स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

उखु किसानद्वारा आन्दोलन शुरु

सेयर गर्नुहोस

१० पुस : हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरू यस वर्ष पनि आन्दोलनको घोषणा गरेका छन् ।

अघिल्लो वर्षको रकमसमेत नपाएका किसान यस वर्ष पनि चिनी उद्योग समयमै सञ्चालनमा नआएकै कारण हरेक वर्षजस्तै अहिले पनि आन्दोलनको तयारीमा जुटेका छन् । पश्चिम नवलपरासीमा लुम्बिनी चिनी उद्योग, वाग्मती चिनी उद्योग, इन्दिरा सुगर मिल्स र मोहिनी चिनी उद्योग गरी चार ठूला उद्योग रहेका छन् ।

ती उद्योगबाट किसानले अघिल्लो वर्षको गरी करिब रु ५० करोडभन्दा बढी रकम लिन बाँकी छ । तर चिनी उद्योगले रकम दिन विभिन्न बाहना बनाउँदै आएका छन् । अघिल्लो वर्षको भुक्तानी शुरु गर्नुपर्ने र शुरुमै मूल्य निर्धारण गरी तत्काल सबै चिनी उद्योग सञ्चालनमा आउनुपर्ने उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादव बताउनुहुन्छ ।

चिनी उद्योग सञ्चालकले भने थोरै थोरै रकम भुक्तानी गरी यस वर्ष पनि उधारोमा उखु लिन दाउमा देखिन्छन् । किसानले भुक्तानी शुरु गरेर मात्र चिनी मिल सञ्चालन गर्नुपर्ने माग राख्दै चिनी उद्योगमा धर्ना दिएर आन्दोलनको शुरुआत गरेका छन् । उद्योगमा रहेका चिनी बिक्री नभएकाले रकम भुक्तानी गर्न नसकिएको भन्दै उद्योग सञ्चालक आलटाल गर्दै आएको पाइन्छ ।

इन्दिरा सुगर मिलका मालिक राकेश अग्रवालले किसानको करोडौँ रकम तिर्न बाँकी छ । उद्योगमा रहेको करोडौँ मूल्य बराबरको चिनी र मोलासिस बिक्री भएको छैन । बिक्री भएपछि सबै रकम भुक्तानी दिने उहाँले बताउनुभयो । पुरानो भुक्तानी समस्या झेल्दै आएका किसान यस वर्ष पनि खेतमा उखु तयार भइसक्दासमेत चिनी उद्योग सञ्चालनमा नआएपछि किसान दोहोरो मारमा परेका उखु कृषक समिति (तदर्थ) प्रवक्ता धीरज त्रिपाठी बताउनुहुन्छ ।

गत वर्ष उखुको क्रसिङ यामभन्दा दुई महिनापछि उद्योग सञ्चालनमा आएका कारण करोडाँै मूल्य बराबरको उखुखेतमा सुकेर समस्यामा परेका उखु किसानलाई यस वर्ष पनि उही समस्या आउने निश्चित जस्तै छ । पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकममध्ये अहिलेसम्म पनि करिब रु ५० करोड भुक्तानी पाएका छैनन् ।

चिनी उद्योगलाई उधारोमा दिएको उखुको भुक्तानी नपाएका किसान यस यस वर्ष पनि समयमै उखु मिल सञ्चालन नहुँदा मर्कामा परेका छन् । पश्चिम नवलपरासीको सुस्ता प्रतापपुर र सरावल गाउँपालिकाको अधिकांश क्षेत्रमा उखुखेती गरिन्छ ।

पश्चिम नवलपरासीमा वार्षिक करिब १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुन्छ । जिल्लामा झण्डै १० हजार परिवार उखुखेतीमा संलग्न छन् । विगत वर्षदेखि जिल्लामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा उखुखेती हुँदै आएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -