स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

वनमा व्यावसायिक केराखेती गरी आम्दानी गर्न सफल

सेयर गर्नुहोस

२३ माघ : यहाँका स्थानीय बासिन्दाले वनको उचितरुपमा व्यवस्थापन गरी आम्दानी गर्न सफल बनेका छन् । निस्दी गाउँपालिका–७ ज्यामिरेस्थित मोलोग्रामका स्थानीय बासिन्दाले खरिया फँडानी गरी व्यावसायिक केराखेतीबाट आम्दानी लिन सफल भएका हुन् ।

वन क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएका छन् । वनको रेखदेख भएको छ भने स्थानीय बासिन्दाको आम्दानीको स्रोतका रुपमा वन क्षेत्रको विकास हुँदै गएको हो ।

वनभित्रको झाडी तथा कुकाठ विस्थापित गरी तीन वर्षदेखि केराखेतीले स्थानीय बासिन्दाको जीवनशैलीमा परिवर्तन ल्याएको छ । स्थानीय बासिन्दाको अगुवाइमा भिरालो जमिनकोे झाडी र वनमारा हटाइ सिङ्गो बस्ती केराखेतीमा परिणत भएको हो । व्यावसायिक केराखेतीले आन्तरिक पर्यटकको मन लोभ्याउने गरेको छ । केराखेती हेर्न यस क्षेत्रमा आन्तरिक पर्यटक आउन थालेका छन् ।

अनुत्पादक अवस्थाको वन क्षेत्रमा २५ हजार केराका बोट रोपिएको छ । स्थानीय बासिन्दाले अनुत्पादनक क्षेत्रमा व्यावसायिकरुपमा केराखेती गरी आर्थिकरुपमा टेवा पु¥याउने उद्देश्य रहेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले बताउनुभयो । सत्ताइस हेक्टर जमिन केराखेतीका लागि कबुलियती वन कार्यक्रमअन्तर्गत यहाँका स्थानीय बासिन्दालाई वन क्षेत्र हस्तान्तरण गरिएको छ ।

चालिस वर्षसम्म स्थानीयले केराखेती गरी जीविकोपार्जन गर्ने उद्देश्यसाथ समुदायलाई वन हस्तान्तरण भएको हो । गाडादी कबुलियती वन उपभोक्ता समूहका सचिव सञ्जिता ठाडाले भन्नुभयो, “वनबाट दाउरा र घाँस ल्याउने मात्र थाहा थियो, अहिले वनबाट पैसा कमाउन थालेका छौँ ।

वनभित्र रहेका झाडी तथा वनमारा मासेर केराखेती गरेपछि भएको आम्दानीले स्थानीय बासिन्दालाई निकै उत्साहित बनाएको छ ।” स्थानीय बासिन्दाले स्वदेशमा नै बसेर दुई चार पैसा कमाउनका लागि विदेश जानु पर्दैन । नेपाली भूमिमा पसिना बगान मेहनत गरे खेतबारी वनबाट पैसा कमाउन सकिने नमूना बनेको सचिव ठाडाले बताउनुभयो । ज्यामिरेस्थित मोलोग्रामको बस्ती वन क्षेत्रसँग जोडिएकाको छ ।

पच्चीस घरपरिवार वनमा व्यावसायिक केराखेतीमा आबद्ध छन् । वन कार्यालय पाल्पासँग स्थानीय बासिन्दाले कबुलियती वन कार्यक्रम सम्झौता गरी व्यावसायिक केराखेतीमा जुटेका हुन् । चालिस वर्ष स्थानीय बासिन्दाले व्यावसायिक केराखेती गर्नेछन् । वन क्षेत्रको रेखदेख र संरक्षणका लागि दुई कबुलियती वन समूह गठन भएका छन् । ती समूहको सहकार्यमा वनमा व्यावसायिक केराखेती हुँदै आएको हो ।

गाडादी–टोकल्कदी कबुलियती वन उपभोक्ता समूहका अध्यक्ष रमनबहादुर सारुले २५ घरपरिवारको सहकार्यमा सञ्चालित व्यावसायिक केराखेतीबाट वार्षिक रु पाँच लाखसम्म आम्दानी गर्न सफल भएको बताउनुभयो । यो आवमा रु १० लाख आम्दानी हुने अनुमान छ । कम लगानी र मेहनतमा व्यावसायिक केराखेती हुँदा यहाँका किसानसमेत खुशी छन् । केराखेतीबाट भएको आम्दानी समूहका सदस्यलाई बराबर वितरण हुँदै आएको छ ।

सामूहिकरुपमा केरा रोपियो, सामूहिकरुपमा नै केरा झारपात हटाउने र पाकेको केरालाई बजार व्यवस्थापन गर्ने काम हुँदै आएको समूहका अध्यक्ष सारुले बताउनुभयो । नवलपरासीको विडीपुर, छिमेकी पूर्वखोला गाउँपालिका र होंसी सिमेण्ट कम्पनीको सडक क्षेत्रमा केराको खपत आएको छ ।

नवलपरासीको बर्दघाट क्षेत्रबाट यहाँ उत्पादित केरा ठूलो मात्र छ । हप्तामा दुई तीन ट्रक केरा माग रहे पनि एक ट्रक निकासी हुँदै आएको अध्यक्ष सारुको भनाइ थियो । मालभोग र राहुस्टार प्रजातिको केरा रोपिएको छ । केराबाट अचार, सब्जी, चिप्स, मःमलगायत विविध परिकार तयार हुन्छ ।

पाहुनालाई केराका विविध परिकारको स्वाद लिन सकिन्छ । पहाडी जिल्लामा उत्पादित केरा मीठो हुँदा यसको माग तराईका जिल्लामा बढी छ ।

जिल्ला कृषि विकास कार्यालय र ओकेबाजेको आर्थिक सहयोगमा केराखेती थालिएको हो । डिभिजन वन कार्यालय पाल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा व्यावसायिक केराखेती विस्तार गरिएको हो । व्यावसायिकरुपमा केराखेतीले स्थानीय बासिन्दाको जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सफल बनेको हो ।

निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले केराको निकासी गर्न समस्या हुँदा वन क्षेत्रदेखि बस्तीसम्म चालू आवको असार मसान्तसम्म मोटरबाटो विस्तार गर्ने बताउनुभयो । पाल्पाको निस्दी आर्थिकरुपमा केराखेतीबाट एक÷दुई वर्षको अवधिमा जुर्मुराउन थालेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -