स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

मुलुकमा लोकतन्त्रलाई सुदृढ गर्न गठबन्धनः अध्यक्ष ओली

सेयर गर्नुहोस

भद्रपुर, २४ कात्तिक: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अन्य राजनीतिक दलसँग भएको वर्तमान गठबन्धन मुलुकमा लोकतन्त्रलाई सुदृढ बनाउनका लागि हो भन्नुभएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त प्रचारप्रसार समितिद्वारा झापाको भद्रपुरस्थित सिटी गार्डेनमा आज आयोजित वामपन्थी, देशभक्त र राष्ट्रवादीको साझा उम्मेदवारलाई जिताउन गरिएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले देशको राष्ट्रियता, सार्वभौमसत्ता तथा स्वाधीनताको जगलाई बलियो बनाउनकै लागि प्रगतिशील विचारधारा बोकेका दलसँग गठबन्धन गरेको प्रसंग उल्लेख गर्दै उहाँले नेपाली जनताले गर्वले शिर उँचा पारेर हिँड्न र मुलुकमा तीव्रगतिमा विकास गर्न गठबन्धनका उम्मेदवारलाई निर्वाचनमा जिताउन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले विविधतामा राष्ट्रिय एकताको बाटोलाई पहिल्याउन र द्वन्द्वका उद्यमीलाई परास्त गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग गठबन्धन गरिएको बताउँदै इमान, संकल्प र प्रतिबद्धतालाई कायम राख्न वाम गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आफ्ना कार्यकर्तालाई आग्रह गर्नुभयो ।

वाम गठबन्धनले बहुमत ल्याएर बनिने सरकारले केरुङ–काठमाडौँ–पोखरा– लुम्बिनीसम्म रेल मात्र होइन महासागरमा नेपाली जहाज पनि चल्ने व्यवस्था गरिने कुरामा जोड दिँदै अध्यक्ष ओलीले आधुनिक, विकसित र समृद्ध नेपाल बनाउन तथा मुलुकमा आर्थिक वृद्धि दर १० प्रतिशत पु¥याउन वाम गठबन्धनका सबै उम्मेदवार निर्वाचित हुनुपर्ने धारणा राख्नुभयो ।

सोही अवसरमा नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री अग्नि खरेलले अब मुलुकमा जनपक्षीय राजनीतिक शक्तिले मात्र नेतृत्व दिनसक्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य रामनारायण विडारीले वाम गठबन्धनका कारण नेपाली जनता उत्साहित भएको चर्चा गर्नुभयो ।

कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार र प्रदेशसभा ‘क’ का वसन्त बानियाँ र ‘ख’ का पूर्णसिंह राजवंशीले जनतालाई परिवर्तनको अनुभूति दिलाउन वाम गठबन्धनका सबै उम्मेदवार जित्नुपर्ने कुरामा जोड दिनुभयो ।

प्रचारप्रसार समितिका संयोजक पुष्पराज पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा (एमाले)का हरि राजवंशीले पनि बोल्नुभएको थियो ।  रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -