स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

साग बेच्न पाएर किसान दंग, गुन्द्रुक बेच्दै सहकारी

तरकारी खेती, Vegetable farming, - The Times Of Nepa
सेयर गर्नुहोस

२१ पुस : करेसाबारीमा उत्पादन भएको साग बेचेर नाग्रेगगर्चेका नानीमाया लामाले रु आठ हजार आम्दानी गर्नुभयो । गाउँमा नै सञ्चालनमा आएको सिर्जनशील कृषि सहकारी संस्थाले गुन्द्रुक बनाएर बेच्न थालेपछि सो गाउँका किसानको आम्दानी समेत वृद्धि भएको छ ।

करिब ४०० किलोभन्दा बढी साग बेचेर रु आठ हजारभन्दा बढी आम्दानी गरेको उहाँले जानकारी दिनुभयो । उहाँले मात्रै होइन, अहिले सो गाउँका सबै किसानले घर वरिपरिको करेसाबारी र खेत बारीमा साग रोपेर आम्दनी गर्न थालेका छन् ।

खेरा जाने गरेको साग बेचेर पैसा आउने भएपछि गाउँले सबै साग खेतीतर्फ आकर्षित भएको स्थानीय बासिन्दा राजीव लामाले बताउनुभयो । उहाँका अनुसार अहिले त्यहाँका गाउँलेले प्रतिघर परिवारले कम्तीमा तीन÷चार सय किलो साग बेच्ने गरेको छन् । जिल्लाको कोसीपारिस्थित चौरीदेउराली गाउँपालिका–२ नाग्रेगगर्चेमा रहेको सिर्जनशील कृषि सहकारी संस्थाले आम्दानीमा वृद्धि र शेयर सदस्यको आर्थिक उपार्जनमा सहयोग पु¥याउने ध्ययले सागबाट गुन्द्रुक बनाई बिक्री गर्न थालेको शुरुआत गरेको हो ।

साग सङ्कलन गरी गुन्द्रुक बनाउने कामलाई तीव्रता दिएको संस्थाका अध्यक्ष ननिता लामाले जानकारी दिनुभयो । संस्थाले गाउँमा तरकारी सङ्कलन केन्द्र स्थापना गरी दैनिकरुपमा साग सङ्कलन गरेको छ । सस्थाले सागको प्रतिकिलो रु २० को दरले खरिद गर्ने गरेको छ । १३० जना शेयर सदस्य आबद्ध रहेको संस्थाले छोटो समयमा नै दश लाख पूँजी जम्मा गरिसकेको छ । शेयर सदस्यले उत्पादन गरेको तरकारीलाई सङ्कलन गरी खरिद गर्न थालेसँगै गाउँमा सागखेती गर्नेको सङ्ख्या बढ्न थालेको छ । माया तामाङ र प्रिती तामाङलाई महिनाको दश हजार दिने गरी सस्थाले रोजगारी समेत दिएको छ ।

उहाँहरुको काम साग सङ्कलन, केलाउने, पखाल्ने, गुन्द्रुक बनाउने, सुकाउने र प्याकिङ गर्ने रहेको अध्यक्ष लामाले बताउनुभयो । स्थानीय शशी तामाङले काठमाडौँमा होटलमा लागि रु एक लाखको गुद्रुक माग गरेपछि गुन्द्रुक बनाउने काम अहिले धमाधम जारी रहेको छ ।

अध्यक्ष लामाका अनुसार सागको गुन्द्रुकसँगै फर्सी, स्कुस र मुलाको सुकुटी बनाउने तयारी अगाडि बढेको छ । उत्पादन सबै खरिद गर्ने सम्झौता भइसकेकाले कुनै समस्या नरहेको संस्थाले जनाएको छ । यससँगै सहकारीले संस्थामा आबद्ध किसानका लागि आवश्यक मल, बीउ सुपथ मूल्यमा बिक्री गर्ने र बचत तथा ऋणलाई पनि सँगसँगै लाने गरी कयौँ योजना अघि सारेको जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -