स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

अनुशासनसहितको मेलमिलाप आवश्यक छ :प्रधानमन्त्री देउवा

सेयर गर्नुहोस

काठमाडौँ, १६ पुस : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा अनुशासन सहितको मेलमिलाप आवश्यक भएको बताउनुभएको छ ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाल विद्यार्थी संघले आज यहाँ आयोजना गरेको विचार गोष्ठीमा उहाँले पार्टीमा बढेको अनुशासनहीनताले निर्वाचन परिणाम अपेक्षा गरेअनुसार नआएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले गत स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही नभएका कारण प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा अन्तर्घात झन् बढेको बताउँदै “आफ्नै पार्टीमा मेलमिलाप गर्न नसक्नेले कसरी मुुलुकमा राष्ट्रिय मेलमिलाप गर्न सक्छ,” भन्नुभयो ।

निर्वाचनमा प्रत्यक्षतर्फ पार्टी हार्नुका कारण पत्ता लगाउन उच्चस्तरीय जाँचबुझ समिति बनाउने अवगत गराउँदै उहाँले भन्नुभयो, “अब निष्पक्ष छानबिन हुन्छ, अन्तर्घात गर्नेलाई कडा कारबाही गरिन्छ ।”

प्रधानमन्त्री देउवाले समानुपातिकतर्फको मतपरिणाम हेर्दा काँग्रेस नहारेको उल्लेख गर्दै दुई कम्युनिष्ट पार्टी एक भएर लडेको प्रतिकूल अवस्थामा पनि काँग्रेस दोस्रो भएको धारणा व्यक्त गर्नुभयो ।

विसं २००७ देखि मुलुकका हरेक राजनीतिक परिवर्तन काँग्रेसको नेतृत्वमा नै सफल भएको बताउँदै उहाँले अहिले पनि आफ्नै नेतृत्वमा संविधान कार्यान्वयनमा लागेको छ भन्नुभयो ।

प्रधानमन्त्री देउवाले लोकतन्त्रको स्थायित्वका लागि युवा विद्यार्थीको सक्रियताको खाँचो रहेको औँल्याउँदै “निर्वाचनमा पार्टीले हार व्यहोरे पनि काँग्रेसको सिद्धान्त कहिल्यै हारेको छैन्,” भन्नुभयो ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं काँग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रियताका सवालमा महामानव विपी कोइरालाले कहिल्यै कसैसँग सम्झौता नगरेको स्मरण गर्दै राष्ट्रियता बलियो भयो भने मात्र नागरिकका हक–अधिकार संरक्षण हुने बताउनुभयो ।

पूर्वमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाँणले नेविसंघ बलियो भए मात्र काँग्रेस बलियो हुने र काँग्रेस बलियो भयो भने मात्र लोकतन्त्रको सुदृढीकरण हुने धारणा व्यक्त गर्नुभयो ।

पूर्वमन्त्री एवं काँग्रेस नेता डा प्रकाशशरण महतले पार्टी भित्रका आलोचना, समालोचना पार्टी भित्रका मञ्चहरुमा मात्र गर्न आग्रह गर्दै आगामी दिनमा पार्टीको जनमत बढाउन सबै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो ।

काँग्रेस नेता एवं वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले काँग्रेस आगामी दिनमा शुद्धीकरण गरी सुदृढीकरणमा लाग्नुपर्ने सुझाव दिनुभयो ।

सो अवसरमा नेविसंघका अध्यक्ष नैनसिंह महर, पूर्वअध्यक्षहरु विपिन अधिकारी, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, गुरुराज घिमिरे, रञ्जित कर्ण लगायतले पार्टीको भावी रणनीतिका बारेमा बृहत् समीक्षा गरी पार्टी सुदृढीकरणको आवश्यकतामा जोड दिनुभयो ।

काँग्रेस संस्थापक नेता विपी कोइराला विसं २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर भारत प्रवासनबाट स्वदेश फर्केको दिनको अवसर पारेर आज काँग्रेसले मुलुकभर विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाएको छ ।(रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -