स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

राजेन्द्रमान डङ्गोलको नियात्रा सङ्ग्रह ‘यात्राका पाइला’ लोकार्पण

नियात्रा सङ्ग्रह 'यात्राका पाइला' - The Times Of Nepal
सेयर गर्नुहोस

काठमाडौँ, ४ फागुन : नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा सङ्ग्रह ‘यात्राका पाइला’ को लोकार्पण गरिएको छ ।

सुखद पाहुनाघरको प्रेक्षालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रखर कवि तथा चर्चित नियात्राकार दामोदर पुडासैनी ‘किशोर’ले लेखकको सबैभन्दा ठूलो धर्म समाजप्रतिको जिम्मेवारी राजेन्द्रमान डङ्गोलबाट पूरा भएको दावी गरे । शब्दको जञ्जालमा बेह्रिएर रचनालाई हल्काफुल्कारुपमा लिने प्रवृतिबाट टाढा रहेका डङ्गोलका आफन्त र दाजुभाइले समेत उनको लेखकीय क्षमताबारे सुसूचित हुन पाउनु सुखद् संयोग भएको पुडासैनीको जिकिर थियो ।

विशेष अतिथि प्रगतिवादी आख्यानकार तथा कवि केशव पुडासैनी ‘विमल’ले कृति सिङ्गो नेपालको प्रतिच्छाया भएको उल्लेख गर्दै कृतिमा पौराणिक, दार्शनिक, धार्मिक, समाजशास्त्रीय एवं मिथकीय आयामले परिपूर्ण भएको स्पष्ट पारे । उनले समाजमा यथास्थितिमा नै रमाउने र सकारात्मक रूपान्तरण खोज्ने गरी दुई थरी मानिस हुने बताउँदै डङ्गोल दोस्रो कित्तामा सगर्व खडा भएको उल्लेख गरे । नियात्राकार राजेन्द्रमान डङ्गोलले आफूले टेकेका पाइलालाई सचेत पाठकले महसुस गरे आफ्नो सफलता त्यसैमा झल्कने राय प्रकट गरे । आफू पर्यटन व्यवसायी भएकोले विदेशी पर्यटकहरूसँग यात्रा गर्ने सिलसिलामा देखेभोगेका यथार्थलाई निजी अनुभूतिसमेत घोलेर शब्दचित्रमा उतारेको उनको कथन थियो ।

कार्यक्रममा त्रिशूली वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा प्रलेसका पूर्व महासचिव आरएम डङ्गोलले नियात्राकार राजेन्द्रमान डङ्गोलको बहुआयामिक व्यक्तित्वबारे परिचर्चा गरे भने शुभलक्षण साप्ताहिकका सम्पादक/प्रकाशक तथा त्रिशूली वाङ्मय प्रतिष्ठानका महासचिव श्यामराज पाठक, उन्मुक्त पुस्ताका अभियन्ता माधव घिमिरे ‘अटल’ लगायतका अतिथिहरूले पनि सङ्क्षिप्त शुभकामना मन्तव्य प्रकट गरेका थिए । साहित्य सङ्गम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अतिथिका रुपमा आमन्त्रित बिराज नेपाल र लालकाजी श्रेष्ठले विशेष गजल वाचन गरेका थिए भने संस्थाका तर्फबाट स्वागत मन्तब्य शम्भु गजुरेलले राखे । श्रीधर पाण्डे , सुविन रिमाललगायतका आधा दर्जन भन्दा बढी स्रष्टाहरूले पनि आआफ्ना सिर्जना सुनाए । साहित्यकार, साहित्यानुरागी र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको बिट मार्दै सङ्गमकी अध्यक्ष सुमीले नयाँ वर्षको सुअवसरमा बैशाखको सुरुआतमै एक भव्य कार्यक्रम आयोजना गर्ने जानकारी दिइन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -