स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

आगलागीबाट १३ लाखको क्षति : सुनसरीमा बाली भित्र्याउन समस्या

आगलागीबाट घर नष्ट
सेयर गर्नुहोस

तनहुँको व्यासनगरपालिका–७ स्थित सामली बाँसपानीमा सोमबार आगलागी हुँदा दुई घर जलेर पूर्णरूपमा क्षति भएको छ । विद्युत् सर्ट भई अचानक घरमा आगलागी हुँदा स्थानीय तिलविक्रम परियार र गोकर्ण परियारको करिब रु १३ लाख बराबरको धनमाल क्षति भएको हो ।

तिलविक्रमको रु सात लाख र गोकर्णको रु छ लाख बराबरको क्षति भएको वडाध्यक्ष सतिशचन्द्र न्यौपानेले जानकारी दिनुभयो । घटना भएको जानकारी पाएलगत्तै प्रहरीसहितको टोली आगो नियन्त्रणका लागि गए पनि नियन्त्रणमा लिन नसकिएको उहाँले बताउनुभयो । “आगो नियन्त्रणका लागि झण्डै दुई घण्टा लाग्यो तर पनि आगो नियन्त्रणमा लिन सकिएन”, उहाँले भन्नुभयो ।

आगलागी भएपछि दुई घरका १५ जनाको यतिबेला बिचल्ली भएको छ । उनीहरुको खान बस्नका लागि सामली बाँसपानी टोल विकास संस्थालाई जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो । वडामार्फत पनि उनीहरुलाई राहतको लागि व्यवस्था गर्न लागिएको बताइएको छ ।

सुनसरीमा सिँचाइ र बाली भित्र्याउन समस्या

देश लकडाउन भएका बेला सुनसरीका कृषकलाई समस्या भएको छ । कोरोना भाइरस कोभिड–१९ नियन्त्रण गर्नका लागि सरकारले लकडाउन गरेको बेला कृषकलाई खेतबालीमा सिँचाइ गर्न र उत्पादन भएको बाली भित्र्याउन समस्या भएको हो ।
जिल्ला सदरमुकाम इनरुवासहित कोशी, हरिनगर, देवानगञ्ज, बराहक्षेत्र, बर्जुलगायत गाउँपालिका तथा नगरपालिकामा रहेका कृषकले लकडाउनका कारणले इन्धन, मलखाद र मजदूर नपाएका कारणले उत्पादन भएको बाली घर भित्र्याउन र लगाइएको बालीमा सिँचाइ गर्न समस्या भएको देवानगञ्ज गाउँपालिका– ७ का कृषक बलराम यादवले बताउनुभयो ।
आफूले ६ बिघा जग्गामा मकै खेती गरेको र इन्धन नपाएका कारणले सिँचाइ नहुँदा खेतमै सुक्ने गरेको कृषक यादवको भनाइ छ । जिल्लामा अहिले मकै र मौसमी तरकारी खेतीलगायत खेतबारीमै सुकेको तथा गहुँलगायत उत्पादन भएको बाली भित्र्याउनका लागि मजदूर नपाउँदा आफूहरुलाई तनाव उत्पन्न भएको कृषक डुमरलाल मेहताले बताउनुभयो ।
तेल पर्याप्त मात्रामा आएका बेला उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउने गरेको सुनसरी आयल सप्लायर्सका सञ्चालक मनीष माणुले बताउनुभयो । अहिले पर्याप्त मात्रामा तेल नआएका कारणले कृषकले माग गरेबमोजिमको नपाएको सप्लायर्सका सञ्चालक माडुको भनाइ छ ।
स्थानीय प्रशासन तथा सुरक्षा निकायले लकडाउनका बेला घरबाट बाहिर निस्कन नदिने गरेका कारण तेल लिनका लागि कसरी जाने र लगाइएको बालीमा कसरी सिँचाइ गर्ने भने चिन्ताले सताएको कृषक यादवको भनाइ छ । तेल तथा मलखाद लिनका लागि बाहिर निस्कँदा प्रहरीले ज्यादती गर्ने गरेको कृषकले गुनासो गरेका छन् ।
कृषकको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत पहल भइरहेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नुनुलाल उराँवले बताउनुभयो । लकडाउनका बेला कृषकलाई सिँचाइ र बाली भित्र्याउन समस्या भएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख उराँवले जानकारी दिनुभयो । कृषकको समस्याका विषयमा आफूसमक्षसमेत गुनासो आएकाले समाधानका लागि पहल भइरहेको उहाँको भनाइ छ ।
सुनसरीमा उत्पादित सामग्री जिल्लामा मात्र नभई बाहिरसमेत जाने गरेको छ । यस वर्ष जिल्लामा कृषि उत्पादनमा कमी आउने उराँव ठोकुवा गर्नुहुन्छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -