स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

जनतालाई मारमा पार्ने गरी इन्धनमा कर थप्ने निर्णय प्रति सांसदको आपत्ति

energy - The Times Od Nepal
सेयर गर्नुहोस

काठमाडौँ, १९ फागुन : सदनमा कोरोना भाइरस (कोभिड–१९), भ्रष्टाचार र समसमायिक विषयमा सांसदहरूले संसद् र सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आइतबार भएको अमानवीय व्यवहारको भत्र्सना गर्नुभयो । उहाँले सो विषयमा गृहमन्त्रालयको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षालाई सुदृढ बनाउन जोड दिनुभयो ।

सांसद पौडेलले कोरोना भाइरस करिब ६४ देशमा पुगिसकेको सञ्चारमाध्यममा आएकाले नेपालमा त्यसको रोकथामका निम्ति अझ उच्च सतर्कता अपनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका दिलेन्द्रप्रसाद बडूले विभिन्न देशमा फैलिएको कोरोना भाइरसका सम्बन्धमा सरकारले उच्च सतर्कता अपनाउन नसकेको बताउनुभयो । उहाँले विश्व स्वास्थ्य सङ्गठनले नेपाललगायत विभिन्न मुलुकलाई कोरोना भाइरसको उच्च जोखिममा रहेको बताए पनि सरकारले त्यसअनुरूपको तयारी गर्न नसकेको बताउनुभयो । सरकारले संसद्लाई छलेर चोर बाटोबाट जनतामा कर थोपर्ने काम गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

सांसद महेन्द्र राय यादवले सरकारले जनतालाई मारमा पार्ने गरी इन्धनमा कर थप्ने निर्णय गरेकोप्रति आपत्ति जनाउनुभयो । उहाँले प्रदेश नं ३ को नामकरण गर्दा पहिचानलाई आत्मसात् गर्न नसकिएको भन्दै गुनासो गर्नुभयो । सांसद प्रदीप यादवले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको विषय उल्लेख गरिए पनि व्यवहारमा नदेखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

सांसद राजेन्द्रकुमार लिङ्देनले व्यक्ति विशेषका लागि संविधान संशोधन गर्ने विषय सत्तापक्षीय दलबाटै आएको भन्दै आपत्ति प्रकट गर्नुभयो । सांसद दिव्यमणि राजभण्डारीले संसारभर प्रकोपका रूपमा फैलिँदै गएको कोरोना भाइरसबाट बच्ने उपायका सन्दर्भमा सरकारले पर्याप्त तयारी गर्न नसकेकामा दुःखेसोे पोख्नुभयो । सांसद सरिताकुमारी गिरीले कोशी टप्पु आरक्षण क्षेत्रमा हात्ती, बँदेललगायत वन्यजन्तुको आक्रमणबाट स्थानीयवासी पीडित र त्रसित बनेकोप्रति सरकारको ध्यनाकर्षण गराउनुभयो ।

सांसद शान्ता चौधरीले प्रधानमन्त्रीले आफ्नो मिर्गौला प्रत्यारोपण स्वदेशमै गर्न लागेकामा खुशी व्यक्त गर्दै उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभयो । नेकपाका सचेतकसमेत रहनुभएका सांसद चौधरीले नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार भएको अभद्र व्यवहारप्रति आपत्ति जनाउनुभयो । काँग्रेसका सांसद प्रकाश रसाइली (स्नेही) ले सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै कोरोना भाइरसभन्दा पनि भ्रष्टाचारको भाइरसबाट मुलुकमा त्रास पैदा भएको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -