विशेष अन्तर्वार्ता– दुई वर्षभित्र नेपालको बिजुली बङ्गलादेशले बाल्नेछ : राजदूत डा मिश्र

विशेष अन्तर्वार्ता– दुई वर्षभित्र नेपालको बिजुली बङ्गलादेशले बाल्नेछ : राजदूत डा मिश्र


२१ माघ : भौगोलिक सीमाका हिसाबले नेपाल र बङ्गलादेशको दूरी २७ किलोमिटरको छ । असल र सुमधुर सम्बन्ध भएको बङ्गलादेश र नेपालको खानपान, सांस्कृतिक वातावरण, भौगोलिक अवस्था र भाषिक शब्द धेरै मिल्दोजुल्दो छ । हरेक दृष्टिले निकट यी दुई देशबीचको जनस्तरको सम्बन्ध, आपसी सहयोग, व्यापार–व्यवसायको आदानप्रदान र पर्यटन प्रवद्र्धनलगायत विषयमा बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रसँग उहाँकै कार्यकक्षमा राससकर्मी नारायण ढुङ्गानाले गरेको कुराकानी(माघ १२)को सम्पादित अंशः

राससःनेपाल र बङ्गलादेशको सम्बन्ध कस्तो पाउनुभएको छ ?
डा मिश्रः बङ्गलादेश स्वतन्त्र देशको रुपमा अस्तित्वमा आएदेखि नै हार्दिक, सुमधुर र घनिष्ठ सम्बन्ध रहिआएको छ । हामी बङ्गलादेशलाई मान्यता दिने सातौँ राष्ट्र हौँ । सन् १९७१ डिसेम्बर १६ मा स्वतन्त्र बनेको बङ्गलादेशले सन् १९७२ मै नेपालसँग दौत्य सम्बन्ध कायम गरेको थियो । दुई देशका बीचमा एकै प्रकारको सांस्कृतिक व्यवहार एकै खालको र खानपान, रीतिरिवाज मिल्दोजुल्दो छ । नेपाली र बङ्गलादेशीको भाषाका कैयौँ शब्द पनि एउटै छ । यहाँको वातावरण र भौगोलिक क्षेत्र पनि हाम्रो देशको तराईजस्तो छ । यो झण्डै २७ किलोमिटरको दूरीको सीमा रहेको देश हो, भारतमा पर्ने सडक मार्ग ३७ किलोमिटरको दूरीको छ । हामीबीच सम्बन्ध नजीक हुँदाहुँदै पनि जति भ्रमणको आदानप्रदान हुनुपर्ने हो, त्यति हुन सकेको छैन । जनस्तरको जुन सम्बन्ध हुनुपर्ने हो, जुनस्तरमा व्यापार, व्यवसाय र अन्य आदानप्रदान हुनुपर्ने हो, त्यो भएको छैन ।

Advertisement

राससःभ्रमणको आदानप्रदान हुन नसक्नाको कारण ?

डा मिश्रः समस्यारहित सम्बन्ध रहेको दुई मुलुकको बीचमा आदानप्रदान किन कमजोर भइरहेको छ भन्नेमा म आउनेबित्तिकै ध्यानाकर्षण भएको थियो । कारण खोज्दै जाँदा पहिलो कुरा कनेक्टटिभिटीकै असहजता हो भन्ने मैले ठानेको छु । हामीसँग हवाई सम्पर्क त निरन्तर छ तर पर्याप्त छैन । पहिले तीन÷चार उडान थियो, केही समयमा एउटामा मात्रै सीमित भयो । अहिले बल्ल दैनिक दुई उडान छ । सत्र करोड जनसङ्ख्या भएको देशमा दुई उडानले कति जोड्न सक्छ ? सबै जना जहाजबाट जाने भन्ने कुरा सम्भव पनि हुन्न । त्यसैले सडकमार्ग उनीहरुका लागि महत्वपूर्ण हुन्छ तर उनीहरुलाई भारतीय भिसा चाहिन्छ । त्यसमा केही समस्याहरु छन् । उनीहरुलाई भारत घुम्न बहुप्रवेशाज्ञा मिल्छ तर भारतबाट नेपाल आउँदा भिसा रद्द गरिन्छ र अर्काे ट्रान्जिट भिसा लिनुपर्ने बाध्यता छ । त्यसकारण उनीहरु सीमामा पुगेर पनि फर्किएका उदाहरण छन् । दोस्रो समस्या चाहिँ बङ्गलादेश, नेपाल, भुटान र भारतसमेत बसेर २०१६ मा थिम्पुमा एउटा ‘मोटर भेइकल एग्रिमेन्ट’ गर्ने कुरा भएको थियो । यसमा भुटान पछि हटेकाले कार्यक्रम अघि बढ्न सकेको थिएन । अहिले भुटानबाहेकका तीन देश मिलेर गरौँ र गाडी चलाऔँ भन्ने भएको छ । त्यसले केही प्रगति हासिल गर्ने आशा छ । त्यसले नेपालमा पर्यटक भित्र्याउन असाध्यै सहज बनाउने छ । त्यो भयो भने बङ्गलादेशबाट नेपालमा जाने व्यक्तिको सङ्ख्या गुणत्मक रुपले वृद्धि हुने कुरामा दुई मत छैन । यससँगै अन्य कुरा पनि एकसाथ लैजानुपर्छ । अहिलेको सन्दर्भमा रेल र जलमार्गको विषय पनि महत्वपूर्ण छन् ।

राससः नेपाल–बङ्गलादेशलाई रेल र जलमार्गसँग जोड्न सकिने सम्भावना पनि छ ?

डा मिश्रः अवश्य छ । रेल कनेक्टिभिटीको सम्भावनालाई पनि अगाडि बढाउनुपर्छ । सम्भावना उजागर हुँदै पनि गएको छ । जोगबनीबाट विराटनगर जोड्न सकिन्छ, यो व्यवस्थापन गर्न मात्रै बाँकी हो । बङ्गलादेशको पञ्चगढबाट न्यू¬ जलपाइगुडी हुँदै हाम्रो काँकडभिट्टासम्म रेल जाँदैछ । त्यसमा जोड्न सकिन्छ । त्यस्ता अन्य ठाउँ प्नि छन्, जुन नेपालबाट नजीक छ । एउटै रेलबाट बङ्गलादेश प्रवेश गर्न सकिन्छ र मालसामान पनि लैजान सकिन्छ । त्यो ठाउँलाई जोड्ने विषयमा पनि छलफल चलिरहेको छ । सन्धिसम्झौता गरेर व्यावहारिकरुपमा कार्यान्वयन गर्न जरुरी हुन्छ । रेलवेबाहेक जल यातायात पनि सम्भावना छ । हाम्रो सबै नदी गङ्गामा मिल्छ । त्यो गङ्गा यही बङ्गलादेशको पद्मा नदी हुँदै आउँछ । भारतले गङ्गाबाट पद्मा हुँदै मङ्गला र चितगाउँ बन्दरगाह पुगेर व्यापार गरिरहेको छ । हामी पनि गङ्गामा जोडिनासाथ सहज भइहाल्यो । यसरी हवाई सम्पर्कमा पनि विराटनगर, भद्रपुरलगायत क्षेत्रीय हवाई सेवाको सञ्जाल बढाउनेतर्फ पनि हाम्रो जोड छ ।

राससः सम्पर्क सञ्जालको व्यावहारिक कार्यान्वयनमा यहाँको प्रयास के छ ?

डा मिश्रः हामी त्यसमा गम्भीरतापूर्वक लागेका छौँ । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्ने दिन जनवरी ७ मा अहिलेको रेलमन्त्री नै सहभागी हुनुहुन्थ्यो । उहाँले पनि नेपालमा रेल विभाग निर्देशक पठाउने प्रतिबद्धता जनाइसक्नुभएको छ । प्रगति होला भन्ने लागेको छ । पहल जारी छ ।

User Avatar
द टाइम्स अफ नेपाल / रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित पोस्टहरू

छुट्यो कि?