स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

सागका पदक विजेताका लागि प्रस्तावित पुरस्कार अनुमोदन

south asian games 2019, SAG - The Times Of Nepal
सेयर गर्नुहोस

१५ फागुन : सरकारले १३औँ दक्षिण एशियाली खेलकूद (साग)का पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि प्रस्तावित पुरस्कार अनुमोदन गरेको छ ।

सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा सागका पदक विजेतालाई पुरस्कार दिन युवा तथा खेलकूद मन्त्रालयले गरेको खेलकूद पुरस्कार तथा सम्मान कार्यविधिको पहिलो संशोधनको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको जानकारी गराउनुभएको हो । यससँगै सागका पदक विजेता खेलाडीलाई घोषित पुरस्कार प्रदान गर्न बाटो खुलेको छ ।

संशोधित कार्यविधिअनुसार सागका स्वर्ण विजेतालाई रु नौ लाख, रजत विजेतालाई रु छ लाख र कास्य विजेतालाई रु तीन लाख पुरस्कार दिने उल्लेख छ । एउटाभन्दा बढी स्वर्ण जित्नेले प्रति स्वर्ण रु ११ लाख पाउनेछन् । सो पुरस्कारबाट चार स्वर्ण जितेकी गौरिका सिंह र दुई स्वर्ण विजेता आयशा शाक्य र मन्डेकाजी श्रेष्ठ लाभान्वित हुनेछन् ।

यस्तै सामूहिक खेलमा स्वर्ण विजेतालाई जनही रु पाँच लाख, रजत विजेतालाई रु तीन लाख, कास्य जित्नेलाई रु दुई लाख तथा स्वर्ण जितेको खेलका प्रशिक्षकलाई रु पाँच लाख पुस्कार दिने व्यवस्था गरिएको छ । गत मङ्सिर तेस्रो साता नेपालमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जितेको थियो । साग सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि विशेष प्याकेजको घोषणा गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -