स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

झापामा खुला दिसामुक्त अभियान: सदरमुकामवासी नै दुर्गन्ध सहन बाध्य

सेयर गर्नुहोस

बनियानी, झापा, २८ मंसिर : झापा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अभियान चलिरहेका बेला सदरमुकामवासी नै दिसापिसाबको दुर्गन्ध सहन बाध्य भएका छन् ।

जिल्ला कारागार झापाको शौचालयबाट निस्किएको मलमूत्र जथाभावी फाल्दा यहाँका स्थानीयवासी दुर्गन्धित वातावरणमा बस्न बाध्य भएका हुन् ।

भद्रपुर–९ की स्थानीयवासी कालिका न्यौपानेको जग्गामा कारागारले मलमूत्र फालेपछि गाउँ नै दुर्गन्धित बनेको हो । कारागारभित्र रहेको शौचालयको फोहर व्यवस्थित नगर्दा नजिकै रहेका दर्जनौँ परिवार दुर्गन्धमा बस्न बाध्य भएको न्यौपानेले बताउनुभयो ।

बुधबार न्यौपानेसहित स्थानीयवासीको समूहले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई कारागारको फोहरका कारण बसोबास गर्न नै समस्या भएको जानकारी गराएका छन् । शौचालयको फोहरले न्यौपाने परिवारको एक बिगाह जमिनमा लगाइएको धान काट्न समस्या भएको छ ।

“खेतमा धान पाकिसकेको छ”, न्यौपानेले भन्नुभयो, “मजदुरले काट्न मान्दैनन्, दुर्गन्धले झनै समस्या भएको छ ।” लामो समयदेखि फोहर व्यवस्थापन गर्नभन्दा पनि कारागार प्रशासनले बेवास्ता गरेको स्थानीयवासीको आरोप छ । कारागार प्रशासनले आफूहरुले समाधान गर्न नसक्ने भन्दै जिल्ला प्रशासन जान सुझाव दिने गरेको पीडित परिवारको भनाइ छ ।

कारागार प्रमुख यज्ञ निरौलाले यो पुरानै समस्या भएको प्रतिक्रिया दिनुभयो । उहाँले समाधानमा पहल गर्ने प्रयास गरेको प्रतिक्रियासमेत दिनुभएन ।

“कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी छन्, फोहर व्यवस्थापनमा कठिनाइ भएको छ”, उहाँले भन्नुभयो, “म एक्लो मान्छेले के गर्नु ?” प्रमुख निरौलाले यस विषयमा नगरपालिका र जिल्ला समन्वय समितिमा जानकारी गराएको बताउनुभयो ।

यता, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले समस्या समाधानका लागि सरोकारवालासँग पहल गर्ने बताउनुभयो । झापा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने समय नजिकिँदै जाँदा कारागारको शौचालय भने दिनहुँ अव्यवस्थित बन्दै गएको छ । –सन्तोष शर्मा  (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -