स्वागतम्,
Sunday 5th May 2024   |   Switch to English
Times of Nepal

साँखु शालिनदीका एक महिने व्रतालुले गरे जल ग्रहण

सेयर गर्नुहोस

काठमाडौँ, १७ पुस (रासस) ः पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीको मेलाका व्रतालुले जल ग्रहण गरेका छन् ।

मेलाका २५० व्रतालुले माधवनारायणका मूल पुजारी सुदन राजोपाध्यायसँग आज बेलुकी जल लिएका हुन् । जल लिइसकेपछि व्रतालुले जुत्ता चप्पल छुन नहुने र नुन खान नहुने व्रतविधि रहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

एक महिनासम्म साँखु शालिनदीमा माघस्नानसहित माधवनारायणको विशेष मेला लाग्दछ । यो मेला भर्न देशभरका भक्तजन माघ महिनामा साँखु आउने गर्छन् । मेलाका लागि सबै तयारी पूरा भएका समितिले जनाएको छ ।

माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गरेको साँखु एवं शालिनदी क्षेत्रको धार्मिक, सांस्कृतिक खोज अनुसन्धानमा लाग्नुभएका इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले बताउनुभयो ।

यसवर्षको माधवनारायण मेलाका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको समितिले जनाएको छ । यसवर्ष पुस १८ गतेदेखि माघ १७ सम्म २५ लाख दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी तयारी गरिएको उपाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

व्रतालु आज बेलुकीदेखि नै साँखुमा बास बस्न आएका छन् । साँखु शालिनदीमा माधवनारायणको व्रत बसी श्रीस्वस्थानीको कथा सुन्ने गरिन्छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -