स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

लकडाउनको प्रभाव : भैँसीको दूध भैँसीलाई नै खुवाउनुपर्ने बाध्यता

cow milk -The Times Of Nepal
सेयर गर्नुहोस

२१ चैत : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरको सङ्क्रमण फैलन नदिन जारी भएको लकडाउनका कारण दूध उत्पादन गर्ने गाईभैँसीपालक कृषकहरु समस्यामा परेका छन् । लकडाउनसँगै बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरु गाउँ फर्किएको र बजार सुनसान भएका कारण खपत हुन छाडेसँगै उत्पादन भएको दूध गाइभैँसीलाई नै खुवाउनुपर्ने बाध्यता आएको कृषकहरुको गुनासो छ ।

अठार वर्षदेखि व्यावसायिकरूपमा भैँसीपालन गर्दै आएका बेनी नगरपालिका–६ बाँसबोटका कृषक दुर्गाप्रसाद पौडेलले दैनिक १०० लिटर बढी दूध खेर गएको दुःखेसो पोख्नुभयो । सत्र वटा भैँसी पालेका वरदान पशुपक्षी फार्मका सञ्चालक पौडेलले २५० लिटर बढी दूध उत्पादन हुने गरेकामा खपत घटेपछि दूधलाई व्यवस्थापन गर्न समस्या आएको बताउनुभयो ।

बिहान उत्पादन भएको दूधमध्ये दैनिक ८० लिटर बजारमा ल्याएर बिक्री गर्ने गरे पनि बाँकी १०० लिटर बढी दूध दैनिकरूपमा खेर जाने गरेको उहाँले बताउनुभयो । “केही दुधलाई कुराउनी, पनिर बनाएर सदुपयोग गर्ने कोसिस गरेको छु, तर त्यो पनि विक्री गर्न कठिनाइ छ, विक्री नहुने दूधलाई पाडापाडी र भैँसीलाई नै खुवाउने गरेको छु”, पौडेलले भन्नुभयो ।

कृषकहरुले आफूले उत्पादन गरेको दूधलाई बजारमा डेरीमा प्रतिलिटर १०० र फुटकर १२० रुपैयाँमा बिक्री गर्दै आएका छन् । व्यावसायिकरूपमा गाईभैँसी पालन गर्दै आएका अर्थुङ्गेका युवा कृषक कमल पौडेलले उत्पादन भएको आधाभन्दा बढी दूधलाई खेर फाल्नुपर्दा ठुलो नोक्सानी व्यहोर्नुपरेको बताउनुभयो । “मेरो फार्ममा एउटा गाई र नौ भैँसी छन्, दैनिक ८० लिटरसम्म दूध उत्पादन गर्छु, आधा पनि खपत हुन्न, बाँकी दूध भैँसीलाई नै खुवाउने र खेर फाल्नुपर्ने बिडम्बना आएको छ”, उहाँले भन्नुभयो ।

बेनी बजार आसपासका कृषकहरुले दैनिक उत्पादन गर्ने दूधको ६० प्रतिशत उत्पादन खेर गएको बेनी नगरस्तरीय एकता दुग्ध उत्पादक तथा गाईभँैसी स्रोत केन्द्र विकास समितिका अध्यक्ष जीवनप्रसाद पौडेलले बताउनुभयो । “बजार बन्द जस्तै छ, दूध लैजान समस्या त छैन, तर खपतै नहुने भएपछि कहाँ लगेर बिक्री गर्नु ?”, उहाँले भन्नुभयो । बजारमा केही डेरी पसलहरु सञ्चालनमा आए पनि माग न्यून भएकाले उत्पादन भएको सबै दूध बिक्री गर्न नसकिएको पौडेलको भनाइ छ ।

छ वटा भैँसी पाल्दै आउनुभएका कृषक पौडेलले दैनिक ६० लिटरभन्दा बढी दूध उत्पादन हुने भए पनि त्यसको आधा पनि बजारीकरण गर्न नसकेको बताउनुभयो । बेनी नगरक्षेत्रमा मात्रै दुई दर्जनभन्दा बढी कृषकले व्यावसायिकरूपमा दूध उत्पादन गर्ने गरी गाईभैँसी पालन गर्दै आएका छन् । समितिका अनुसार सामान्य अवस्थामा बेनी बजारमा मात्रै दैनिक १५ सय लिटरको हाराहारीमा दूध खपत हुने भए पनि अहिले त्यसको ४० प्रतिशत मात्रै खपत हुने गरेको छ । बेनी नगरपालिकासँगै जिल्लाको रघुगङ्गा, मङ्गला र मालिका गाउँपालिकामा समेत व्यावसायिकरूपमा गाईभैँसी पालन हुँदै आएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -