स्वागतम्,
Sunday 28th April 2024   |   Switch to English
Times of Nepal

काँग्रेस संसदीय दलको नेता निर्वाचनका लागि मतदाता नामावली प्रकाशन

सेयर गर्नुहोस

काठमाडौँ, २० फागुन : नेपाली काँग्रेस संसदीय दलको नेताका लागि आज मतदाता नामावली प्रकाशन भएको छ ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ सांसदको नाम मतदाता नामावलीमा छ । नेपालको संविधान जारी भएपछि प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो ।

आज अपराह्न ६ बजेदेखि साँझ ७ः३० बजेसम्म संसदीय दलको नेताको उम्मेदवारका लागि दरखास्त आह्वान गरिएको छ । नेताका लागि सभापति देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी पर्ने देखिएको छ । सोमबार बिहान ८ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिका सदस्य सचिव केशव रिजालले जानकारी दिनुभयो ।

सोमबार बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा मतदान हुनेछ । मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने उहाँले राससलाई जानकारी दिनुभयो ।

पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने सचिव रिजालले बताउनुभयो ।

निर्वाचनमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिने देखिएको छ । उम्मेदवारीको दरखास्तसाथ दाखिल हुनुपर्ने शुल्क रु ४१ हजार तोकिएको छ ।

राष्ट्रियसभा दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने काँग्रेस संसदीय दलको विधानमा उल्लेख छ । त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था रहेको सांसद बद्री पाण्डेले बताउनुभयो ।

उनन्साठी सदस्यीय राष्ट्रियसभामा काँग्रेसका १३ सांसद छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -