स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

नीति सिद्धान्तवादी र कार्यक्रम यथार्थवादी बनाउन पार्टी नेतृत्वलाई सुझाव

सेयर गर्नुहोस

काठमाडौँ, १५ पुस : “हामी हारेका छैनौँ, हारेको मनोविज्ञान नलिऔँ, अहिले एक–अर्काेलाई आरोप र प्रत्यारोप गरेर भएको संगठनलाई भत्काउने काम नगरौँ” नेपाली काँग्रेसका नेता ओमकारप्रसाद श्रेष्ठले भर्खरै सम्पन्न निर्वाचनको यसरी समीक्षा गर्नुभयो ।

पूर्व सांसद मञ्च, नेपालले आज आयोजना गरेको विचार गोष्ठीमा मञ्चका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो– संगठन, कार्यशैली र विधानमा भएको त्रुटीलाई सच्याएर अघि बढौँ, हिनता बोध नगरौँ, अब नीति सिद्धान्तवादी र कार्यक्रम यथार्थवादी बनाएर अघि बढौँ ।

मञ्चका महासचिव होमराज दाहालले नेपाली काँग्रेसको पुनर्जागरणको कार्यदिशा विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाली काँग्रेसका आन्तरिक व्यवस्थामा भएको अव्यवस्था र अकर्मण्यता, विपक्षीको एकता र प्रहार एवं सरकार सञ्चालनबाट जनतामा देखिएको निराशा नै पराजयका प्रमुख कारण भएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो– पार्टीभित्र मौलाउँदै गरेको गुटबन्दी, भागबण्डाको राजनीति, व्यक्तिवादी प्रवृत्तिको अन्त्य गर्दै निर्वाचनको निर्मम समीक्षासँगै लोकतान्त्रिक आचरण युक्त युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने कार्ययोजना बनाउन आवश्यक छ ।

नेपाली काँग्रेसका पुराना नेता विपीन कोइरालाले नेपाली काँग्रेसले विश्वव्यापी राष्ट्रियताको लहर थाहा पाउन नसक्नु नै निर्वाचनमा पराजयको प्रमुख कारण हो भन्नुभयो ।

उहाँले भन्नुभयो– जनआन्दोलनपछि दुई तिहाइको संख्यामा वामपन्थीलाई संसद्मा प्रवेश गराउने, काँग्रेस हारे पनि मुलुकले जित्छ भन्ने गलत सोच राख्ने, पूर्वसहमतिअनुसार सुशील कोइरालालाई राष्ट्रपति बनाउनबाट वञ्चित गराउने, नाकाबन्दीको विरुद्धमा स्पष्ट धारणा सार्वजनिक गर्न नसक्नु, स्थानीय तहको निर्वाचनमा माओवादीसँग तालमेल गर्नु नै पराजयका कारणहरु हुन् । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -