स्वागतम्,
Tuesday 16th April 2024   |   Switch to English
Times of Nepal

पर्यटनमा सहकार्य गर्दै पोखरा र बागलुङ

visit nepal 2020 - The Times Of Nepal
सेयर गर्नुहोस

 १० माघ : नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई आकर्षित गर्न यहाँका पर्यटन व्यवसायीले पर्यटनमैत्री वातावरणका लागि अभियान सञ्चालन गरेका छन् ।

अभियानअन्तर्गत पर्यटनमैत्री होटल तथा व्यवसाय बनाई भ्रमण वर्षमा पर्यटन गतिविधि बढाउन पर्यटनमा पोखरा र बागलुङमा सहकार्य थालिएको छ । बागलुङ पर्यटन विकास समित, बागलुङ उद्योग वाणिज्य सङ्घको पर्यटन समिति, होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ बागलुङको पहलमा पोखराका पर्यटन व्यवसायीसँग सहकार्य गर्न थालिएको छ ।

पर्यटन क्षेत्रमा सहकार्य गर्नका लागि बागलुङका पर्यटन व्यवसायी तीनदिने भ्रमणमा पोखरा पुगेका छन् । भ्रमणका क्रममा पृथ्वी होटल व्यवसायी सङ्घ, सिटी रेवन, टान, भिटोफ, नाट्टा, भ्रमण वर्ष २०२० का प्रतिनिधि, बागलुङ समाज पोखरा र होटल एशोसिएशनबीच पर्यटनमा छलफल, अनुभव आदान–प्रदान, छलफल तथा अन्तक्र्रिया गरिएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

छलफलका क्रममा पोखराका पर्यटन व्यवसायीले बागलुङसँग जोडेर पर्यटन व्यवसायमा सहकार्य, लगानी तथा अनुभव आदान–प्रदान गरी पर्यटन गतिविधि बढाउने प्रतिबद्धता जनाएका थिए । पर्यटन क्षेत्रको सबैभन्दा महत्पूर्ण मानिएको होटल व्यवसायलाई कसरी पर्यटनमैत्री बनाउन सकिन्छ भन्ने विषयमा व्यवसायीबीच अनुभव आदानप्रदानसमेत गरिएको हो ।

आगामी दिनमा बागलुङका पर्यटकीय गन्तव्यको जानकारी गराउने, पोखराको अध्ययन अवलोकन, पोखरामा आउने पर्यटकलाई कसरी बागलुङसम्म लैजाने र पर्यटकलाई आकर्षण गराउन प्रचार–प्रसारलगायतका विषयमा सहकार्य गर्ने विषयमा छलफल भएको खड्काले बताउनुभयो । पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई बागलुङ पु¥याउने र बागलुङमा भएका पर्यटन गतिविधिलाई पोखरासम्म ल्याउने विषयमा सहकार्य गर्ने गरी तयारी गरिएको होटल व्यवसायी महासङ्घ केन्द्रीय उपाध्यक्ष तथा पोखराका पर्यटन व्यवसायी केपी शर्माले बताउनुभयो । पर्यटन व्यवसायीबीच स्वच्छ प्रतिस्पर्धा गरी पर्यटन गतिविधि बढाउन पोखरासँग सहकार्य गर्न थालिएको हो ।

ठूला पर्यटन व्यवसायीको अनुभवले साना व्यवसायीलाई अगाडि बढ्न सहयोग पुग्ने आयोजकको लक्ष्य रहेको छ । पोखराका पर्यटन व्यवसायीको सहकार्यसँगै बागलुङमा पर्यटन गतिविधि बढ्ने पर्यटन व्यवसायीको अपेक्षा छ ।

पर्यटकलाई खुशी पार्ने भनेको होटलको सेवा भएका कारण होटल व्यवस्थापन, सरसफाइ, खानपान तथा सत्कारमा ध्यान पु¥याउने भएका कारण पोखरामा चलेका होटलको अवलोकनसमेत गरिएको होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेश संयोजक अर्जुन चोखालले बताउनुभयो ।

पोखराका व्यवसायी, फस्टाएका होटल तथा पर्यटकीयस्थलको अवलोकनबाट सिकेर बागलुङका होटललाई पर्यटकमैत्री बनाउँदा पर्यटकहरुको बसाइँ लम्ब्याउन सकिने पर्यटनविज्ञ वासु त्रिपाठीले बताउनुभयो । पोखरा आएका पर्यटकलाई आगामी दिनमा बागलुङका पर्यटकीयस्थलका बारेमा जानकारी गराएर पर्यटक पठाउने, प्रचारप्रसार गर्ने विषयमा सहकार्य गर्ने नाट्टा गण्डकी प्रदेशका पूर्वअध्यक्ष ओम पाण्डेले बताउनुभयो । सहकार्यका लागि बागलुङका होटल व्यवसायी, पर्यटन विकास समिति र उद्योग वाणिज्य सङ्घअन्तर्गतको पर्यटन समिति, पत्रकारलगायतका सरोकारवाला पोखरा पुगेका हुन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -