स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

फुर्केटारी सामुदायिक वनले शुरु गर्दै पानी उद्योग

सेयर गर्नुहोस

२२ फागुन: जङ्गलको बीच भागस्थित चट्टान छिचोल्दै निस्केको शुद्ध पानीलाई सदुपयोग गर्दै यहाँको एउटा सामुदायिक वन समूहले व्यावसायिक पानी उद्योग सञ्चालन गर्न लागेको छ ।

पोखरा महानगरपालिका–२५ हेम्जास्थित फुर्केटारी सामुदायिक वन समूह वन पैदावारको भरपुर उपयोगसँगै व्यावसायिक पिउने पानीको उद्योग सञ्चालनमा ल्याउने तयारीमा जुटेको हो ।

वन संरक्षणको अभावमा कतिपय स्थानमा पानीको स्रोत सुक्दै गएको वास्तविकतामा यहाँ भने वनको संरक्षणका कारण पानीको स्रोत बढ्दै गएपछि पानी उद्योग सञ्चालन गर्ने जमर्को गरिएको फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहका सचिव रमा त्रिपाठी बताउनुहुन्छ ।

उहाँका अनुसार वनको बीच भाग महभिरखोलामा रहेको स्रोतबाट धेरै पानी बगेर गयो, केही भाग मात्र घरायसी प्रयोगका लागि उपयोग गरिएको थियो, यतिखेर भने त्यही मूलको पानी बजारमा बिक्री गरेर थप आम्दानी गर्ने लक्ष्य समूहले लिएको छ ।

जङ्गलदेखि लगभग चार किलोमिटरको दूरीबाट दुई इन्चको पाइप विस्तार गरेर बस्तीसम्म ल्याइएको पानी शुरुमा पिउनका लागि प्रयोग भए पनि विस्तारै थप आयआर्जन गर्न तरकारी खेतीमा समेत उपयोग गरिँदै आएको बताउँदै उहाँले पानी उद्योग सञ्चालनसँगै बजारमा बिक्री गरी आम्दानीको स्रोतमा परिणत गरिने जानकारी दिनुभयो ।

सामुदायिक वनबाट खासै आम्दानी नभए पनि पानी बिक्रीबाट राम्रो आम्दानी गर्ने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको पानी उद्योगमा समूहमा आबद्ध ५२ घरधुरीको लगानी रहेको सचिव त्रिपाठीले राससलाई बताउनुभयो ।

फुर्केटारी एक्विफायर नामकरण गरिएको पानी उद्योगमा हालसम्म रु दुई करोड लगानी भइसकेको महभिरखोला प्राकृतिक खानेपानी प्रालिका अध्यक्ष हुतराज त्रिपाठीले जानकारी दिनुभयो ।

पछिल्लो समय उपभोक्तामा बोतल र जारको पानी उपयोग गर्ने बानी परिसकेको वर्तमान अवस्थामा वन समूहले उत्पादन गरेको मूलको पानी बजारको रोजाइमा पर्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “पानी उद्योगमा सामुदायिक वन समूहका उपभोक्ताको रु २५ हजारदेखि रु पाँच लाखसम्मको शेयर लगानी छ ।” समूहले एक लिटर र आधार लिटरको बोतल एवं २० लिटरको जार निर्माण गरेर बजारमा लैजाने तयारी गरेको छ ।

प्रयोगशालामा पानीको नमूना परीक्षण गरी पिउन उपयुक्त भएको प्रमाणपत्र प्राप्त गरेको बताउँदै अध्यक्ष त्रिपाठीले भन्नुभयो, “सामुदायिक वन समूहले उत्पादन गरेको पानी आगामी चैत महिनाको पहिलो सात बजारमा पु¥याउने तयारी भइरहेको छ ।”

वार्षिक रु एक करोड १२ लाख ६९ हजार आम्दानी गर्ने लक्ष्य लिएको सो सामुदायिक वनले सञ्चालन गरेको पानी उद्योगबाट बजारमा प्राकृतिक स्रोतको शुद्ध पानी उपलब्ध गराउनुका साथै १५ जनाले प्रत्यक्षरूपमा रोजगार प्राप्त गर्ने अध्यक्ष त्रिपाठीको जिकिर छ ।

महभिरखोला खानेपानी तथा मुहान संरक्षण उपभोक्ता समितिका सचिव एवं खानेपानी सञ्चालक मित्रलाल त्रिपाठीका अनुसार खानेपानीको मुहान संरक्षणमा मात्र रु ५५ लाखभन्दा बढी लगानी भइसकेको छ ।

तरकारीखेतीमा प्रयोग भएको पानी जार र बोलतमा राखेर बजारमा बिक्री गर्न शुरु गरेपछि सो वन समूहले सिँचाइका लागि डिप बोरिङको समेत व्यवस्था गरेको छ । प्रतिसेकेण्ड १३ लिटर पानी आउने सो चार इञ्चको बोरिङमार्पmत निकालिएको पानीबाट वन समूहका उपभोक्ताको १६६ रोपनी जमीनलाई सिँचाइको सुविधा पुग्ने समूहको विश्वास छ । रु ६५ लाखमा बोरिङ खनेर सञ्चालनमा ल्याइएको हो ।

वनको संरक्षण, प्रवद्र्धन र उपयोगसँगै वातावरणको संरक्षणमा सहयोग पु¥याउँदै आएका सामुदायिक वन समूहका उपभोक्ताका लागि प्राकृतिक स्रोतसाधन आम्दानी र रोजगारीको दरिलो माध्यम बन्दै गएको सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार विश्वमा नै नेपालको सामुदायिक वनको अवधारणा अनुकरणीय बन्दै गएको वर्तमान अवस्थामा उपलब्ध प्राकृतिक स्रोत साधनको विविधतापूर्ण प्रयोगसँगै उपभोक्ता एवं मुलुकका लागि सामुदायिक वन वरदान सावित बन्दै गएको छ ।

संरक्षणका माध्येमबाट नाङ्गा पहाड र डाँडालाई हरियालीमा परिणत गर्न सफल मुलुकका २२ हजारभन्दा बढी सामुदायिक वन समूहले पछिल्लो समय सम्भाव्यता अध्ययनका आधारमा सञ्चालन गरिने वनमा आधारित उद्योग जीविकोपार्जनसँगै मुलुकको समृद्धिसँग जोड्नु अपरिहार्य बनेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -