स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

नेपाल टेलिभिजन अङ्ग्रेजी च्यानल सञ्चालनमा ल्याइने

सेयर गर्नुहोस

२० माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यसै आर्थिक वर्षभित्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानलको शुभारम्भ गराइने घोषणा गर्नुभएको छ । सो टेलिभिजनको ३५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले राष्ट्रको छवि माथि उठ्ने नयाँ कामका रुपमा सो परियोजनालाई लिएर आगामी छ महिनाभित्र ‘एनटिभी वल्र्ड’ शुभारम्भको तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिनुभयो । उहाँले सोका लागि सरकारले बजेट र आवश्यक सहयोग गर्ने आश्वासन पनि दिनुभयो । सो टेलिभिजनका हाल पाँच च्यानल प्रसारण भइरहेका छन् ।

मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान र रेडियो नेपाल सरकारी सञ्चारमाध्यम नभई जनता र राज्यको माध्यम तथा सम्पत्ति भएको उल्लेख गर्दै मुलुकको आधिकारिक सूचना र भिडियोलाई विदेशीले हेर्नुपर्दा नेपाल टेलिभिजनबाट हेर्नुपर्ने गरी उक्त नयाँ च्यानलबाट हेर्ने गरी सङ्कल्प लिनु अत्यावश्यक भएको जनाउनुभयो ।

उहाँले भन्नुभयो, “यी संस्था जनता र राज्यका सम्पत्ति हुन् । यसलाई हेर्ने आँखा बदलिनुपर्छ । यही हाम्रा देशका केही धरोहरभित्र पर्छन् । घोषणा र तयारी गरेपछि सबै कुरा सम्भव छ । न्यायपूर्ण समाजको परिकल्पना वा समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न सम्भव छ ।” मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले भने जस्तै हरेक दिन नयाँ फड्को र नयाँ प्रगति हासिल गर्न कर्मचारी र पत्रकारलाई मौरी झैँ काम गर्न आग्रह गर्नुभयो । उहाँले नयाँ उत्साह र उमङ्गका साथ आफ्ना प्रभाव र पहुँच विस्तार गर्दै यही माघ १७ गते इटहरी च्यानलको शुभारम्भ भएकामा बधाई दिनुभयो ।

नेपाली इतिहासको यो पहिलो टेलिभिजन भएपछि अब जनता र दर्शकको छनोटमा पहिलो हुनु यसको चुनौती भएको उल्लेख गर्दै उहाँले यसपल्ट संस्थाले यस वर्षका लागि व्यापारिक कारोवारका घोषित लक्ष्य पूरा हुने दिशामा अग्रसर भएकामा व्यवस्थापनलाई बधाई दिनुभयो । “अब यो बाँच्ने भयो । हाम्रा संस्थाहरुको आर्थिक जीवन स्वस्थ्य नहुँदासम्म सुकेनासले समात्छ । टेलिभिजन आर्थिक सुकेनासबाट भने जोगियो । प्रविधिको रुपान्तरणसँगै पहुँचको विस्तारका लागि आफ्ना लगानीहरु केन्द्रित गर्न आवश्यक छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “अब मान्छेको मान जित्नुपर्छ ।

यसमा लोकसेवामा जाँच दिए जस्तो हुँदैन । उत्कृष्ट कार्यक्रम सञ्चालन गरेर दर्शकको मन जित्न सक्ने यसको क्षमता यसले विकास गर्नुपर्छ । दर्शकको मनोविज्ञानले के खोजेको छ, त्यसबारे अनुसन्धान हुन जरुरी छ । सरकार जोडिएका अधिकांश यस्ता संस्थाहरुमा मानवीय स्रोत व्यवस्थापनका चुनौतीको सामना गर्न आवश्यक छ ।” सो अवसरमा संस्थाका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पहुँच र विषयवस्तुमा सुधारका लागि यस वर्ष योजनाबद्ध काम भइरहेको जानकारी दिँदै प्रस्तुतिका शैली र विषयवस्तुको विविधीकरण गरिएको बताउनुभयो । उहाँले सञ्चारमाध्यमले समाजमा सकारात्मकताको सन्देशका साथ आलोचनात्मक दृष्टिकोण पस्कनुपर्ने विचार पनि राख्नुभयो ।

महाप्रबन्धक गोविन्द रोक्काले नेपाल टेलिभिजनले आफूलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्दै राज्यलाई सेवा दिइरहेको बताउनुभयो । सञ्चालक समितिका सदस्य टङ्क पन्तले नेपाल सरकारको सहयोगका कारण नेपाल टेलिभिजनले हरेक वर्ष नयाँ नयाँ विकास गर्न सकेको उल्लेख गर्दै पहुँच र विषयवस्तुमा अझै सुधार गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ, टेलिभिजन शाखाका अध्यक्ष निराजन खनालले मुलुककै अग्रणी टेलिभिजनले इटहरी प्रसारणको शुभारम्भसँगै आफूलाई पाँचौँ च्यानलमा विस्तार गरेकामा खुशी व्यक्त गर्नुभयो । एनटिभीको मोबाइल एप शुभारम्भ मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजन मोबाइल एपको शुभारम्भ गर्नुभयो । सो एपमा लाइभ टिभी, टिभी सो, भिडियो अन डिमान्ड र न्युज फिचर समावेश छन् । सो टेलिभिजनका हाल पाँच च्यानल हाई डिफिनिशन (एचडी) प्रविधिमा छन् ।

कार्यक्रममा संस्थामा २० र ३० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई दीर्घसेवा पदक र सेवानिवृत्त कर्मचारीलाई सम्मान तथा विभिन्न विधामा उत्कृष्ट पत्रकार तथा कर्मचारीलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट सार्वजनिक महत्वका सूचनादाता, विज्ञापनदाता, व्यापारिक कारोवारकर्ता र वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयीलाई पनि पुरस्कार प्रदान गरियो ।

सो अवसरमा टेलिभिजनको स्मारिका लोकार्पण गरिएको थियो । संस्थालाई प्रविधि रुपान्तरणमा अगुवाइ गर्ने इञ्जिनीयरिङ शाखा प्रमुख चिन्तामणि बराललाई पनि सम्मान गरियो । यसैगरी यस वर्षको उत्कृष्ट कर्मचारीका रुपमा समाचार निर्देशक राजु सिलवाललाई रु ५५ हजार राशिसहित पुरस्कृत गरियो । कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, सञ्चार मन्त्रालयका सचिव दीपक सुवेदी, संस्थाका पूर्वअध्यक्ष तथा महाप्रबन्धक र राष्ट्रिय सञ्चारमाध्यमका प्रमुखको उपस्थिति थियो । सो टेलिभिजनको स्थापना दिवसका दिन यही माघ १७ गते इटहरी प्रसारणको शुरुआत भएको थियो । विसं २०४१ माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -