स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

रामपुरमा हजार परिवारलाई राहत वितरण

सेयर गर्नुहोस

रामपुर, २२ चैत :   रामपुर नगरपालिकाले लकडाउनको मारमा परेका अति विपन्न, दैनिक ज्यालादारी तथा मजदूरी गरेर जीविकोपार्जन गर्ने नागरिकलाई राहत वितरण शुरु गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न सरकारले गरेको ‘लकडाउन’का कारण समस्यामा परेका नागरिकलाई लक्षित गर्दै एक हजार ६६ घरपरिवारलाई राहत वितरण प्रक्रिया अगाडि बढाएको छ ।

एक हजार ६६ घरपरिवारका चार हजार १०० नागरिक नगरपालिकाको राहत कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । नगरपालिकाले आम्दानीको स्रोत नभएका एकल महिला, न्यून आए भएका अशक्त, दैनिक ज्यालादारी श्रमिक, ७० वर्षमाथिमा मात्रै परिवारमा रहेका ज्येष्ठ नागरिक र अनाथ बालबालिकाको परिवारलाई वडाको सिफारिसका आधारमा खाद्यान्न तथा औषधि राहतस्वरुप वितरण शुरु गरेको हो ।

आज वडा नं ८ बाट राहत वितरण प्रक्रिया गर्न थालेको छ । टोलटोलमा पुगेर नगरपालिकाले वडाका १५१ नागरिकलाई राहत वितरण गरेको वडा सदस्य मोहन श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले राहत कार्यक्रमअन्तर्गत चार जनाको परिवारलाई प्रतिपरिवार १५ केजी चामल, एक लिटर खानेतेल, एक किलो चना, एक किलो दाल, दुई वटा साबुन, सिटामोल र साइनेक्स औषधि, गर्भवती तथा सुत्केरी महिलाका लागि आइरन चक्की र जीवनजल वितरण गरेको छ ।

चार जनाभन्दामाथिको परिवारलाई प्रतिपरिवार २० केजी चामल, दुई लिटर खानेतेल, दुई किलो चना, दुई केजी दाल, चार वटा साबुन, सिटामोल र साइनेक्स औषधि, गर्भवती तथा सुत्केरी महिलाका लागि आइरन चक्की र जीवनजल वितरण गरिएको छ ।

लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गरेर साँझ बिहानको जीविकोपार्जन गर्ने विपन्न वर्गका नागरिक मारमा परेका छन् । नगरपालिकाले कोही पनि नागरिक भोकै बस्न नपरोस् भनी उनीहरुका लागि राहत प्याकेज कार्यक्रम ल्याएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

“विपद्का बेला नगरपालिकाले अतिविपन्न परिवारका नागरिकलाई आवश्यकपर्ने विभिन्न खाद्यान्न सामग्री, औषधि उपचार सेवासहितको राहत प्याकेज कार्यक्रम ल्याएका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार यस कार्यक्रममा करिब रु २१ लाख खर्च हुनेछ ।

बिहान ७ बजेदेखि ९ बजेसम्म दैनिक उपभोग्य खाद्यान्न सामग्रीका पसल दुई घण्टा खुला गरिन थालिएको छ । कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता विपद्का बेलामा जोखिम लिएर काममा खटिएका करारका स्वास्थ्यकर्मी, नगर प्रहरी, सवारी चालक र कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराइने भएको छ ।

कोरना भाइरस सङ्क्रमणको न्यूनीकरणका लागि काममा निरन्तर खट्ने कर्मचारीलाई तलबको ५० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराइने भएको हो । अतिविपन्न परिवारको खानेपानी र विद्युत् महशुलमा ५० प्रतिशत छुटका लागि अनुरोध गर्ने नगरपालिकाले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -