स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

‘तुलसीपुर मेट्रो कलेज’ उद्घाटन

सेयर गर्नुहोस

 ८ माघ : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बहुप्राविधिक कलेज सञ्चालनले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताउनुभएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज)को आज उद्घाटन गर्दै उहाँले मेट्रो कलेजलाई नमूना बनाउने तयारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले उद्घाटन गरेको त न्वारान गरेको मात्रै हो, यो शिक्षालयलाई हामीले नमूना बनाउने योजना बनाएका छौँ ।” त्यसका लागि प्रदेश नं ५ सरकारले यस वर्ष १० करोड सहयोग गर्ने उहाँको भनाइ थियो । मुख्यमन्त्री पोखरेलले अहिले जनशक्ति विदेश गइरहेको तर नेपालमा दक्ष जनशक्ति बाहिरबाट ल्याउनुपर्ने अवस्था छ भन्दै अब नेपालको जनशक्तिलाई नेपालमै दक्ष बनाउने कार्य यो शिक्षालयले गर्नुपर्छ भन्नुभयो ।

प्रदेश नं ५ मा सिमेन्ट उत्पादनको केन्द्र बन्ने र सोहीअनुसार प्रदेश सरकारले प्रक्रियालाई अघि बढाएको भए पनि सिमेन्टमा काम गर्न सक्ने दक्ष जनशक्ति नेपालमा नहुँदा बाहिरबाट ल्याउनुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो । त्यसैले सानातिना प्राविधिक सीपहरु पनि प्राविधिक शिक्षालयले दिनुपर्ने उहाँको धारणा थियो ।

तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको पशुपति मावि हरिपौराको जग्गामा उक्त शिक्षालय निर्माण गरिएको छ । हाल वन विज्ञान पढाइरहेको भए पनि भविष्यमा कृषि, पशु, होटल म्यानेजम्यान्टलगायतका विषय पठनपाठन गर्नेगरी तयारी थालेको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । अहिले वन विज्ञानमा ४० विद्यार्थी अध्ययन गरिरहेका छन् ।

दश वर्षभित्र पाँच हजार विद्यार्थी पढ्न सक्नेगरी पूर्वाधार निर्माण गर्न तयारी थालेको नगरप्रमुख पाण्डेको भनाइ थियो । त्यसका लागि रु ३० देखि ५० करोडसम्म लगानी लाग्ने र सोही स्थानलाई प्राविधिक शिक्षालयको केन्द्रका रूपमा विकास गर्न विज्ञ टोलीलाई जिम्मा दिएको नगरप्रमुख पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रियसभा सदस्य कोमल ओली, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्य, नेकपाका नेता टोपेन्द्र केसी, समाजवादी पार्टीका केन्द्रीय सदस्य हरि रिजाल, तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विश्वकर्मालगायतले बोल्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -