स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

एमाले र माओवादी केन्द्रको एकताबाट नयाँ पार्टी बन्छ : नेता पौडेल

सेयर गर्नुहोस

काठमाडौँ, १६ पुस : नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकताबाट नयाँ पार्टी बन्ने खुलासा गर्नुभएको छ ।

सञ्चारकर्मीहरुसँग आज विशेष कुराकानी गर्दै उहाँले भन्नुभयो, “दुई पार्टीको एकताबाट नयाँ आधारमा नयाँ पार्टी बन्छ, त्यसले आर्थिक समृद्धि र जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्दछ, हामी त्यसका लागि सार्थक प्रयासमा लागिपरेका छौँ ।”

नेता पौडेलले एकतालाई सार्थक निष्कर्षमा पु¥याउन दुवै पार्टीका तर्फबाट युवा नेतृत्वले पहल गरिरहेको र केही दिन भित्रै सार्थक परिणाम आउने विश्वास व्यक्त गर्दै “पार्टी एकता सम्मानजनक किसिमले हुन्छ, कोही कसैलाई मानमर्दन गर्ने भन्ने हुँदैन, सबैलाई सम्मान हुने गरी निर्णय हुन्छ,” भन्नुभयो ।

एमाले र माओवादी केन्द्रका अध्यक्षले पार्टी एकताको ठोस खाका तयार पार्नुभएको उल्लेख गर्दै उहाँले दुवै पार्टीको साझा मूल्य र अवधारणालाई संस्थागत हुने गरी निर्णय गरिने स्पष्ट पार्नुभयो ।

नेता पौडेलले पार्टी एकतालाई सार्थक बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष तहमा र दोस्रो तथा तेस्रो तहका नेताहरुले पनि आन्तरिक तयारी गरिरहेको चर्चा गर्दै एकता प्रक्रियालाई सफल बनाउन जनस्तरबाट पनि दबाव आएको बताउनुभयो ।

नेपाली जनताले ठूलो अपेक्षाका साथ वामगठबन्धनलाई विजयी गराएको भन्दै उहाँले आगामी सरकारले जनताको अपेक्षालाई पूरा गर्दै केही ठूला परियोजनासमेत शुरु गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेता पौडेलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रतिपक्षमा पुगेका नेपाली काँग्रेसलाई पनि मिलाएर जाने पक्षमा आफूहरु रहेको बताउँदै सहमति र सहकार्यका आधारमा मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

वामगठन्धनले संघीय समाजवादी फोरम नेपाललाई पनि सहकार्यका लागि आग्रह गरेको जानकारी दिनुहुँदै उहाँले आफूले नयाँ शक्ति पार्टी नेपालमा रहँदै शुरु गरेको बृहद् वाम एकताले सार्थक निष्कर्ष पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

नेता पौडेलले पछिल्ला दिनमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईसँग पनि छलफल भइरहेको बताउँदै विचार, आन्दोलन र ज्ञानका हिसाबले पनि उहाँ नेपाली काँग्रेसको कित्तामा जान नसक्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “आज पनि हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड र डा भट्टराईबीच भेटवार्ता भएको छ, उहाँ कतै जान सक्नुहुन्न र पाउनु पनि हुन्न ।”

आफूले डा भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पटक पटक एकै स्थानबाट चुनाव नलड्न आग्रह गरेको जानकारी दिँदै नेता पौडेलले दुवै जना संसद्लाई चाहिने व्यक्ति भए पनि एकजना छुट्दा नराम्रो लागेको छ भन्नुभयो । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -