स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

पाल्पाका ग्रामीण जनता अझै पनि लामाधामीको भरमा

सेयर गर्नुहोस

—सुशीला रेग्मी

रामपुर, पाल्पा), १२ पुस :जिल्लाको रिब्दिकोट गाउँपालिका–८, फेक, पेलाचौरका ७० वर्षीय जितबहादुर बगाले अहिलेसम्म बिरामी परेपछि लामाधामीकै भरमा पर्दै आउनुभएको छ ।

बिरामी पर्न थालेपछि पहिला लामाधामीकहाँ पुगेर उपचार गराउनुहुन्छ । “पटकपटक लामाधामीसँग उपचार गराउँदा निको नभएपछि मात्र अस्पताल जाने गरेको छु” उहाँले भन्नुभयो ।

“अस्पताल नजिक छैन, दिन बिताएर हिँडेर अस्पतालमा उपचार गर्न जानभन्दा घर नजिकै लामाधामीसँगै उपचार गर्न सजिलो भयो” बगालेको भनाइ छ ।

महिला स्वयंसेविका मनकुमारी बगालेले पनि आत्मादेखि माता आएकाले माताको आदेशअनुसार उपचार गर्दै आएको बताउनुभयो । उहाँ लामाधामी नभए पनि माताले भनेअनुसारको उपचार गरेपछि बिरामीसमेत ठीक भएको बताउनुहुन्छ ।

गाउँमा जोकोही बिरामी परेपछि लामाधामीकहाँ लाने र लामाधामीको सल्लाहअनुसार गाउँमा मरेका व्यक्ति वायु कुलायन बनेर आएकाले उनीहरुको पूजा गरेर भाले, बोका चढाउनुपर्छ भनेपछि बिरामीका आफन्तले सबै जुटाउने गर्छन् ।

लगातारसम्म दुईचार पटक भाले, बोका चढाउने गर्छन् । केहीलाई आफैँ रोग निको हुँदै गयो भने लामाधामीले सन्चो भयो भन्ने विश्वासले अस्पतालको उपचारमा ध्यान नदिएको सामाजिक परिचालक मीना कुँवरले बताउनुभयो ।

फेक, पेलाचौरका ६५ वर्षीय तिलबहादुर हिस्की, ६० वर्षीय थानबहादुर विक र प्रेमबहादुर खड्काले लामाधामीको काम गर्दै आउनुभएको छ । एउटै गाउँमा सातभन्दा बढी लामाधामी छन् ।

बच्चाबच्चीले आमाको दूध नखाएमा, घरमा कसैलाई पेट दुख्ने, पखाला लाग्ने, टाउको, हातखुट्टा दुख्ने, घाउखटिरा, ज्वरो आउने, रुघाखोकी लाग्ने ,शरीर दुख्ने, हातगोडा बाउँडिनेलगायतका बिरामी भएमा उपचारका लागि कुलायन, वायु जागेको, नाग, देवीदेवता लागेको भन्दै बिरामी बोकेर लामाधामी कहाँ पुग्ने गर्छन् । यहाँका जनता लामाधामीलाई नै अस्पतालको डाक्टर मानेर पुकार्ने गर्छन् ।

देवीदेवताले विशेष मन्त्र सिकाएको र त्यो मन्त्र जप्दै झारफुक गरे निको हुने पुरानो अन्धविश्वास रुढीवादीबाट गाउँका जनता अझै पनि मुक्त हुन सकिरहेका छैनन् । देवी उत्रिएको लामाधामी, माताले दर्शन दिएको लामाधामी, परमेश्वरको लामाधामीजस्ता विभिन्न प्रकृतिका धामीले गाउँमा अन्धविश्वासलाई बढाउँदै लगेका छन् ।

अशिक्षा, अन्धविश्वास र गरिबीले नराम्रोसँग गाँजेको हाम्रो समाजमा बिरामी परे अस्पताल होइन लामाधामीकहाँ लगे निको हुन्छ भन्ने पुरानो मान्यता हट्न सकिरहेको छैन । रिब्दिकोट गाउँपालिका–८ फेकको पेलाचौर र ताल्तुङका अशिक्षित व्यक्तिदेखि शिक्षित व्यक्ति पनि आजको यो समयमा लामाधामीको भरमा छन् । यहाँ २६५ मगर र दलित परिवारको बस्ती छ ।

रोजगारीका निम्ति गाउँका सबै युवा विदेश पलायन, वृद्धवृद्धा र बालबालिकाको मात्र बसोबास रहनु, अर्कोतर्फ दुर्गम र विकट गाउँमा नजिकै स्वास्थ्य चौकी नहुँदा पनि आजको यो युगसम्म ग्रामीण भेगका जनता लामाधामीको भरमा पर्न बाध्य भएका हुन् । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -