स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

डेरी उद्योगमा रमाउँदै इलामका युवा

सेयर गर्नुहोस

 २८ फागुन : इलाम नगरपालिका–८ का मिलन खत्रीले २०७४ सालमा सेतो पहाड नामको डेरी उद्योग स्थापना गर्नुभयो । विद्यार्थी राजनीतिमा समेत सक्रिय खत्रीले रु डेढ लाख लागतमा स्थापना गर्नुभएको उद्योगमा हाल एक करोड ३० लाख लगानी भइसकेको छ ।

स्थापनाका समयमा करिब एक सय लिटरसम्म दुध प्रशोधन गर्न थाल्नुभएका खत्रीले अहिले दैनिक एक हजार ६०० लिटरभन्दा बढी दुध सङ्कलन र प्रशोधन गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “दुध थपिएसँगै लगानी पनि बढ्दै गएको छ ।” खत्री हाल इलाम जिल्लाको एक क्रियाशील युवा व्यावसायीका रुपमा पनि गनिन थाल्नुभएको छ ।

युवा अवस्थामा नै उहाँले राम्रो मेहनतसँगै प्रतिफलसमेत हात पारिरहनुभएको छ । जुन कमाइबाट अहिले उहाँ सन्तुष्ट पनि हुनुहुन्छ । उहाँको उद्योगमा दुध प्रशोधन गरेर बेच्ने मात्र नभएर अरु दुधजन्य परिकारहरु पनि उत्पादन हुन्छ ।

उत्पादित ती वस्तु पनि बजारमा खरिद बिक्री हुने गरेको छ । त्यस डेरी उद्योगबाट मात्र मासिक दुई हजार किलोभन्दा बढी छुर्पी र एक हजार ८०० किलो घ्यू उत्पादन गर्ने गरेको जानकारी उहाँले दिनुभयो । छुर्पीबाहेक बम्मैसन, ललिपप लगायतका परिकार उक्त डेरीमा उत्पादन हुने गरेको उहाँले वताउनुभयो ।

व्यावसायी खत्रीले आफ्नो डेरीको मात्र नभएर अरु करिब ३० वटाजति साना डेरी उद्योगबाट उत्पादित घ्यू र छुर्पी पनि खरिद गर्ने गर्नुभएको छ । खत्रीको आफ्नो उद्योगमा प्रत्यक्ष रुपमा २१ जनाले रोगजारी पनि पाइरहेका छन् । त्यस्तै यसबाट अप्रत्यक्ष रुपमा भने रोजगार हुनेको सङ्ख्या १४० भन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो । इलाम दुुध उत्पादनमा अग्रणी जिल्लाका रुपमा पनि परिचित छ ।

यसकारण पनि यहाँ धेरै डेरी उद्योग सञ्चालनमा छन् । उमेरले कलिलै भए पनि यहाँ प्रायः युवाको आकर्षण डेरी उद्योगमा बढ्दै गएको छ । सानो लगानीमा स्वरोजगार हुने माध्यम बनेपछि डेरी उद्योगमा वर्षेनी युवाको लगानी थपिँदै गएको हो ।

पछिल्लो समयमा यहाँ एक दुई पटक वैदेशिक रोजगारीमा पुगेर फर्किएका युवाहरु सानातिना डेरी तथा डेरी उद्योग स्थापना गरी मुनाफा आर्जन गर्ने काममा लागेको देखिन्छ । त्यस्तै एक उदाहरण हुनुहुन्छ देउमाई नगरपालिका–४ का अशेष बुढाथोकी । उहाँले पनि विदेशबाट फर्किएपछि डेरी उद्योग स्थापना गर्नुभएको छ । तल्लो बुधबारेमा उहाँले ‘गजुरमुखी दर्शन डेरी उद्योग’ सञ्चालन गर्नुभएको छ ।

दुई वर्षमात्र अघि करिब रु ३० लाख लगानीमा उहाँले स्थापना गर्नुभएको डेरी उद्योगमा हाल ६० लाखभन्दा बढी लगानी भइसकेको छ । बुढाथोकीले करिब २५० किसानले उत्पादन गरेको दुध सङ्कलन गर्ने गर्नुभएको छ । दैनिक करिब ७०० लिटरभन्दा बढी दुध सङ्कलन भइरहेको उहाँले बताउनुभयो । ‘‘कहिले धेरै कहिले थोरै यस्तै हो दुध तर प्रत्येक दिन ७०० भन्दा कमी चाहिँ हुँदैन” उहाँले भन्नुभयो ।

किसानका गाइभैँसी लैनो हुँदा धेरै र बकेर्नो भएपछि कम दुध सङ्कलन हुने उहाँले बताउनुभयो । सङ्कलित सो दुधबाट मासिक एक हजार ५०० किलो छुर्पी र सोही हाराहारीमा घ्यू उत्पादन हुने उहाँले बताउनुभयो । सो उद्योगमा उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुन्छ भने घ्यू भने नेपाली बजारमा नै बिक्री हुँदै आएको छ । उहाँको डेरी उद्योगमा १५ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् ।

करिब एक दशकअघि इलामको देउमाई नगरपालिकामा बिष्णु चौलागाईंले गाउँमा डेरी भित्र्याउँदा यहाँ दुध पाइन्छ कि पाइँदैन भन्ने चिन्ता थियो । उहाँलाई चिन्ता भने सहकारीमार्फत दुध बेच्दै आएका किसानहरुले दुध देलान् कि नदेलान् भन्ने नै बढी थियो । गाउँमा प्रसस्तै दुध उत्पादन हुन्थ्यो । तर पनि किसानले पत्याउँदैनन् कि भन्ने चिन्ताले छोएको उहाँ बताउनुहुन्छ । तर पछि भने क्रमशः स्थानीय किसान सहकारी छोडेर डेरी उद्योगमा नै दुध बेच्न थाले ।

दुध कम भएपछि सहकारीमार्फत विराटनगरमा ल्याइँदै गरेको दुध एकाएक गाउँमा सङ्कलन नै गर्न छोडियो । उहाँको डेरीमा क्रमशः दुध बढ्दै गयो । त्यसपछि गाउँमा अन्य डेरी पनि खुल्न शुरु भए । एक समय एकै वडामा सबैभन्दा बढी डेरी उद्योग रहेको गाउँ भनेरसमेत चिनिन थाल्यो देउमाई नगरपालिकाको सो गाउँ । अहिले पनि त्यहाँ दर्जनौँ डेरी उद्योग सञ्चालनमा छन् । चौलागाईंले आफ्नो मात्र होइन अरु डेरीबाट उत्पादित वस्तुसमेत खरिद बिक्री गर्ने गर्नुहुन्छ ।

हाल उहाँमात्र होइन उहाँका छोराहरु समेत सोही पेशामा क्रियाशील छन् । उहाँका दुई भाई छोरा सो गाउँ छोडेर डेरी उद्योग नै सञ्चालन गरेर बसेका छन् भने एक छोरा बुबाकै उद्योगमा सँगै छन् । दुध र दुधजन्य पदार्थमा सम्भावना देखेर नै सो परिवार डेरी उद्योगमा क्रियाशील छ भन्छन् गाउँका अगुवाहरु । सानो लगानीमा उच्चतम प्रतिफल पाइने भएपछि इलामका युवाहरुको लगानी डेरी उद्योगमा आउन थालेको देखिन्छ । घ्यू नेपाली बजारमा नै खपत हुन्छ भने उत्पादित छुर्पी अमेरिका निर्यात हुने भएपछि यहाँका युवा डेरी उद्योगमा आकर्षित हुन थालेका हुन् ।

प्रतिफल समेत राम्रो हुने र बिक्रीका लागि पनि बजारको सहजताका कारण यहाँका धेरै युवा डेरी उद्योगमा लगानी गर्न थालेका छन् । हाल इलाममा साढे पाँच सय वटा डेरी उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग शाखा कार्यालयले जनाएको छ ।

विशेष गरेर वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले व्यवसाय गर्न थालेकाले इलाममा डेरी उद्योगमा लगानी बढेको बताइएको छ । समग्र जिल्लामा दर्ता भएका डेरी उद्योगहरु युवाकै नाममा दर्ता भएको सो कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा इलाममा ९१ वटा डेरी उद्योग दर्ता भएका थिए । ती उद्योगमा रु ११ करोड २७ लाख १६ हजार लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय इलामका सूचना अधिकारी युवराज घोर्साइँले बताउनुभयो । हाल डेरी उद्योगको सङ्ख्या वृद्धि भएर साढे पाँच सयभन्दा बढी पुगेको पनि उहाँले बताउनुभयो । एउटा डेरी उद्योगमा डेढ लाख रुपैयाँदेखि डेढ करोड रुपैयाँसम्म लगानी हुने गरेको छ । इलामको सबैभन्दा बढी देउमाई नगरपालिकामा १०४ वटा डेरी उद्योग सञ्चालनमा छन् । अन्य स्थानीय तहमा पनि डेरी थपिँदै छन् । दिनानुदिन दुध प्रशोधन गर्ने डेरी स्थापना हुने क्रम बढिरहेको छ । सानो लगानीमा धेरै प्रतिफल पाउन सकिने र उद्योगकै रुपमा विकास गर्न सकिने भएकाले पनि युवाहरुको रोजाइमा डेरी उद्योग पर्ने गरेको छ ।

यसअघि उन्नती नामक एक परियोजनाले जिल्लाका धेरै किसान तथा व्यवसायीलाई अनुदानमा सामग्री वितरण गरेको थियो । सो कार्यक्रमले जिल्लाका धेरै डेरी उद्योगहरुको समेत विकास भएको थियो । सरकारी क्षेत्रबाट समेत उचित सहयोग गरेर व्यवसाय प्रवद्र्धनमा सहयोग गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ ।

अझै पनि परम्परागन रुपमा नै सञ्चालन भइरहेका उद्योगहरुलाई आधुनिकीकरण गर्नु जरुरी रहेको व्यवसायी युवाहरु नै बताउँछन् । गाउँमा अझै पनि हातले मेसिन घुमाइन्छ र दुध पेलिन्छ । तर यस्ता कार्यलाई अनुरुप परिमार्जन गर्दै आधुनिक बनाएर प्रशोधन गर्न आवश्यक छ । यसका लागि आवश्यक आधुनिक मेसिन खरिदमा सहयोग बढाउनुपर्ने व्यवसायीहरुको माग छ ।

साथै उत्पादित छुर्पीलाई सुकाउन समेत उस्तै मेसिन भए अगेनामाथि भार बनाएर राख्ने कार्यको अन्त्य हुने माईजोगमाई इलामका व्यवसायी मनु पोख्रेलको भनाइ छ । गाउँका यी उद्योगहरुलाई दुध सङ्कलन गर्ने मात्र होइन कि दुधजन्य परिकारहरुको उत्पादन गरी व्यावसायिक रुपमा बजारमा पु¥याउने कामका लागि पनि प्रोत्साहित गर्नुपर्ने धेरैको भनाइ छ ।

त्यसैगरी किसानलाई दिनुपर्ने आवश्यक सहुलियतको मात्रा पनि वर्षेनी बढाउनुपर्ने व्यवसायी देउमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम दाहालले भने किसान र व्यवसायीलाई समेट्ने खालका सहुलियत र प्रोत्साहनका कार्यक्रमहरु अघि बढाइएको बताउनुभयो । नगरभित्र जुन क्षेत्रमा जे बढी उत्पादन हुन्छ त्यसको पहिचान गरेर सोहीअनुसार किसानलाई सहुलियत दिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । यसै कार्यक्रममार्फत दुध र डेरीहरुलाई समेत सहयोग गर्दै आइएको उहाँले बताउनुभयो । उहाँकाअनुसार जिल्लाका अन्य स्थानीय तहले पनि दुध उत्पादन बढाउन विशेष कार्यक्रम ल्याएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -