स्वागतम्,
Tuesday 16th April 2024   |   Switch to English
Times of Nepal

स्वच्छ र गुणस्तरीय खानेपानीमा सबै नेपालीको पहुँच सुनिश्चित हुनुपर्ने

सेयर गर्नुहोस

९ पुस  : सांसदहरुले स्वच्छ र गुणस्तरीय खानेपानीमा सबै नेपालीको पहुँच सुनिश्चित् हुनुपर्नेमा जोड दिनुभएको छ । ‘खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा उहाँहरुले खानेपानीको पहुँच विस्तारसँगै गुणस्तरको कुरा समेट्नुपर्ने बताउनुभयो । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले खानेपानीमा सबै नागरिकमा समान विस्तार गर्न मन्त्रालय लागिपरेको बताउनुभयो ।

फोहरमैला व्यवस्थापनका विषयमा मानव मलमूत्रको भूमिगत र अरु फोहर सतही व्यवस्थापन गरिँदै जाने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “मन्त्रालयको क्षमतानुसार एकै पटक हामी सबै फोहर भूमिगत व्यवस्थापन गर्न सकिहाल्ने अवस्थामा छैनौँ ।”

मन्त्रालयका सचिव माधव बेल्वासेले विधेयकमा ‘गुणस्तरीय’ शब्द राखिएकाले त्यसभित्रै सुरक्षित खानेपानीको अवधारणासमेत समावेश हुने बताउनुभयो । सुरक्षित शब्दले पानीमा ‘ब्याक्टेरिया’ नभएको भन्ने अर्थ दिने भए पनि गुणस्तरीय भन्नाले पानीमा हुनुपर्ने आवश्यक तत्व रहेको भन्ने बुझिन्छ ।

विधेयकले खानेपानीको पहुँच विस्तारसँगै गुणस्तरको सुनिश्चित गर्ने उहाँको भनाइ थियो । समितिका सभापति कल्याणीकुमारी खड्काले खानेपानी व्यक्ति, परिवार र स्थानअनुसार फरक परिमाणमा आवश्यक पर्नसक्ने बताउनुभयो ।

समितिका सदस्य जीवनराम श्रेष्ठले सार्वजनिक स्थानमा जो कोहीले धारा निर्माण गर्न सक्ने भए पनि त्यसको जिम्मेवारी सरकारको हुनुपर्ने बताउनुभयो । समितिका सदस्य बिनाकुमारी श्रेष्ठले खानेपानीमा सबैको सहज र सुलभ पहुँच विस्तार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -