स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

कर्णालीमा भ्रमण वर्ष २०२० को तयारी पूरा

province6, Karnali Pradesh, hot news, trending news lestest,news
सेयर गर्नुहोस

 १५ पुस : कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बुधबार अर्थात् जनवरी १ का दिन प्रदेश राजधानीको पर्यटकीयस्थल बुलबुले उद्यानबाट भ्रमण वर्षको शुभारम्भ गर्ने जनाएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णप्रसाद आचार्यले बिहान ११ बजे वीरेन्द्रचोक नजिकको पिपलचौताराबाट विभिन्न समुदायका झाँकीसहितको ¥याली मुख्य बजारक्षेत्र परिक्रमा गर्दै मङ्गलगढीचोक हुँदै बुलबुले उद्यानमा सभामा परिणत हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार १० वटै जिल्लाको सांस्कृतिक पहिचान झल्किने प्रस्तुतिका साथै राउटे समुदायको नृत्य पनि देखाइनेछ । मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाद्वारा संयुक्तरूपमा आयोजित कर्णाली भ्रमण वर्ष २०२० को शुभारम्भ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्ने कार्यक्रम छ । बुलबुले उद्यानमा प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरुका पोष्टर, तस्वीर प्रदर्शनीका साथै प्रदेशको संस्कृति झल्किने झाँकीसमेत प्रस्तुत गरिनेछ । उक्त कार्यक्रममा भ्रमण वर्षलाई लक्षित गरी मन्त्रालयले बनाएको लोगो र नारालाई सार्वजनिक गरिनेछ ।

त्यस्तै, भर्खरै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगितामा कर्णाली प्रदेशका पदक विजेता खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्नेछ । सुर्खेत–काठमाडौँ हवाईसेवा सञ्चालन गर्ने बुद्ध एयरलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

वर्षौँदेखि अवरुद्ध सुर्खेत–काठमाडौँ उडान प्रदेश सरकारको आग्रहमा बुद्ध एयरले शुरु गरेको थियो । प्रदेश सरकारले जनवरी १ का दिन कर्णाली आउने पर्यटकलाई स्वागत गर्ने भएको छ । सचिव आचार्यले सुर्खेत भित्रिने पर्यटकलाई सम्मान गरेर ‘कर्णाली पर्यटकको स्वागत सत्कार गर्न आतुर छ’ भन्ने सन्देश दिन खोजिएको बताउनुभयो । “पर्यटक भित्र्याउन सरकारका साथै निजी क्षेत्रको तत्परता र सहयोग उत्तिकै रहन्छ”, उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रकै विकास होस् भनेर प्रदेश सरकारले पर्यटन बोर्ड गठन गरेको छ, र व्यवस्थित विकासका लागि गुरुयोजना पनि बनाएको छ, गुरुयोजना पनि छिट्टै सार्वजनिक गरिँदैछ ।”

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले भ्रमण वर्षलाई सबैले साझा अभियानका रूपमा लिनुपर्ने बताउनुभयो । प्रदेशका १० वटै जिल्ला समन्वय समिति, स्थानीय तहले भव्यताका साथ मनाउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

पर्यटकको सङ्ख्या बढ्दा त्यसको लाभ निजी क्षेत्रले नै लिने भन्दै उहाँले आतिथ्य सत्कार, छुट तथा सहुलियतका प्याकेज ल्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

“सरकारले आवश्यक पर्यटनमैत्री नीति, कानून बनाउनुका साथै पूर्वाधारको विकास गर्ने हो, बाँकी पर्यटन प्रवद्र्धनको काम निजी क्षेत्रले गर्नुपर्छ”, उहाँले भन्नुभयो । प्रदेश सरकारले पर्यटकीयस्थलसम्म पुग्ने सडक निर्माण तथा स्तरोन्नति, पदमार्गको खोजी, घरबास व्यवस्थापन, प्रवद्र्धनलगायतका योजनालाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -