स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

नवलपुरमा जलयात्रासहितको धार्मिक पर्यटन

visit nepal 2020 - The Times Of Nepal
सेयर गर्नुहोस

 ८ माघ : सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि नवलपुरमा नयाँ पर्यटकीय गन्तव्यको खोजी गरिएको छ । यहाँको नयाँ पर्यटकीय सम्भावनाका रुपमा कालीगण्डकी नदीबाट नारायणी नदीमा जलयात्रासहितको धार्मिक पर्यटन रहेको छ ।

नवलपुरको बुलिङटार गाउँपालिका–६ मा रहेको ऐतिहासिक धार्मिक महत्व बोकेको घुमारीघाटदेखि विनयी त्रिवेणी गाउँपालिका–६ मा पर्ने गजेन्द्र मोक्षधाम (त्रिवेणी) लाई जलयात्रासहितको धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले बताउनुभयो ।

कालीगण्डकी नदी र नारायणी नदीमा जलयात्रासहितको भ्रमण योजना तयार पारेर अगाडि बढ्ने आलेले बताउनुभयो । भ्रमण वर्ष २०२० का अवसरमा नवलपुरको पर्यटन विकासका नयाँ गन्तव्यको खोजी भइरहेका बेला जलयात्रासहितको धार्मिक यात्रा बनाउन सरोकारवाला निकायहरुसँग छलफल गरिने आलेले बताउनुभयो । पर्यटन पत्रकार मञ्च नवलपरासीका पूर्वअध्यक्ष विद्रोही गिरीले त्रेता युगमा भगवान् श्रीकृष्णसँग जोडिएको घुमारीघाटदेखि गजेन्द्र मोक्षधामसँग जलयात्रासहितको धार्मिक पर्यटनको नयाँ गन्तव्य विकासका लागि सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

“नवलपुरमा जलमार्गसहितको धार्मिक पर्यटनको बलियो सम्भावना छ तर पनि त्यसतर्फ खासै ध्यान पु¥याउन सकिएको छैन”, गिरीले भन्नुभयो, “बुलिङको कामुधेनु घुमारी घाटदेखि देवघाट, मौलाकालिका हुँदै गजेन्द्र मोक्षधामसम्म कालीगण्डकी र नारायणी नदीमा जलयात्राको प्रशस्त सम्भावना छ ।”

जलयात्रामार्फत पर्यटकीय क्षेत्रको विकास गर्दा यसले नवलपुरको धार्मिक क्षेत्रलाई समेत जोड्न मद्दत पुग्ने उहाँले बताउनुभयो ।

कामुधेनु घुमारीघाट क्षेत्रबाट देवघाट करीब २० किलोमिटर र देवघाटबाट गजेन्द्र मोक्षधाम ६५ किलोमिटरको जलयात्राको दूरी हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले धार्मिक पर्यटन प्रवद्र्धनका लागि पनि घुमारीघाटदेखि देवघाट हुँदै गजेन्द्र मोक्षधामलाई जलयात्राले जोड्नुपर्ने बताउनुभयो ।

“कामुधेनु घुमारीघाटबाट पर्यटकलाई जलयात्रामार्फत देवघाट र यहाँबाट पुनः गजेन्द्र मोक्षधाम पु¥याउन सकिन्छ”, घिमिरेले भन्नुभयो, “यसले जलयात्रा गर्ने पर्यटकका साथै धार्मिक पर्यटकसमेत बढ्न सक्छन् ।” कामुधेनु घुमारीघाट क्षेत्रबाट जलयात्रामार्फत आएका पर्यटकलाई एक दिन देवघाटमा बास बस्ने व्यवस्था गरेर यहाँको भ्रमण गराउँदै त्रिवेणीसम्म पु¥याउनुपर्ने घिमिरेको भनाइ छ ।

देवघाटमा माघे सङ्क्रान्ति, साउने सोमबार, बाला चतुर्दशी तथा ग्रहण लाग्दा स्नान गरेमा मोक्ष प्राप्त हुने विश्वासका साथ स्वदेश तथा विदेशबाट तीर्थालु आउने गरेका छन् । कालीगण्डकी र त्रिशूली नदीको वेणी सङ्गम, सीता गुफा, धार्मिक पार्क, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, पशुपति नाथको झल्को दिने नर्मदेश्वर शिव मन्दिर यहाँका प्रमुख धार्मिक पर्यटकीय गन्तव्य हुन् ।

कालीगण्डकी र नारायणी नदीमा जलयात्रा गराइँदा नारायणी नदीमा घडियाल गोही, चितवन राष्ट्रिय निकुञ्जमा विश्वकै दुर्लभ एक सिङ्गे गैँडा, विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न सकिने गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले बताउनुभयो । हिन्दूहरुले पवित्र तीर्थस्थलको रुपमा मान्ने देवघाट धाम नवलपुर, तनहुँ र चितवनको सीमा क्षेत्रमा पर्दछ ।

देवघाट जानका लागि चितवनकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेकाले पनि जलयात्रामार्फत त्यस ठाउँमा पर्यटक पु¥याउन सकिएको खण्डमा नवलपुरमा पर्यटकको आगमन बढ्ने नगर प्रमुख पौडेलले बताउनुभयो । गजेन्द्र मोक्षधामलाई नेपालको हरिद्वारको रुपमा समेत लिइने गर्दछ ।

यहाँ नारायणी, तमसा र सोनभद्र नदीको सङ्गम भएकाले यस धामलाई त्रिवेणीको नामले समेत चिन्ने गरिन्छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ मा पर्ने यस धाममा माघे औँशी र चैत महिनामा गरी वर्षको दुईपटक मेलासमेत लाग्ने गर्दछ ।

गजेन्द्र मोक्षधाममा स्नान गरे पाप पखालिने विश्वास छ । सत्य युगमा नारायणी नदीमा पानी खान गएको गजेन्द्र (हात्ती)लाई गोहीले खान खोज्दा गोहीको मुखबाट गजेन्द्रलाई भगवान् विष्णुले बचाउनुभएको धार्मिक ग्रन्थमा उल्लेख छ । हात्तीलाई भगवान मोक्ष प्रदान गर्नुभएको कारण यस त्रिवेणी धामलाई गजेन्द्रमोक्ष धामका नामले समेत चिनिने गरिएको हो ।

कामुधेनु घुमारी घाट, देवघाट र त्रिवेणी यी तीनवटै क्षेत्र धार्मिकरुपमा अति महत्वपूर्ण मानिन्छन् । यी क्षेत्रलाई जोडेर जलयात्रासहितको धार्मिक पर्यटकीय मार्ग बनाउन सकिएको अवस्थामा स्वदेशी मात्रै नभई विदेशी पर्यटकसमेत आकर्षण गर्न सकिने जिल्ला समन्वय समिति नवलपुरका प्रमुख आलेले बताउनुभयो । यहाँका धार्मिक क्षेत्रलाई जल पर्यटनसँग जोड्न सकेको खण्डमा भ्रमण वर्ष सफल हुनेमा नवलपुरवासी विश्वस्त छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -