स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

किन घाम लागे पनि चिसो बढ्दैछ

सेयर गर्नुहोस

१० माघ : काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ । एक सातादेखि दिनहँुजसो घाम लागे पनि खासगरी बिहान बेलुका बढी चिसो महसुस गरिएको छ ।

अहिले किन चिसो बढेको भनी राखिएको जिज्ञासामा मौसमविद् शान्ति कँडेलले कुनै पनि किसिमको मौसमी प्रणाली विकास नभए पनि यस्तो अवस्था अझै केही दिन जारी रहने बताउनुभयो । उहाँले चिसो बढे पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा नझर्ने र विस्तारै तापक्रम बढ्दै जाने बताउनुभयो ।

राजधानीसहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा चिसो महसुस गरिएको छ । तराईमा हुस्सु र कुहिरोले बिहान र साँझपख बढी चिसो हुने गरेको छ । अहिले तराई क्षेत्रमा कुहिरो लागेको छ, भने देशका पूर्व र मध्यका केही स्थानमा आंशिक बदली रहेको मौसमविद् कँडेलको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव आठ र अधिकतम तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

महाशाखाले तराईको हुस्सु÷शीतलहरसम्बन्धी आज बुलेटिन निकालेर सुदूरपश्चिम प्रदेशको तराई भूभागबाहेक बाँकी तराईका भूभागमा हुस्सु र कुहिरो लागेको जनाएको छ । अपराह्नपछि विस्तारै कुहिरो हटेर जानेछ । अबको केही दिन सामान्यतया मौसम सफा रहने जनाइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -