स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

पुलको काम तत्काल शुरु गर्न मुख्यमन्त्रीको निर्देशन

सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट - The Times of Nepal
सेयर गर्नुहोस

११ माघ : जिल्लाको शिखर नगरपालिका–१० बानीडुग्रीसैनको सेती नदीमाथि निर्माण गरिने मोटर चल्ने पक्की पुलको काम तत्काल सञ्चालन गराउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्देशन दिनुभएको छ । पुल निर्माण शुरु गरिएको वर्षौ बितिसक्दा समेत उक्त पुलको काम पछिल्लो समय रोकिएका कारण मुख्यमन्त्री भट्टले तत्काल काम शुरु गराउन निर्देशन दिनुभएको हो ।

सडक डिभिजन कार्यालय दिपायल कुल्पतेका निमित्त प्रमुख वीरेन्द्र चन्दलाई आज मुख्यमन्त्री भट्टले मुख्यमन्त्री सम्पर्क कार्यालय दिपायल राजपुरमा बोलाउनु भई पुलको काम तत्काल शुरु गराउन निर्देशन दिनुभएको हो । मुख्यमन्त्री भट्टले पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले काम शुरु गर्न आनाकानी गरे कारवाहीका लागि प्रदेश मन्त्रालयमा सिफारिश गर्न समेत सडक डिभिजन कार्यालयका निमित्त प्रमुख चन्दलाई निर्देशन दिनुभएको छ ।

डिभिजन कार्यालयका निमित्त प्रमुख वीरेन्द्र चन्दले गलत लागत अनुमान तथा ठेकेदार कम्पनीको हेलचक्र्याइँका कारण पुल निर्माणमा समस्या भएको बताउनुभयो । जिल्लाको सातनाली–मेल्लेक–बझाङ सडकलाई के आइसिंह राजमार्गसँग जोड्न शिखर नगरपालिका–१० बानीडुग्रीसैनको सेती नदीमाथि पक्की पुल निर्माण गर्न २०७१ असार २० गते सम्झौता भएको थियो ।

सम्झौताअनुसार २०७४ असार २० गतेभित्र पुल निर्माण भइसक्नुपर्ने भए पनि पुलको निर्माण अहिलेसम्म जम्मा २० प्रतिशत मात्रै भएको छ । मूल्य अभिवृद्धि करसहित रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करीब ४०० मिटर लामो उक्त पक्की पुलका लागि डिभिजन सडक कार्यालय दिपायल कुलपातेले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

हालसम्म पुलका दायाँ र बायाँ खम्बा पनि उठाइएको छैन । पुल समयमै नबन्दा शिखर नगरपालिका–११ अझै सडक सञ्जालमा जोडिन सकेको छैन । पुल नभएकै कारण विसं २०४९ देखि निर्माण कार्य शुरु भएको सातनाली–मेल्लेक–बझाङ सडक पनि अलपत्रमा परेको छ ।

सडक डिभिजन कार्यालयका अनुसार पहिलोपटक ठेक्का सम्झौताको अवधि सकिएर २०७५ पुस मसान्तसम्मका लागि म्याद थपिएको थियो । पुनः म्याद थपिए पनि काम शुरु हुन सकेको छैन । यति हुँदा पनि ठेकेदार कम्पनीलाई कारवाही भने भएको छैन । पुल निर्माण कम्पनी पुष्प राजेन्द्र जेभीका सञ्चालक भीमबहादुर साउद डडेल्धुराको पर्शुराम नगरपालिकाका प्रमुख हुनुभएको छ । उहाँ नगर प्रमुख भएका कारण सम्बन्धित निकायले कानमा तेल हालेर बसेको स्थानीयवासीको आरोप छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -