स्वागतम्,
Sunday 28th April 2024   |   Switch to English
Times of Nepal

बालभिटाको प्रयोगले कुपोषण दर घट्दै

सेयर गर्नुहोस

रामपुर, पाल्पा, ६ पुस : पाल्पामा बालभिटाको प्रयोगले बालबालिकामा कुपोषण र निमोनियाको दर घट्दै गएको छ ।

जन्मेको छ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, स्वास्थ्यलाई फुर्तिलो बनाउनका लागि बालभिटा खुवाउने गरिन्छ ।

पोषण तथा एकीकृत बालरोग व्यवस्थापनअन्तर्गतको बालभिटा कार्यक्रमअनुसार स्वयंसेविकामार्फत बालभिटा निःशुल्क रुपमा उपलब्ध गराइँदै आइरहेको छ । बालभिटाको प्रयोगबाट जिल्लामा अहिले कुपोषित बालबालिकाको संख्या ५२० बाट २२४ मा झरेको जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै, जिल्लामा श्वासप्रश्वासका समस्या भएका बालबालिकाको दर पनि घट्दो रहेको छ । आव २०७३÷०७४ मा प्रतिहजारमा ३०८.१, २०७२÷०७३ मा ७१४ र ०७१÷०७२ मा ८०४ रहेको छ । जिल्लाभरिको तथ्यांक हेर्दा बालभिटाको प्रयोग गर्ने बालबालिकाको दर भने ५४.२ प्रतिशत रहेको स्वास्थ्य कार्यालयका तथ्यांक सहायक प्रवीण भण्डारीले बताउनुभयो ।

ग्रामीण भेगमा अझै पनि आफ्ना बालबालिकालाई बालभिटाको प्रयोग नगर्ने अभिभावक धेरै रहेका छन् । केहीले पूरै अवधिसम्म नियमित खुवाएको पाइन्छ भने केहीले घर लगेर प्रयोग नगर्ने गरेको खुलासा भएको छ ।

पन्ध्र किसिमका सुक्ष्म पोषक तत्वबाट बनेको हुँदा पनि यसको नियमित सेवनले बच्चाको तौल वृद्धिमा सहयोग पुग्नुका साथै बच्चा फुर्तिलो र टाठो हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । यसका साथसाथै बालभिटा प्रयोगले कुपोषण र श्वासप्रश्वाससम्बन्धी समस्याबाट बालबालिका सधैँ टाढा रहने गर्छन् । (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -