स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

कोरोना संक्रमित बोक्ने छुट्टै एम्बुलेन्स

ambulance - The Times Of Nepal
सेयर गर्नुहोस

 २४ चैत : कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना शंका गरिएका र कोरोना संक्रमित पुष्टि भएकाहरुका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले वर्तमान अवस्थालाई ध्यानमा राखी जोखिम न्यूनीकरणका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाएका चालकसहित छ एम्बुलेन्स व्यवस्था गरिएको जानकारी दिनुुभयो ।
शर्माका अनुसार पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी कास्की, आर्मी अस्पताल फूलबारी, हरियोखर्क अस्पताल नयाँगाउँ, बिजी अस्पताल माटेपानी, सिद्धार्थ क्लब बगालेटोल र फिस्टेल अस्पताल गैह्रापाटनका एम्बुलेन्सलाई पिपिईसहित परिचालन गर्ने निर्णय गरिएको हो । उहाँका अनुसार सुरक्षा सामग्रीको अभावमा एम्बुलेन्सले शंकास्पद बिरामी बोक्न आनाकानी गर्न थालेपछि यो निर्णय गरिएको हो ।
मजदूरलाई एनआइसी एशिया बैंकको राहत
लकडाउनबाट प्रभावित दैनिक ज्याला मजदूरी गर्ने परिवारलाई एनआइसी एशिया बैंँकले राहत प्रदान गरेको छ । हाल मजदूर परिवार भोकै बस्नुपर्ने अवस्था आएपछि बैंकले कावासोती नगरपालिका र पोखरा महानगरपालिकामा ज्याला मजदूरी गर्ने करीब १५० परिवारलाई स्थानीय सरकारसँगको सहकार्यमा रू दुई लाख ५० हजारको चामल, तेल, नुन, दाललगायत खाद्य सामग्री वितरण गरेर सामाजिक उत्तरदायित्व बहन गरिएको बैंकका प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले जानकारी दिनुभयो ।
खनियाका अनुसार हाल बैंकले आफ्ना ग्राहकमा पर्न सक्ने असुविधालाई ध्यानमा राखी सातै प्रदेशमा ग्राहक सहायता केन्द्र स्थापना गरेर २४ सै घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरेको छ ।
कोरोना भाइरसबारे चार जातिको भाषामा सचेतना
तनहुँ– व्यास नगरपालिका कार्यालयले चार जातिको भाषामा जिंगल बनाएर आइतबारदेखि कोरोना भाइरससम्बन्धी माइकिङमार्फत सचेतनामूलक कार्य थालेको छ । दरै, गुरुङ, मगर र नेवार जातिको भाषामा जिंगल बनाएर नगरपालिकाका १४ वटै वडामा पुगेर प्रचारप्रसार गरी थालिएको हो ।
‘आफू बाँचे परिवार बाँच्छन्, परिवार बाँचे देशै बाँच्ने’ हुँदा हेलचेक्य्राइँ नगर्नका लागि सचेतनामूलक सन्देश माइकिङमार्फत दिन लागिएकोको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले बताउनुभयो ।
विदेशबाट आएका व्यक्तिलाई सुरक्षित किसिमले क्वारेन्टाइनमा बसेर सहयोग गर्नसमेत आग्रह गरिएको छ । स्थानीय एफएमका माध्यमबाट पनि कोभिड– १९ सम्बन्धी सन्देशमूलक विषयवस्तुको प्रचारप्रसार गरिएको उहाँले जानकारी दिनुभयो ।
माइकिङ गर्दै जाँदा जुन समुदायको बस्ती भेटिन्छ, सोहीअनुरुप जिंगलको व्यवस्था गरिने छ । उनीहरुको आफ्नै भाषामा माइकिङ गर्दा सहज रुपमा बुझ्न सक्ने भएकाले सोहीअनुरुपको जिंगलको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । आदिवासी जनजातिको बाहुल्य सो नगरपालिकामा कुल ७१ हजार ८०९ जनसंख्या छ ।
आठ सय घरपरिवारलाई राहत
आँबुखैरेनी गाउँपालिका कार्यालयले ८४४ घरधुरीमा राहत सामग्री वितरण गरेको छ । गाउँपालिकाका छ वटा वडामा रहेका श्रमिक, विपन्न तथा असहाय व्यक्तिको पहिचान गरी राहत सामग्री उपलब्ध गराएको हो ।
प्रत्येक घरधुरीलाई चामल मनसुली १५ किलो, दाल दुई किलो, नुन एक पोका, खाने तेल एक लिटर, साबुन दुई र चिउरा दुई किलोका दरले राहत वितरण गरिएको गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले बताउनुभयो ।
गाउँपालिका कार्यालयले पिन्न परिवारका दुई सय घरधुरीलाई दुई सय थान सेनिटाइजर, दुई सय साबुन र एक हजार थान मास्क पनि वितरण गरेको छ । गाउँपालिकाका सम्पूर्ण वडालाई समेट्ने गरी सेनिटाइजर, डिटोल साबुन र मास्क वितरण गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो ।
सीमाविन्दुमा स्वयंसेवक परिचालन

बलेवा–बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले छिमेकी पालिका तथा जिल्लासँग जोडिएका सीमानाकामा स्वयंसेवक परिचालन गर्ने भएको छ । अन्य जिल्ला तथा पालिकाबाट नगरमा प्रवेश गर्नेको निगरानी गर्न जैमिनीले स्वयंसेवक परिचालन गर्न लागेको हो ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन झोलुंगे पुल तथा सीमानाकामा सवयंसेवक परिचालन गर्न लागिएको नगरका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो । नगरपालिकाका १८ नाकामा चार जनाका दरले ७२ स्वयंसेवक परिचालन गरिने छ । वडाध्यक्षमार्फत छनोट हुने स्वयंसेवकले दैनिक रु पाँच सयका दरले पारिश्रमिक पाउने मापदण्ड नगरपालिकाले बनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -