स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

चुनावका बेला पनि गाउँ छोडनु पर्ने बाध्यता हटाउनसक्नेलाई भोट

सेयर गर्नुहोस

सल्लेरी, सोलुखुम्बु, ८ मंसिर:  सोलु दूधकुण्ड नगरपालिका– ५ कि आङछोटी शेर्पा विगत १५ वर्षदेखि काठमाडाँैमा बस्दै आउनुभएको छ । जन्मस्थान नआएको १५ वर्ष बितेको बताउनुहुने शेर्पा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न अहिले सल्लेरीमा हुनुहुन्छ ।
पैदल हिँड्नका लागिसमेत गाह्रो हुने बताउने शेर्पा भन्नुहुन्छ, “जिल्लामा विकास चाहिएको छ, विकास गर्नसक्ने उम्मेदवारलाई भोट दिने हो ।”

विभिन्न पेशा तथा व्यवसाय गरेर जिल्ला बाहिर बसेका मतदाता धमाधम गाउँ आइरहेका छन् । आस्था र विचारसँगै जनताको काम गर्नसक्ने प्रतिनिधि रोज्न आफ्नो पेशा व्यवसाय नै छाडेर आएको उनीहरुको भनाइ छ । दूधकौसीका गाउँपालिका– ५ मुक्ली निवासी बलराम गुरुङ हाल काठमाडौँमा बसोबास गर्नुहुन्छ । उहाँको कार्पेट उद्योगसमेत सञ्चालनमा छ । घरपरिवार राजधानीमै भएका गुरुङ बुधबार सल्लेरी आइपुग्नुभएको हो । उहाँ भन्नुहुन्छ, “उद्योगमा भ्याइनभ्याइ छ, कामदार काम गरिरहेका छन्, माग उस्तै बढी छ, म यता आउँदा केही घाटा व्यहोर्नु नै पर्छ तर पनि मेरा लागि त्योभन्दा ठूलो जिल्लामा काम गर्नसक्ने योग्य व्यक्तिलाई मतदिनु हो । घोषणापत्रमा जे भए पनि शिक्षा, स्वास्थ्य र रोजगारी नै निर्वाचित प्रतिनिधिले ध्यान दिनुपर्छ ।”

सोलुखुम्बुका अधिकांश मतदाता राजधानीलगायत अन्य शहरमा अस्थायी बसोबास गर्छन् । जिल्लामा उच्च शिक्षा अध्ययनका लागि क्याम्पस र उपचारका लागि अस्पताल नभएकै कारण यहाँका वासिन्दा बाहिर जान बाध्य छन् ।

भोट हाल्नकै लागि यहाँ आइपुग्नु भएका बिहान बेलुका छाक टार्नका लागि बनिबुतो गर्नुपर्ने अवस्थाका बुद्धिराम नेपाली कक्षा १० सम्म जिल्लाकै देउसा माविमा अध्ययन गरी स्नातकोत्तरको अध्ययनका लागि हाल काठमाडौँमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “राजधानीमा अध्ययन गर्ने मेरो रहर होइन बाध्यता हो, मेरो जस्तो बाध्यता हजारौँ सोलुवासीको छ, त्यसैले निर्वाचित प्रतिनिधिले उच्च शिक्षाका लागि विभिन्न संकायमा अध्यापन गर्ने क्याम्पस सञ्चालन गर्न पहल गर्नुपर्छ ।”

जिल्लामा एउटा शिक्षाशास्त्र संकायको पढाइ हुने तीन वटा क्याम्पस र ४२ वटा मावि छन् । एकमात्र जिल्ला अस्पताल फाप्लु सञ्चालनमा छ भने दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र छन् । साविक ३४ गाविसमा एक–एक वटा एउटा स्वास्थ्य चौकी भएपनि आवश्यक औषधि पाइँदैन । हातखुट्टा भाँच्चिएर स्टिल हाल्नुपरेमा जिल्ला बाहिर जानुपर्छ भने ब्लड बैंकसमेत छैन ।
भोट हाल्न बिहीबार सल्लेरी आइपुग्नुभएका दूधकोसी गाउँपालिका बासा निवासी प्रकाश खालिङ राजधानीमा पत्रकारिता पेशामा हुनुहुन्छ, । उहाँ भन्नुहुन्छ, “शिक्षा र स्वास्थ्यका लागि सोलुवासी परनिर्भर हुन नपर्ने गरी विकास गर्नुप¥यो, जसले यस किसिमको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्छ उसैलाई प्रदेश तथा प्रतिनिधिमा पठाउने हो ।”

जिल्लाको समग्र आवश्यकता औँल्याउँदै पत्रकार राई थप्नुहुन्छ, “पार्टीभन्दा राम्रो व्यक्ति छनोट गर्नसक्नु नै हाम्रो सफलता हो ।”

पर्यटन क्षेत्रमा निकै महत्व बोकेको सोलुखुम्बु जिल्लामा विश्वको सर्वोच्च शिखर सगरमाथा छ । पर्यटन पेशामा लाग्नुभएका हिमाल केसी पनि मतदान गर्नकै लागि गाउँ आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “पर्यटन प्रवद्र्धनमा स्पष्ट खाका बनाएर अगाडि बढ्ने प्रतिनिधि आवश्यक छ, जसले गर्दा जिल्लाको मात्र नभई देशकै आर्थिकस्तर माथि उकास्न मद्दत गर्छ ।”

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक नगरपालिकासहित आठ स्थानीय तह छन् । अधिकांश स्थानीय तहसम्म धुले सडक पुगे पनि वर्षामा ठप्प हुने गर्छ । कुनै कामका लागि सदरमुकाम आउनुपरेमा बास बस्नुपर्ने बाध्यता छ । आकस्मिक बिरामी परेमा हेलिकप्टर नै चाटर्ड गर्नुपर्ने बाध्यताले ग्रसित यहाँका नागरिकले सडकलाईसमेत अगाडि बढाउनुपर्नेमा जोड दिन्छन् ।

अठसठ्टी वर्षीय मुक्ली सोलुखुम्बुका भीमबहादुर राई पनि मतदानकै लागि गाउँ आउनुभएको हो । उहाँ भन्नुहुन्छ, “हाम्रो जीवनमा जे भए पनि भावी सन्ततिका लागि सहज हुने गरी विकास अगाडि बढाउने उम्मेदवारलाई मत हाल्ने मेरो विचार छ ।” रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -