स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

सचेतनाले नै कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छः मुख्यमन्त्री

सेयर गर्नुहोस

 १२ चैत : मुख्यमन्त्री शङ्कर पोखरेलले नागरिक सचेतनाले नै कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेशवासी नाममा आज सम्बोधन गर्दै महामारीसँग जुध्नका लागि सबैले आफ्ना व्यवहार, आनीबानी र दैनिकीमा परिवर्तन गर्न जरूरी रहेकामा जोड दिनुभएको छ ।
कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले गरेका निर्णयलाई पूर्णरुपमा पालना गर्न र अरुलाई पनि पालना गर्न प्रेरित गर्न प्रदेशवासीलाई उहाँले अनुरोध गर्नुभएको छ । कोरोनाको सङ्क्रमण रोक्न तथा रोकथामका लागि प्रदेश सरकारका तर्फबाट पूर्वतयारीको कामलाई प्रभावकारी बनाइएको बताउँदै उहाँले सङ्क्रमण भित्रन नदिन, सचेतना जगाउन, क्वारेन्टाइनको प्रबन्ध मिलाउन र सङ्क्रमितको उपचारको व्यवस्थाका लागि तीनै तहका सरकार आपसी समन्वय र सहकार्यमा गरी क्रियाशील रहेको बताउँदै सरकारले सम्भावित जोखिमलाई नियन्त्रण गर्न लिएका निर्णयको पूर्ण कार्यान्वयनका लागि सबैको सार्थक सहयोगको आवश्यकता आँैल्याउनुभएको छ ।
मुख्यमन्त्री पोखरेलले कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले नागरिकलाई सम्भावित महामारीबाट बचाउन मङ्गलबारदेखि घोषणा गरेको लकडाउनको आदेश अनिवार्य रुपमा पालना गर्न सबैमा आग्रह गर्दै उहाँले उक्त आदेश पालना नगरी उल्लङ्घन गर्नेलाई सुरक्षा निकायले कानूनअनुसार कारवाही अघि बढाउनेसमेत स्पष्ट पार्नुभएको छ ।
उहाँले कोरोनाको सङ्क्रमण नियन्त्रणका प्रमुख उपाय शहरी आवास क्षेत्रका टोल विकास संस्थाले स्थानीय सुरक्षा निकायको सहयोगमा टोल बाहिरका व्यक्तिलाई प्रवेशमा रोक लगाउने र टोलवासी पनि बाहिर नजाने व्यवस्था गर्न आग्रह गर्नुभएको छ । टोलमा खाद्यान्न र तरकारीक टोलकै पसलमा व्यवस्थापन गर्न, कोरोना भाइरसबाट जोगिन सामाजिक र व्यक्तिगत दूरीलाई निरन्तर कायम राख्न र अत्यावश्यक कामका लागि बाहिर जानु नै परेमा स्थानीय सुरक्षा निकायको अनुमति लिएर मात्र जाने गर्न समेत उहाँले अनुरोध गर्नुभएको छ ।
चार अस्पताल निर्माण हुँदै
मुख्यमन्त्री पोखरेलले कोरोनाको सम्भावित जोखिमलाई ख्याल गर्दै प्रदेश सरकारले बुटवल, भैरहवा, दाङको बेलझण्डी र बाँकेको खजुरामा गरी चार कोरोना विशेष अस्पतालको निर्माण प्रक्रिया अघि बढाइसकिएको जानकारी दिँदै उहाँले कोरोना सङ्क्रमणको आशङ्कामा रहेका नागरिकलाई राख्न प्रत्येक पालिकाले तत्काल २५ शय्याको क्वारेन्टाइन बनाउने र क्वारेन्टाइनमा राखिएकाको सम्पूर्ण व्यवस्थापन गर्ने प्रबन्ध गरिएकोसमेत बताउनुभयो ।
कोरोना भाइरस नियन्त्रण कोषमा रु १० करोड
मुख्यमन्त्री पोखरेलका अनुसार प्रदेश सरकारले रु १० करोडको कोरोना भाइरस नियन्त्रण कोष स्थापना गरेको र त्यसमा मन्त्रिपरिषद्का सदस्यले एक महिनाको तलब जम्मा गर्नुभएको छ । कोषमा विभिन्न सङ्घसंस्था र व्यक्तिले रकम जम्मा गर्नेक्रम शुरु भएको जनाउँदै उहाँले कोषमा सक्दो योगदान गर्न प्रदेशसभा सदस्य, राष्ट्रसेवक कर्मचारी, सबै सङ्घसंस्था र सर्वसाधारणमा आग्रह गर्नुभएको छ । उक्त कोषको कार्यविधि बनाएर कोरोना सङ्क्रमितका लागि मात्र खर्च गरिने बताइएको छ ।
उहाँले नागरिकका लागि अत्यावश्यक स्वास्थ्य सेवा तथा औषधि, खाद्यान्न, खाद्यजन्य सामग्री, तरकारीको ढुवानी र बेचबिखन, दूधको ढुवानी र दुग्ध उद्योग, खानेपानी सेवा, फोहरमैला सङ्कलन र व्यवस्थापन, विद्युत् एवं सञ्चार सेवालगायत सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइएको जनाउँदै उक्त सेवामा संलग्न व्यक्तिलाई स्वास्थ्य सुरक्षा अनिवार्य पालना गर्नसमेत अनुरोध गर्नुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -