स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

प्रदेशसभाको बैठकमा सैद्धान्तिक छलफल जारी

सेयर गर्नुहोस

४ फागुन : प्रदेश नं १ प्रदेशसभाको बैठकमा ‘प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथा तत्सम्बन्धी अन्य व्यवस्था गर्न बनेको विधेयक’माथिको सैद्धान्तिक छलफल आज पनि जारी रह्यो ।

बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै सदस्य चुमनारायण तवदारले विकास निर्माणका काम गर्ने फर्म वा कम्पनीले मापदण्डअनुसार काम गर्न विधेयकमा व्यवस्था हुनुपर्छ भन्नुभयो । सदस्य लीलम बस्नेतले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने फर्म वा कम्पनीलाई लक्षित गरी ल्याइएको विधेयकमा अझ सुधार गर्नुपर्ने माग गर्नुभयो । अर्का सदस्य शिवनारायण गनगाईंले कुनै फर्म दर्ता गर्दा भौगोलिकताको आधारमा उपयुक्त छ कि छैन विधेयकले बोल्नुपर्ने भन्दै विधेयक मानव बस्ती र वातावरणमैत्री हुनुपर्ने सुझाव दिनुभयो । उहाँले विधेयकको अपूर्णतालाई पूरा गर्न विषयगत समितिमा छलफल हुनुपर्ने माग पनि गर्नुभयो ।

शून्य समय

प्रदेशसभाको शून्य समयमा मुलुकको समसामयिक विषयमा धारणा राख्दै सदस्य अम्बिका थापाले सरकारको नीति राम्रो भए पनि कार्यान्वयन निकाय राम्रो नभएकाले उदयपुरमा सञ्चालित जनता आवास कार्यक्रममा धेरै घरहरु समयमै निर्माण हुन नसकेको बताउनुभयो ।

सदस्य विष्णुकुमारी राईले मोरङको बेलबारीमा गएको साउनमा भएको आगलागीबाट पीडित परिवारले अहिलेसम्म क्षतिपूर्ति नपाएकाले सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य तुलसीप्रसाद न्यौपानेले संवैधानिक प्रदेश लोकसेवा आयोग उत्पत्ति भएदेखि विवादमा आउन नहुने बताउनुभयो । अर्का सदस्य प्रतापप्रकाश हाङ्गामले ताप्लेजुङ सदरमुकामसँग जोडिने धेरै बाटो हिउँदे मौसममा सञ्चालनमा आए पनि वर्षात्को समयमा नचल्ने भएकाले प्रदेश सरकारले छिट्टै त्यस्ता बाटो निर्माण गर्दा स्थानीय मजदुर प्रयोग गर्न सुझाव दिनुभयो ।

सदस्य मोहनकुमार खड्काले मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउने शीर्षस्थ नेताको विषयमा सदनमा हलुका ढङ्गले कुरा नगर्न सांसदहरुलाई चेतावनी दिनुभयो । सदस्य रामचन्द्र लिम्बूले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा दुई मात्र कर्मचारीबाट कामकाज नहुने भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले प्रदेश लोकसेवा आयोगको कार्यालय पनि धनकुटामा स्थापना गर्न सरकारसँग माग गर्नुभयो ।

सदस्य लोकप्रसाद सङ्ग्रौलाले मोरङको घिनाघाटदेखि विराटचोकसम्म बनिरहेको बाटोको गुणस्तरमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य बलबहादुर साम्सोहाङले सदनको गरिमा र महत्वलाई बुझ्न सांसदहरुलाई आग्रह गर्नुभयो । प्रदेशसभाको अर्को बैठक भोलि सोमबार दिउँसो १ बजे बस्नेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -