स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश नं ४ विजयी

सेयर गर्नुहोस

काठमाडौँ, १६ जेठ : हरिबहादुर चौहानले ब्याटिङतर्फ शतक र बलिङतर्फ ह्याट्रिकसहित ४ विकेट लिएपछि प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ‘ए’ बाट प्रदेश नं ४ ले आफ्नो तेस्रो खेलमा पहिलो जित दर्ता गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी उक्त प्रतियोगितामा प्रदेश ४ ले प्रदेश १ लाई १२९ रनले पराजित गरेको हो । यसअघि पहिलो खेलमा एपिएफसँग ५ विकेट र प्रदेश २ सँग ६७ रनले पराजित भएको प्रदेश ४ ले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले मध्यक्रमका ब्याट्सम्यान हरिबहादुर चौहानको शतकीय योगदानमा निर्धारित ओभरमा ७ विकेट गुमाएर ३१० रनको विशाल योगफल बनाएको थियो ।

चौथो नम्बरमा ब्याटिङमा आएका चौहान ४६ दशमलव ४ बलमा प्रदेश १ का सन्दिप ढुंगानाको बलमा क्याचआउट हुनुअघि ११५ बल खेलेर १०० रन बनाए ।

जारी प्रतियोगितामा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन् । यसअघि एपिएफविरुद्धको खेलमा पनि चौहानले ५७ रनको अर्धशतकीय पारी खेलेका थिए ।

चौहानले छैटौँ विकेटका लागि सुमन घिमिरेसँग मिलेर १३६ रनको शतकीय साझेदारी गरेपछि प्रदेश ४ विशाल योगफल बनाउन सफल भयो । घिमिरेले विष्फोटक पारी खेल्दै ५३ बलमा ६ छक्का र ६ चौकाको सहयोगमा ८३ रनको योगदान दिए ।

यसअघि, शुरुआती ५ विकेट उसले सस्तैमा गुमाएको थियो । ओपनरहरु अनिल गुरुङ १३ र सन्तोष न्यौपाने ७ रनमा आउट हुँदा आकाश थापाले १९ तथा मञ्जिल न्यौपानेले २८ रन बनाएर आउट भएका थिए ।

प्रदेश ४ का लागि विपिन खत्रीले ९ बलमा २३ रन जोडे । उसले अतिरिक्त २८ रन पाएको थियो । बलिङतर्फ प्रदेश– १ का पुष्प थापा र सन्दिप ढुंगानाले २–२ विकेट लिए । कूल ३११ रनको लक्ष्य पछ्याएको १ नं प्रदेश ३५ ओभरमा १८१ रनमै समेटियो । उसका लागि ओपनर सन्दिप ढुंगानाले ७१ रनको अर्धशतकीय योगदान दिए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

प्रदेश १ का लागि मिनास थापाले १९, राजन मगरले १०, फिर्दोस अन्सारीले १३ र श्रवण यादवले अविजित १९ रन जोडे ।

बलिङतर्फ प्रदेश ४ का हरिबहादुर चौहानले ४ तथा विपिन खत्री र राजु गुरुङले समान २–२ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका चौहान खेलको ‘म्यान अफ द म्याच’ चुनिए । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -