदेखि काठमाडौँ उपत्यकाका सामाजिक, प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व झल्कने विषय चित्रकलाका माध्यमबाट प्रकाशन गरी शर्माले उल्लेखनीय योगदान गर्नुभएको छ । अंशुवर्माको कैलाशकूट दरबार, सिद्धार्थ, अरनिकोको चीन बिदाइ, पृथ्वीनारायण शाहले कुमारीका हातबाट ग्रहण गरेको टीका जस्ता विषय ती कलामा पाइन्छन् ।

फाउण्डेशनले हरेक वर्ष मदन भण्डारीको जन्मजयन्तीका अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार महजोडी, डा भगवान कोइराला र महावीर पुनलाई प्रदान गरिसकिएको छ ।

‘नेपालमा समाजवादका आधार’ विषयको विचारगोष्ठी एवं मदन भण्डारी राष्ट्रिय पुरस्कार अर्पण समारोहमा पुरस्कार ग्रहणपछि कलाकार शर्माले मदन भण्डारीजस्तो आदर्शवान् व्यक्तित्वका नाममा स्थापित पुरस्कार पाउनु आफ्ना लागि खुशीको विषय भएको बताउनुभयो । उहाँले नेपाल र नेपाली जनताको सेवाका लागि आफूले ऐतिहासिक चित्र बनाएको बताउँदै त्यसमा आगामी दिनमा अझै मेहनतका साथ लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, मैले मेरो चित्रकारिता नेपाल र नेपालीप्रति समर्पण गरेको छु । नेपालको प्राचीन अवस्थालाई चित्रका माध्यमबाट चिनाउने धोको छ । मेरोतर्फबाट सक्दो प्रयास गर्छु ।”
पुरस्कार छनोट समितिका सदस्य डा विमला राईले समाजसेवा, विज्ञान तथा प्रविधि, शान्ति तथा मानवाधिकार, सामाजिक सद्भाव एवं सामाजिक न्याय, कला, संस्कृति, अर्थतन्त्रमा योगदान दिनेमध्ये यस वर्ष भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःस्थापनाका लागि प्रेरणा दिने कला सर्जक शर्मालाई चयन गरिएको जानकारी दिनुभयो ।

विसं १९९४ कात्तिकमा जन्मनुभएका कलाकार शर्मा पानी र तेल रङको प्रयोग गरेर चित्र कोर्नुहुन्छ । सो अवसरमा १४औँ पटक सगरमाथाको आरोहण गर्नुभएका लाक्पागेलु शेर्पालाई मदन भण्डारी स्पोर्टस एकेडेमीको झण्डा सगरमाथामा झण्डोत्तोलन गरेकामा सम्मान गरिएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -