स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

बजेटमा पर्यटनलाई प्राथमिकता सकारात्मक

सेयर गर्नुहोस

पोखरा, १५ जेठ : नेपाल सरकारका तर्फबाट संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिइनुलाई सकारात्मक रुपमा लिइएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले पर्यटनबाट रोजगारी र आयआर्जन बढाउन मनोरञ्जन, प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, धार्मिक र साहसिक पर्यटनको पूर्वाधार निर्माण, बजार प्रवद्र्धन र सेवा सुविधा विस्तार गरिने बताउनुभयो ।

उहाँले आगामी दुई वर्षभित्रमा २० लाख पर्यटक भित्र्याउने गरी ‘भिजिट नेपाल २०२० अभियान’ सञ्चालन गरिने जानकारी दिनुभयो । अर्थमन्त्री खतिवडाले पर्यटन क्षेत्रका लागि रु पाँच अर्ब २० करोड ३४ लाख विनियोजन गरेको बताउनुभयो ।

नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन भएको बताउने पर्यटन सम्बद्ध क्षेत्रका प्रतिनिधिले सरकारले बजेटमा दिइएको पर्यटन क्षेत्रको प्राथमिकता उत्साहजनक भएको बताएका छन् ।

नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन भएको बताउने पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुली बजेटमा पर्यटनलाई लक्ष्य गरी आएका विषयले पर्यटन व्यवसायीलाई उत्साही बनाएको बताउनुहुन्छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण बजेटमा उल्लेख हुनुका साथै आएका पर्यटन सम्बद्ध विषयलाई सफलतापूर्वक कार्यान्वयन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अर्थमन्त्री खतिवडाले प्रदेश र स्थानीय तहको साझेदारीमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि मुलुकभरका कम्तीमा १०० वटा नयाँ पर्यटकीयस्थल पहिचान गरी विकास तथा प्रवद्र्धन गर्न बजेट छुट्याएको बताउनुभएको छ ।

पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको उल्लेख गर्दै प्राडा विश्वकल्याण पराजुली नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्दै पर्यटकको आगमनलाई बढाउने र उनीहरूको बसाइँ लम्ब्याउनेतर्फ सरकारले दीर्घकालीन सोच ल्याउनुपर्ने बताउनुहुन्छ ।

पोखरामा मात्र पर्यटकीय गतिविधि हुनुले समग्र पर्यटन नबढ्ने बताउँदै उहाँले यस आसपासका क्षेत्रका साथै समग्र प्रदेशलाई लक्ष्य गरी पर्यटनमुखी गतिविधि विस्तार गरिनुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री खतिवडाका अनुसार मौसममा मात्र सीमित रहेको पर्यटनलाई बाह्रैमास चलायमान गराइने सरकारको लक्ष्य छ । स्तरीय होटेल तथा रिसोर्ट लगायतका पर्यटकीय सेवाको लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले सहजीकरण गर्ने बताउँदै उहाँले नेपाललाई माइस टुरिजम केन्द्रका रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास गरिने उल्लेख गर्नुभयो ।

बजेट बक्तव्यमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने उल्लेख गरिएको छ । नेपालको विकासका लागि पर्यटन, जलस्रोतका साथै कृषिलगायतका समग्र क्षेत्रको विकास आवश्यक हुने प्राडा यादवप्रसाद गौडेल बताउनुहुन्छ ।

“बजेटमा उल्लेखित विषयका साथै राखिएका प्राथमिकता राष्ट्रको समृद्धिका लागि महत्वपूर्ण हुने देखिए पनि यसको कार्यान्वयन कसरी अघि बढ्छ त्यो महत्वपूर्ण हो,” उहाँले भन्नुभयो ।

नेपालको समग्र विकासका लागि कृषियोग्य जमिनको खण्डीकरण रोक्दै उत्पादनमुखी कार्यक्रम अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । पर्यटकीय पूर्वाधारको विकासका साथै पर्यटकको बसाइँ लम्ब्याउने सोचका साथ अघि बढ्नु आवश्यक भएको उहाँको भनाइ छ ।

प्रदेश नं ४ पर्याप्त पर्यटकीय सम्भावनायुक्त स्थल भएको बताउने नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेलले सरकारले पर्यटन क्षेत्रमा विस्तारै प्राथमिकता दिँदै जान थालेको बताउनुभयो । पर्यटन क्षेत्र आफैँमा उद्योग भएको बताउँदै पोखरेलले सरकारले यसलाई उद्योगका रुपमा मान्यता दिनुपर्ने धारणा राख्नुभयो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -