प्रदेश नं १ मा सस्तोमा खाना खुवाउनेको लहर, इनरुवामा निःशुल्क खाना खुवाउने अभियान शुरु

प्रदेश नं १ मा सस्तोमा खाना खुवाउनेको लहर, इनरुवामा निःशुल्क खाना खुवाउने अभियान शुरु


 २ माघ : प्रदेश १ मा सस्तोमा खाना खुवाउनेको लहर चलेको बेला सुनसरी सदरमुकाम इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ ।

इनरुवा नगरवासीको संयुक्त आयोजनामा इनरुवा–४ मा रहेको बसचोकमा निःशुल्क खाना खुवाउने अभियान शुरु भएको हो । पूर्वका विभिन्न शहर र बजारमा गरीब, दलित र विपन्न समुदायलाई लक्षित गरी एकपछि अर्को स्थानमा सस्तो दरमा खाना खुवाउने होडबाजी झैँ चल्दा सुनसरीको इनरुवामा भने स्थानीयवासीले बुधबारबाट निःशुल्क खाना खुवाउने अभियान चलाएका हुन् ।

Advertisement

अभियानका लागि सत्य यादवको संयोजकत्वमा स्थानीय समाजसेवी सम्मिलित १० सदस्यीय समिति गठन गरिएको छ । इनरुवा बसचोकमा शुरु गरिएको निःशुल्क भरपेट खाना कार्यक्रम तत्काल रु एक लाखबाट थालिएको आयोजक समितिका संयोजक यादवले बताउनुभयो ।

गरीब, असहाय, विपन्न र बेघर भई सडकमा भौँतारिएर दिन बिताइरहेका समुदायलाई लक्षित गरी निःशुल्क खानपिनको अभियान शुरु गरिएको हो । प्रारम्भिक तवरमा तीन दिनका लागि भनि अघि सारिएको अभियानमा सहयोगी दाताको सङ्ख्या थपिन थालेकाले आफूहरुलाई हौसला प्रदान भएको अभियानका संयोजक यादवको भनाइ छ ।

निःशुल्क खाना कार्यक्रममा पुग्ने जोकोहीले दाल, भात, अचार, पापड खान पाउनुका साथै निःशुल्क पानीसमेत पिउन पाउने आयोजकले जनाएको छ । इनरुवामा अभियानको उद्घाटन उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहले गर्नुभयो । केही दिन अगाडि मोरङको विराटनगरमा रु १० मा पेटभरी खाना खुवाउन थालिएको थियो । विराटनगर बजारमा रहेको कालीमन्दिर अगाडिबाट शुरु तिरुपति क्याटरिङ सेवामार्फत रु १० मा खाना खुवाउन थालिएको छ ।

विराटनगरबाट शुरु भएको यो अभियान अहिले १ नम्बर प्रदेशमा लहरको रूपमा चलेको छ । विराटनगरमा बास्मती चामलको भात र झोल भएको तरकारी खानामा राख्ने गरिएको छ । एक मानिसले खाना खाँदा रु १० तिर्नुपर्ने र घरका लागि खाना लैजाँदा रु २० तिर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी भिखारी वा गरीब मानिसलाई खाना खुवाउन चाहेमा जनही रु ३० तिर्नुपर्ने नियम बनाइएको छ । दमकको मुख्य चोकमा रहेको गोरखा डिपार्टमेन्ट स्टोर अगाडिसमेत मासुभात १० रुपैयाँमा र सादा खाना ५ रुपैयाँमा खुवाउन शुरु भएको छ । भद्रपुर र विर्तामोडमासमेत सस्तो खाना खुवाउने अभियान शुरु भएको छ । कतै १० रुपैयाँमा त कतै ५ रुपैयाँमा खाना खुवाउने अभियान शुरु भएको बेला सुनसरी सदरमुकाम इनरुवामा भने निःशुल्क खाना खुवाउने अभियान शुरु भएको हो ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?