स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

प्रदेश नं १ : क्वारेन्टाइनमा बसेका पचास प्रतिशत फिर्ता

province no 1 - The Times Of Nepal
सेयर गर्नुहोस

झापाको क्वारेन्टाइनमा बसेकामध्ये करीब पचास प्रतिशत घर फर्किएका छन् । क्वारेन्टाइनमा १४ दिन पूरा गरेपछि उनीहरुले घर फर्किने अनुमति पाएका हुन् । पछिल्लो जाँचमा कोभिड–१९ को कुनै पनि लक्षण देखा नपरेका कारण सरकारले तोकेबमोजिमको क्वारेन्टाइन अवधि पूरा गरेर सोमबारसम्म झापामा १०२ जना घर फर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार झापामा स्थानीय तहले बनाएका २२ वटा क्वारेन्टाइनमा २४० जना बस्दै आएका थिए । अब १३८ जना बाँकी छन् । झापामा भारतलगायत विदेशी मुलुकबाट हालसम्म ५९४ स्वदेश फर्केका र उनीहरुका परिवारका सदस्यसहित एक हजार ३१ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला समन्वय समितिले जनाएको छ ।

कोरोना भाइरस सङ्क्रमणको शङ्कामा मेची अञ्चल अस्पतालको आइसोलेसनमा राखिएका सातमध्ये खकारको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका पाँच जना पनि घर फर्किसकेका छन् । दुई जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईंले बताउनुभयो ।

कोरोना रोकथाम रोकथाम, उपचार, अनुगमन तथा समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले क्वारेन्टाइनमा बसेकामा १४ दिनसम्ममा रोगको कुनै लक्षण नदेखिए घर फर्काउन सकिने बताउनुभयो । उहाँले कोरोना जाँच गर्ने ठाउँ प्रदेश नं १ भरिमा धरानमा मात्र भएको र त्यहाँ एक दिनमा १२ जनाको मात्र जाँच गरिने हुँदा हाल आइसोलेसनमा रहेकाको मात्र जाँच गरिएको जानकारी दिनुभयो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले क्वारेन्टाइनको अवधि पूरा गरेर घर फर्किनुअघि कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि हुने गरी उनीहरुको स्वास्थ्य परीक्षण हुनुपर्ने बताउनुभयो ।

“कोरोना नभएको पुष्टि नगरी क्वारेन्टाइनबाट घर फर्किने अनुमति दिनु परेकोमा ग्लानी भइरहेको छ”, नगरप्रमुख पोखरेलले भन्नुभयो, “धनगढीमा क्वारेन्टाइनबाट फर्किएकी एक महिलामा पोजेटिभ रिपोर्ट आएको खबर आइसकेपछि यस विषयलाई गम्भीर रुपमा लिइनुपर्छ ।”

झापाका सबै स्थानीय तहले पहल गर्ने हो भने कोरोना भाइरस पत्ता लगाउन ल्याव स्थापना गर्न सकिने उल्लेख गर्दै उहाँले प्रदेश सरकारसँग यस विषयमा ध्यानाकर्षण गराउँदा जाँच्ने किट अभावले क्वारेन्टाइनमा बसेका सबैको परीक्षण गर्न नसकिने जवाफ पाइएको बताउनुभयो । जिल्लाका क्वारेन्टाइनको अनुगमन गर्नुभएको नेपाली काङ्ग्रेस झापाका सभापति उद्धव थापाले नेपाली सेनाले व्यवस्थापन गरेको कलबलगुडीको क्वारेन्टाइन र मेचीनगरको एउटाबाहेक झापाका अधिकांश क्वारेन्टाइन समस्याग्रस्त भएको बताउनुभयो ।

अधिकांश क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले व्यक्तिगत स्वास्थ्य सुरक्षा उपकरण पाउन नसकेको गुनासो सुनाएको उहाँको भनाइ छ । घरमै क्वारेन्टाइनमा बसेका व्यक्तिको निगरानी स्थानीय तहबाटै भइरहेको छ । त्यस्ता व्यक्तिहरु कोरोना सङ्क्रमण भइसकेको तेस्रो मुलुकबाट समेत आएको हुँदा उनीहरुको स्वाब परीक्षण हुनुपर्ने माग गरिन थालेको छ ।

कैदीबन्दीको दैनिकी कष्टकर

झापा जिल्ला कारागारका कैदीबन्दीले डेढ महिनादेखि सिदा रकम नपाउँदा उनीहरुको दैनिकी झन् कष्टकर भएको छ । सरकारले लकडाउन जारी गरेसँगै कारागारमा भेटघाट बन्द गरिएको हुँदा कैदीबन्दीलाई आफन्तले सहयोग दिन पनि पाएका छैनन् ।
क्षमताभन्दा तेब्बर सङ्ख्यामा रहेका कैदीबन्दीलाई सामाजिक दूरी राखेर सुत्ने र बस्ने परिस्थिति नभएका कारण कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च छ । कारागारभित्र उनीहरुले सतर्कताका लागि हात धुने साबुन, स्यानिटाइजर र मास्कको कुनै व्यवस्था नगरिएको एक कैदीले टेलिफोनबाट जनाए ।

सरकारले कैदीबन्दीलाई सिदाको रुपमा दैनिक रु ६० नगदै र ७०० ग्राम चामल दिँदै आएको थियो । साबुन, दाँत माझ्ने ब्रस र मन्जनजस्ता सामान किन्न कैदीबन्दीलाई पैसाको अभाव भएको छ । सिदा रकम सकिन दुई महिना अघिदेखि कारागार विभागमा पत्र पठाएर रकम माग गर्दा समेत नआइपुगेको हुँदा कैदीबन्दीलाई असुविधा भएको झापा कारागारका प्रमुख राजेन्द्र निरौलाले बताउनुभयो । उहाँले तत्कालको व्यवस्थाका लागि दाताको खोजी भइरहेको जनाउनुभयो ।

झापा कारागारमा ७७ जना महिलासहित एक हजार ९० जना कैदीबन्दी छन् । महिला बन्दीका लागि रु. ७० हजार सापटी खोजेर आधा महिनाको सिदा आइतबार दिइएको निरौलाले बताउनुभयो । पुरुष कैदीका लागि १५ दिनको सिदाका लागि नै रु १० लाखसम्म लाग्ने जनाइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -