स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंहको उम्मेदवारी

सेयर गर्नुहोस

काठमाडौँ, २० फागुन: नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी परेको छ ।

सांसद विजयकुमार गच्छदारले सभापति देउवालाई प्रस्ताव गर्नुभएको थियो भने मानबहादुर विकले समर्थन गर्नुभएको थियो । त्यसैगरी प्रकाशमान सिंहको उम्मेदवारीलाई सांसद सीतादेवी यादवले प्रस्ताव र सञ्जयकुमार गौतमले समर्थन गर्नुभएको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

संसदीय दलको नेताको उम्मेदवारका लागि आज फागुन २० गते अपराह्न ६ बजेदेखि साँझ ७ः३० बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । निर्वाचन तालिकाअनुसार आजै मतदाता नामावली प्रकाशन भइसकेको छ ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । नेपालको संविधान जारी भएपछि प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो ।

उम्मेदवारीको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ४१ हजार तोकिएको छ । सोमबार बिहान ८ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संसदीय निर्वाचन समितिका सदस्यसचिव केशव रिजालले जानकारी दिनुभयो ।

सोमबार बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुनेछ । मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने उहाँले राससलाई जानकारी दिनुभयो ।

पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने सचिव रिजालले बताउनुभयो ।

राष्ट्रियसभामा दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने काँग्रेस संसदीय दलको विधानमा उल्लेख छ । त्यस्तै राष्ट्रियसभाको प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिशमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था रहेको सांसद बद्री पाण्डेले बताउनुभयो ।

उनन्साठी सदस्यीय राष्ट्रियसभामा काँग्रेसका १३ सांसद छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो ।

पार्टीका केही नेताले निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआई कमजोर भएको परिस्थितिमा सर्वसम्मत रूपमा दलको नेता चयन गर्नुपर्ने बताएपनि त्यसमा सहमति हुन नसक्दा अन्ततः निर्वाचन हुने भएको हो ।

काँग्रेसले बहुदलीय संसदीय शासन प्रणालीमा सांसदको शपथ ग्रहण नगरी कुनै पनि सदस्य संसदीय दलको नेता वा कार्यसमिति सदस्य हुन नसक्ने भन्दै सांसदको शपथपछि मात्र संसदीय दलको नेताको निर्वाचन गर्न लागेको हो ।

फागुन १३ गतेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले संसदीय दलको नेता चयन प्रक्रियाको आवश्यक गृहकार्य गर्न नेता चीनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्दम्बे र नवीन्द्रराज जोशी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।  रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -