स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

ऊर्जामन्त्रीद्वारा माथिल्लो तामाकोशीको अवलोकन, आगामी असारदेखि विद्युत् उत्पादन गरिने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन-the times of nepal
सेयर गर्नुहोस

९ चैत : कोरोना भाइरसको त्रास बढीरहेको बेला सरकारका एक मन्त्री आफ्नो जिम्मेवारीमा रहेको कामलाई केन्द्रमा राखेर आयोजना स्थलको निरीक्षणमा पुग्नुभएको छ । देशभित्र कोरानाको संक्रमणको त्रास बढीरहेको बेला ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री लगायतको उच्चस्तरीय टोली राष्ट्रिय गौरवको आयोजनाको अवस्थाको निरीक्षण गर्न आज माथिल्लो तामाकोशी पुगेको हो ।

स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाटको जलाशययुक्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उहाँले आज स्थलगत निरीक्षण गर्नुभएको हो । आयोजनाको बाँध तथा बालुवा थिग्र्याउने पोखरीको (डिसेण्डर) प्राविधिक परीक्षण शुरु भएपछि मन्त्री पुन निरीक्षणमा पुग्नुभएको हो । गत सोमबारबाट आयोजनाको बाँधमा पानी जम्मा गर्न सुरु गरिएकामा आइतबार पोखरी भरिएको छ । कूल २२ मिटर उचाइ तथा ६० मिटर चौडाइको बाँध निर्माण गरिएको छ ।

कूल आठवटा ढोका रहेको बाँधमा चारवटा डिसेन्डर बेसिन राखिएका छन् । बेसिनमार्फत मुख्य सुरुङ हुँदै पावर हाउससम्म पानी पु¥याइन्छ । बाँधको परीक्षण सफलतापूर्वक सम्पन भएको छ । बाँध र पोखरीको प्राविधिक परीक्षण सफल भएकामा मन्त्री पुुनले आयोजनाका पदाधिकारी, ठेकेदार, परामर्शदाता र निर्माण युनिटलाई धन्यवाद दिनुभएको छ ।

निर्धारित समयमै सकिने

बाँध, सुरुङ र पावर हाउसको निरीक्षणपछि मन्त्री पुनले निर्धारित समयमै बाँकी काम सम्पन्न गर्न आयोजनाका पदाधिकारी, निर्माण कम्पनी र परामर्शदातालाई निर्देशन दिनुभएको मन्त्री पुनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईँले राससलाई जानकारी दिनुभयो ।

गोरखा भूकम्पलगायत कारण आयोजना निर्माणमा ढिलाइ भए पनि अब भने समयमै काम सक्नुपर्ने उहाँको भनाइ थियो । परीक्षणका काम चालु आर्थिक वर्षमै सक्ने र आगामी असारसम्ममा परीक्षण उत्पादन थाल्ने गरी काम अघि बढाउन मन्त्री पुनको निर्देशन थियो ।

काम गर्ने सिलसिलामा आइपर्ने जस्तोसुकै व्यवधान हटाउन सरकार तयार रहेको भन्दै उहाँले तर, काम तोकिएकै समयमा हुनुपर्नेमा बताउनुभयो । सरकारको मात्र नभई दोलखा, रामेछापसहित देशैभरका सर्वसाधारण, निजामति र जङ्गीतर्फका कर्मचारीको समेत लगानी रहेकाले निर्माणका काममा ढिलाइ हुन नहुने मन्त्री पुनको स्पष्ट निर्देशन थियो । उहाँले समस्या परे तत्काल आफूलाई खबर गर्न आयोजनाका अधिकारीलाई आग्रह गर्नुभयो ।

“माथिल्लो तामाकोशीमा सरकारको मात्र होइन, शेयरमार्फत जनताको ठूलो लगानी परेको छ”, मन्त्री पुनले भन्नुभयो, “धेरै काम भएको छ, अब बाँकी काम जसरी भए पनि समयमै हुनुपर्छ ” । थोरै भए पनि संवेदनशील र चुनौचीपूर्ण काम बाँकी रहेकाले प्राविधिक कमजोरी नगर्न पनि मन्त्री पुनले सचेत गराउनुभयो । सो अवसरमा आयोजनाका पदाधिकारी, ठेकेदार र परामर्शदाता सबैले समयमै काम सक्ने प्रतिबद्धता जनाएका छन् । ऊर्जामन्त्री जिम्मेवारी संहालेपछि पुनको यो तेश्रो तामाकोशी भ्रमण हो ।

मन्त्री पुनसँगै निरीक्षणमा जानुभएका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले धेरै जटिलता र कठिनाइबीच आयोजना निर्माणको काम अन्तिम चरणमा पु¥याएकामा ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई धन्यवाद दिनुभयो । दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुरुङले देशकै सबैभन्दा ठूलो आयोजना जिल्लामा बन्नु दोलखाकासीका लागि खुसीको कुरा भएको उल्लेख गर्नुभयो ।

मन्त्री पुन र गुरुङसँगै टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, सदस्य डा. कृष्णप्रसाद ओली, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीका अध्यक्ष कुलमान घिसिङ लगायत सहभागी हुनुहुन्थ्यो ।

यस्तो छ पछिल्लो विवरण

विसं २०६५ देखि शुरु भएको आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाबाट आगामी असारदेखि विद्युत उत्पादन थाल्ने तयारी छ । सबैभन्दा जटिल ठानिएको आयोजनाको ठाडो सुरुङमा ३५५ मिटर लामो पेनस्टक पाइप जडान गरिएको छ ।

तल्लो ठाडो सुरुङमा २२० मिटर र माथिल्लो ठाडो सुरुङमा १३५ मिटर पेनस्टक पाइप जडान गरिएको हो । तल्लो ठाडो सुरुङमा १४७ र माथिल्लो ठाडो सुरुङमा १७१ मिटर पाइप जडान गर्न बाँकी छ । पाइप जडानको काम आगामी वैशाख महिनाभर सक्ने तयारी छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङका बीचमा रहेको तेर्सो भागमा पाइप जडान गरिनेछ । त्यसका लागि करिब डेढ महिना लाग्नेछ ।

असारमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसपछि बाँकी पाँच युनिटबाट पनि क्रमशः उत्पादन गर्ने कार्यतालिका रहेको तामाकोशी आयोजनाका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । सिभिलअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कङ्क्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । विद्युत् गृहका सम्पूर्ण उपकरण यसअघि नै जडान भइसकेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -