स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

प्रदेश नं ५ समाचारः राहत, नाका बन्द, कीटनाशक औषधि प्रयोग

Province no 5 - The Times Of Nepal
सेयर गर्नुहोस

कोभिड –१९ को सम्भावित सङ्क्रमण रोक्न दाङ जिल्लामा विभिन्न योजनाका साथ प्रयास भएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि दाङका जनप्रतिनिधि सक्रियताका साथ लागेका छन् । यहाँका सबै पालिकामा लकडाउनलाई पूर्ण रुपमा कार्यान्वयन गराउन स्थानीय प्रहरी प्रशासन, जनप्रतिनिधि स्वास्थ्य संस्था तथा सरकारी निकायले सक्रियताका साथ समन्वयात्मक रुपमा भूमिका निर्वाह गरिरहेका छन् ।
यहाँका अधिकांश स्थानीय तहले विपद्मा परेकाहरुलाई उद्वार, राहत तथा सहयोग प्रदान गर्नका लागि कोरोना विपद् कोष स्थापना गरेका छन्.। कोषमा नागरिकहरुले पनि सक्दो सहयोग गरेका छन् ।.
तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको कोषमा सोमबारसम्म रु १० लाख जम्मा भएको विपद् व्यवस्थापन शाखाका प्रमुख भीम खत्रीले जानकारी दिनुभयो । उपमहानगरपालिकाले स्थापना गरेको फुड बैँकमा पनि सहयोग प्राप्त भएको छ ।.आइतबार तुलसीपुर उद्योग वाणिज्य सङ्घले रु साढे पाँच लाख मूल्य बराबरको खाद्यान्न सामग्री र शय्या उपलब्ध गराएको उपमहानगरपालिकाले जनाएको छ.। यससँगै तुलसीपुर फुड बँैकमा ४० क्वीन्टल खाद्यान्न सङ्कलन भएको छ । कोषमा जम्मा गर्नेको सङ्ख्या बढ्दै गएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।
दमकलबाट कीटनाशक औषधि छर्किँदै
लमही–तुलसीपुर उपमहानगरपालिकाले विभिन्न ठाउँमा कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न कीटनाशक औषधि छर्कन शुरु गरेको छ । उपमहानगरपालिकाले पहिलो चरणमा बढी भीडभाड हुने क्षेत्रमा औषधि छर्किन शुरु गरेको नगरप्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिनुभयो । रोटरी क्लब र रोट्रयाक्ट क्लब अफ तुलसीपुर सिटीको व्यवस्थापनमा उपमहानगरपालिकाले औषधि छर्केको हो ।
कपिलवस्तुमा ६९० जना क्वारेन्टाइनमा
कपिलवस्तु–कपिलवस्तुमा सोमबारसम्म करीब ७ सय जनालाई क्वारेन्टाइनमा राखिएको छ । तीमध्ये एक जना मात्र आइसोलेशनमा राखिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनुभयो । उनको स्वाब परीक्षणको रिपोर्ट अझै आएको छैन ।
जिल्लाका १० पालिकाले तयार गरेको ९७७ शय्याको क्वारेन्टाइनमा ६९० जना छन् । जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ७९१ जनामध्ये १०१ जना घर फर्किसकेका छन् । उन्नाइस महिलासमेत क्वारेन्टाइनमा अझै छन । तीमध्ये एक महिलासंँग काखेशिशुसमेत रहेको प्रशासकीय अधिकृत सैनीले जानकारी दिनुभयो ।
कोहलपुर प्रवेश गर्ने नाका बन्द

राँझा– बाँकेको कोहलपुर नगरपालिकाले कोरोना सङ्क्रमण रोकथाममा उच्च सतर्कता अपनाउँदै नगर प्रवेश गर्ने चारै नाका बन्द गर्ने भएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो ।
उहाँका अनुसार, कोहलपुर नगरभित्र प्रवेश गर्ने पूर्व–पश्चिम राजमार्गका पूर्वतर्फ रोहिणी खोला, पश्चिमतर्फ मदनचोक, उत्तरतर्फ रत्नराजमार्गको कौशिलानगर र दक्षिणतर्फ पार्वतीपुरसम्मको नाका बन्द गर्ने निर्णय भएको छ । सोमबारको सर्वदलीय बैठकले कोहलपुर क्षेत्रभित्र पेट्रोल बेच्न नदिने निर्णयसमेत गरेको छ । विशेष गरी निजी मोटरसाइकललाई पेट्रोल उपलब्ध नगराउने तर अत्यावश्यक सवारी साधन भने उद्योग वाणिज्य सङ्घ तथा इलाका प्रहरी कार्यालयसँग समन्वय गरेर सञ्चालन गर्न दिने निर्णय गरिएको नगरपालिकाका योजना अधिकृत अग्नि आचार्यले जानकारी दिनुभयो ।
श्रमिकलाई राहत वितरण
प्यूठान– यहाँका नौ स्थानीय तहले लकडाउनका कारण दैनिक जीविकोपार्जन गर्न अप्ठेयारामा परेका पालिकाअन्तर्गत रहेका एक हजार ६६९ श्रमिकलाई राहत वितरण गरेका छन् ।
दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने विपन्न श्रमिकको साँझ बिहानको छाक नअड्कियोस् भनी राहत वितरण गरिएको प्यूठान नगरपालिकाका प्रवक्ता लक्ष्मीप्रकाश राजभण्डारी बताउनुभयो । गाउँ तथा नगरपालिकाले विपत् व्यवस्थापन कोषमा रहेको बजेटबाट खर्च गरेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -