स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

स्वास्थ्य बीमाको आधा रकम नगरपालिकाले व्यहोर्ने

सेयर गर्नुहोस

काठमाडौँ, २५ असार । नागार्जुन नगरपालिकाले पारिवारिकरुपमा गर्ने स्वास्थ्य बीमाको आधा रकम व्यहोर्ने भएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ को आज नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै पाँचजनाको प्रतिपरिवारको रु दुई हजार ५०० लाग्नेमा रु एक हजार २५० नगरपालिकाले व्यहोर्ने भएको हो ।

नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले विपन्न परिवारका लागि व्यापार व्यवसाय सञ्चालनका लागि हरेक वडाका पाँच परिवारलाई रु तीन लाखदेखि पाँच लाखसम्म अनुदान रकम उपलब्ध गराउन लागेको जानकारी दिनुभयो ।

उहाँले हरेक परिवारलाई सुन्तला, कागती, एवोकाडोलगायतका फलफूलको विरुवा निःशुल्क वितरण गर्न लागेको बताउनुभयो । नगरपालिकाले वडाबाट आएका सिफारिसलाई उच्च प्राथमिकता दिएको छ । बस्नेतले भन्नुभयो, “हामी जनप्रतिनिधि हौँ, जनताको आवश्यकतालाई उच्च प्राथमिकता दिएका छौँ ।”

नगरपालिकाले आव २०७४÷०७५ का लागि रु ६४ करोड ७२ लाख ९० हजार प्रस्ताव गरेको छ जसमा चालू खर्च रु २१ करोड ६९ लाख ९० हजार, पूँजीगत खर्च रु २३ करोड ५३ लाख, समपूरक कोष रु चार करोड ५० लाख र नपा तथा वडाका भवन निर्माणतर्फ रु १५ करोड छ ।

पहिलो नगरसभाको बैठकमा बजेट प्रस्तुत गर्दे उपप्रमुख सुशीला अधिकारीले वातावरणमैत्री नगरपालिका निर्माण, फोहोरमैला व्यवस्थापन, सडक सौर्यबत्ती जडानलगायत कार्यलाई उच्च प्राथमिकता दिइएको बताउनुभयो ।

उहाँले भूकम्पबाट पूर्ण क्षति भएका परिवारलाई जतिसक्दो चाँडो अनुदान रकम उपलब्ध गराउन नगरपालिका लागेको बताउँदै पीडितको घर नक्सापास दस्तुर छुट दिन लागिएको बताउनुभयो ।

यस्तै सुशासन कायम, स्वीजरल्याण्ड पार्क व्यवस्थापन, महिला विद्यालय, ज्येष्ठ नागरिक दिवा विश्रामस्थल निर्माण, बढी कर तिर्ने करदातालाई प्रोत्साहन, होमस्टे सञ्चालनलगायत कार्यलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ । रासस

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -