स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

उपराष्ट्रपति पुनले लिनुभयो लोकनृत्यको मज्जा

उपराष्ट्रपति नन्दबहादुर पुन - The Times Of Nepal
सेयर गर्नुहोस

१७ फागुन : उपराष्ट्रपति नन्दबहादुर पुनले आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा तीन घण्टा विभिन्न देशका लोकनृत्य हेर्नुभयो । एभरेष्ट नेपाल कल्चर ग्रुपले आयोजना गरेको ‘दशौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला’ उहाँले ११ देशका विभिन्न लोकनृत्य हेर्नुभयो । करिब तीन घण्टासम्म बसेर उहाँले विभिन्न देशका लोकनृत्य हेर्नुभएको थियो ।

कुनै कार्यक्रमको उद्घाटन गरी हतारमा फर्कने उहाँ आज भने कार्यक्रम अवधिभर बसेर लोकनृत्यको मज्जा लिनुभयो । देशअनुसारको विभिन्न पहिरन सजिएका कलाकारको नाच देखेर उहाँ रमाउनुभएको थियो । एकपछि अर्को देशको लोकनृत्यले उहाँलाई तीन घण्टा तानेको थियो । मेलाको आजै उपराष्ट्रपति पुनले उद्घाटनसमेत गर्नुभयो ।

मेलामा नेपालसहित इस्टोनिया, मेक्सिको, बङ्गलादेश, भारत, मलेशिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलङ्का, इजिप्टका लोकनाच देखाइएका थिए । ग्रुपका अध्यक्ष रामचन्द्र कोइरालाले नेपाल भ्रमण वर्षको सन्दर्भमा अन्तर्राष्ट्रिय जगत्मा नेपालको लोककला र सांस्कृतिक परम्पराको आदान–प्रदान गर्नुको साथै नेपाललाई विश्व जनसमुदायमाझ आफ्नै सांस्कृतिक सम्पदाको धनी देशको रुपमा परिचित गराउने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो ।

उहाँले मेलाले भ्रमण वर्षलाई सफल बनाउन भूमिका खेल्ने र नेपालको लोप हुँदै गइरहेको सांस्कृतिक सम्पदाको जर्गेना गर्ने बताउनुभयो । मेलामा विभिन्न देशबाट आएका कलाकारले आफ्नो देशको वेषभूषामा लोकनृत्य प्रस्तुत गरेका थिए । मेलामा एभरेष्ट ग्रुपका कलाकार र नेपाल सांस्कृतिक मन्दिरका कलाकारले थाली, झ्याउरे र लाखेनाच प्रस्तुत गरेका थिए ।

यही फागुन २५ गतेसम्म सञ्चालन हुने मेला आइतबार वसन्तपुरमा सोमबार ललितपुरका विभिन्न विद्यालयमा र बुधबार पोखरामा समेत आयोजना गरिने ग्रुपका अध्यक्ष कोइरालाले जानकारी दिनुभयो । गु्रपले हरेक दुई–दुई वर्षमा सांस्कृतिक मेला आयोजना गर्ने गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -