स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

किस्ता बुझाउने म्याद स्थगित गर्न यातायात व्यवसायीको माग

सेयर गर्नुहोस

 १६ चैत : यातायात व्यवसायीले नियमितरूपमा बैंकलाई बुझाउनुपर्ने साँवा, ब्याज (किस्ता) स्थगन गर्न माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको टोलीले आज अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानालाई भेटेर मुलुकमा पूर्णरुपमा सार्वजनिक यातायात सञ्चालन नभएसम्मका लागि बैंकको सावा ब्याज तिर्न नसक्ने भन्दै स्थगन गर्न माग गरेको हो ।

सरकारले नोबेल कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै यही चैत ११ देखि लकडाउन गरेको छ भने चैत १० देखि २१ गतेसम्म सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । महासङ्घका महासचिव सरोज सिटौलाले देश नै लकडाउन भएको अवस्थामा सार्वजनिक सवारी साधनले महिनावारीरुपमा बुझाउँदै आएको किस्ता तिर्न नसक्ने भन्दै तत्कालका लागि किस्ता स्थगन गर्न माग गर्नुभयो ।

“व्यवसायीले सवारी साधन चलाउन पाएका छैनन्, यस्तो अवस्थामा व्यवसायीले बैँक तथा वित्तिय संस्थाको किस्ता तिर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो । नेपालका यातायात व्यवसायीले लाखौँ रुपैयाँ बैँक तथा वित्तीय संस्थाबाट ऋण लिएर यातायात सञ्चालन गरेका उहाँको भनाइ छ ।

व्यवसायीले सरकारलाई तत्कालका लागि कागजपत्रमा जरिवाना नगर्ने व्यवस्था र बिमा फेलको अवस्थालाई यथावत् गर्दै सम्पूर्ण सवारी कागजातमा लाग्ने जरिवना नलाग्ने वातावरण मिलाउन सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन् । यातायात मजदूर कर्मचारीलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने व्यवसायीको माग छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -