स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

भ्रमण वर्ष : खप्तड, बडिकेदार र हुड्के

visit nepal 2020 - The Times Of Nepal
सेयर गर्नुहोस

 ११ पुस : नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न जिल्लामा तीव्ररूपमा तयारी सुरुआत गरिएको छ । भ्रमण वर्ष आउन केही दिन बाँकी रहँदा यहाँको दिपायल सिलगढी नगरपालिकासहित अन्य आठै स्थानीय तहले भव्यरूपमा उद्घाटन गर्नेगरी आ–आफ्नो तयारी तीव्ररूपमा गरिरहेका छन् ।

यहाँका स्थानीय तहले आ–आफ्नो क्षेत्रमा भएका पुराना कला संस्कृतिको प्रचारप्रसार गर्न अभियान नै सञ्चालन गरेका छन् ।

भ्रमण वर्षको दिन यहाँको दिपायल सिलगढी नगरपालिकाले शिखर नगरपालिकाको गहनानबाट दिपायल सिलगढी नगरपालिका नारिदाङसम्म जलयात्रा (¥याफ्टिङ) को आयोजन हुने छ । भ्रमण वर्षमा आएका पहुनालाई जलयात्रा गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त जलयात्राको आयोजना गरिन लागेको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भ्रमण वर्षमा आउने पाहुनालाई रमाइलो गराउन हामी जलयात्रा गराउने तयारीमा छौँ, जसका लागि आवश्यक तयारी पूरा हुँदैछ ।” त्यस्तै नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन दिवसका लागि विभिन्न समन्वय समिति÷उपसमिति गठन गरिएको छ ।

उक्त गठित समितिले सांस्कृतिक झाँकी तथा ¥याली प्रदर्शन गर्ने छन् । भ्रमण वर्ष मनाउन गठित मूल आयोजक समितिले उद्घाटनका क्रममा जिल्ला सदरमुकाम सिलगढीको इन्द्रचोकदेखि पिपल्ला, दिपायल तथा राजपुरलगायतका स्थानबाट कलशसहितका शोभा ¥याली निकाल्ने कार्यक्रम रहेको जनाइएको छ ।

उक्त समितिमा नेपाल प्रहरी, समन्वय समिति, प्रचारप्रसार उपसमिति, धार्मिक तथा सांस्कृतिक उपसमिति, डोटी उद्योग वाणिज्य सङ्घ, नेपाल चेम्बर अफ कमर्श, होटल व्यवसायी सङ्घ सदस्य रहेका छन् । त्यस्तै जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख, सरकारी अधिकारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, सङ्गठित सङ्घसंस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा क्लब आदिको सहभागिता रहने जनाइएको छ ।

स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, स्थानीय कलाकारको प्रस्तुतिलगायत सांस्कृतिक कार्यक्रम समावेश गरिने दिपायल सिलगढी नगरपालिकाले जनाएको छ । त्यस्तै एक निकाय एक अभियान सञ्चालन गर्न सबै सरकारी, गैरसरकारी, निजीक्षेत्रलगायतका सरोकारवालाहरूलाई आह्वान गर्ने, जिल्ला सम्पूर्ण सरकारी कार्यालयलाई अनिवार्यरूपमा गेटमा कलश राख्न अनुरोध गर्नेलगायतको निर्णय भएको जनाइएको छ । त्यसैगरी भ्रमण वर्ष सफल पार्न जिल्लामा पर्यटन व्यवसायी तथा होटल व्यवसायी पनि आफ्नो क्षेत्रबाट सक्रिय भएका छन् । यहाँका निजी क्षेत्रले आ–आफ्नो क्षेत्रबाट प्रचार–प्रसारका काम शुरु गर्न थालेका छन् ।

अहिले जिल्लामा रहेका होटल व्यवसायीले आफ्नो होटल तथा रेष्टुराँको सरसफाइदेखि नयाँ भौतिक संरचना निर्माण गर्न जुटेका छन् । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा पर्यटक भित्र्याउनका लागि सम्पूर्ण सडकको स्तरोन्नति गरिन थालिएको छ ।

सिलगढीदेखि झिग्रानासम्मको सडक कालोपत्रको काम तीव्रगतिमा जारी रहेको छ । भ्रमण वर्षमा आउने पर्यटक तथा पाहुनालाई गुणस्तरीय बास व्यवस्थापन गर्नका लागि होटल तथा रेष्टुराँ व्यवसायी रातदिन खटेर लाग्न थालेको होटल व्यवसायी सङ्घ डोटीका अध्यक्ष राजेन्द्रविक्रम शाहीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भ्रमण वर्ष मनाउन आउने पाहुनालाई सुविधा दिन हामी कुनै कसर बाँकी राख्ने छैनौँ, सुविधाका लागि सम्पूर्ण तयारी गर्दैछौँ ।” त्यस्तै यहाँका पुराना कला–संस्कृतिको प्रदर्शनको पूर्वअध्ययन तथा मठमन्दिरमा सरसफाइ कार्यक्रम पनि शुरु गरिन थालिएको छ ।

जिल्लामा पर्यटक आकर्षित गराउने स्थानमा खप्तड, शैलेश्वरी मन्दिर, डोटेली राजाको दरबार, निरौली दरबार, बडीकेदार मन्दिर रहेका छन् भने यहाँको कला–संस्कृतिमा हुड्के, छलिया, भुवाँनाच, डेउडालगायतका रहेको शैलेश्वरी मन्दिरका पुजारी प्रेमशङ्कर भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीसँग असङ्ख्य कला–संस्कृति छ, हामीले ती क्षेत्रको मात्रै प्रचारप्रसार गर्नसके पर्यटक जति पनि भित्र्ययाउन सक्छौँ ।” बडीकेदार र शैलेश्वरी मन्दिरको दर्शन तथा पूजा गरेमा चिताएको वर मिल्छ भन्ने मान्यताअनुसार दैनिक सयौँ भक्तजन आउने गरेको समेत पुजारी भट्ट बताउनुहुन्छ ।

त्यस्तै जिल्लाको निरौलीमा रहेको सयौँ वर्ष पुरानो राजाको दरबार अवलोकन गर्न पनि पर्यटक आउने गरेका गरेका छन् । राजा निरैपाल मल्लको पालामा मासको गारोबाट उक्त दरबार निर्माण गरिएको स्थानीयवासी बताउँछन् । प्रदेश सरकारले भ्रमण वर्षका लागि लक्षित गरी कुनै कार्यक्रम यहाँ तय नगरे पनि निजी क्षेत्रका व्यापारी भने आफ्नै लगानीमा भ्रमण वर्ष सफल पार्न अग्रसर रहेको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले कार्यक्रम तय गरेन भनेर चुप लाग्नुभन्दा हामीले आफ्नो क्षेत्रबाट के गर्न सक्छौँ भनेर सबैले लाग्नुपर्ने अवस्था छ, हामी आफ्नै लगानीमा भ्रमण वर्ष सफल पारेरै छोड्छौँ ।” त्यस्तै होटल व्यवसायी तथा उद्योग वाणिज्य सङ्घले जिल्लामा आउने पाहुनाको स्वागतका लागि विभिन्न क्षेत्र र ठाउँमा सूचना पाटीलगायतका सामग्री पनि राख्ने तयारी गरेको छ ।

त्यस्तै पर्यटन व्यवसायीले पनि सुदूरपश्चिमका प्रमुख पर्यटकीयस्थलको बारेमा निर्माण गरिएका प्रचार सामग्री प्रदर्शन गर्ने तथा प्रचारप्रसार गर्ने जिम्मेवारी पाएको छ । डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले भन्नुभयो, “हामी सबै व्यवसायी नेपाल भ्रमण वर्ष सफल बनाउन लागि परेका छौँ, प्रदेश सरकारले पनि सहयोग गर्नु जरुरी भएको छ ।”

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -