स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

फैलिँदै वे ग्रुपको सफाइ अभियान

सफाइ अभियान
सेयर गर्नुहोस

७ पुस : वे ग्रुप चितवन र आसपासका क्षेत्रका लागि परिचित नाम हो । चितवनमा सरसफाइको पर्यायवाची नाम नै भएको छ वे ग्रुप । विसं २०७३ जेठ २४ देखि यस ग्रुपले सरसफाइ अभियानमा थालेको हो ।

नौ जनाबाट शुरु भएको अभियानमा अहिले २०० भन्दा बढी युवा जोडिएका छन् । मन्दिरको प्रवेशद्वारमा देखिएको फोहर उठाएर शुरु गरेको अभियानले अहिले भरतपुर मात्रै नभएर चितवनभरि नै सरसफाइका क्रियाकलाप अगाडि बढाएको छ ।

वे ग्रुपका संयोजक भोजनारायण कँडेलले मन्दिरमा नियमित जाने क्रममा द्वार अगाडि देखेको फोहरले आफूहरुलाई अभियान शुरु गर्न सोच उब्जिएको बताए । “हामी नियमित रुपमा मन्दिरमा जाने गरेका थियौँ,” कँडेलले भने – “घरमा होस् या मन्दिरमा नै किन नहोस्, भित्रबाट बढार्दै आएर जम्मा भएको फोहर अगाडि थुपार्ने चलन थियो ।”

यो समूहले सरसफाइ आफ्नै ठाउँबाट गर्नुपर्छ भनेर धारापानीमा रहेको शिवालय मन्दिर परिसरबाट सरसफाइ अभियान शुरु गरेको हो । कँडेलका अनुसार अभियानको शुरुआती दिनमा जोडिन नपाएको गुनासो धेरैबाट आएपछि आफूहरुसँग आउने सबैलाई समेट्दै कार्यक्षेत्रसमेत विस्तार गर्दै लगिएको छ ।

पछिल्लो समय वे ग्रुपको सरसफाइ अभियानसँग भरतपुर महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, उद्योग वाणिज्य सङ्घ चितवन, वेटर चितवन, हेल्प फर हेप्पीनेश, टोल विकास संस्थालगायत विभिन्न सामाजिक सङ्घसंस्था आवद्ध भएका छन् ।

भरतपुर महानगरपालिकाले केही शृङ्खलामा अभियानसँग हातेमालो गरेको भए पनि पछिल्लो समय चासो नदिएको ग्रुपको गुनासो छ । ग्रुपले अभियान शुरु गरेपछि अहिले भरतपुर बजार क्षेत्रमा पहिलेको जस्तो फोहरका डङ्गुर देखिन छाडेको छ ।

गुट्कामुक्त अभियान चितवनलाई गुट्कामुक्त बनाउन ग्रुपले २०७४ पुसमा अभियान नै थालेको थियो । यस अभियानमा चितवनका स्थानीय तह, समाजिक सङ्घसंस्था, शैक्षिक संस्था, स्थानीय प्रशासन सबैले साथ दिने भन्दै हस्ताक्षर समेत गरेका थिए । केही समय प्रभावकारी बनेको गुट्कामुक्त अभियान अहिले आएर सरोकारवालाको बेवास्ताका कारण कार्यान्वयन मै जान सकेन ।

खासगरी भरतपुर महानगरपालिकाको इच्छाशक्ति नहुँदा अभियानले मूर्तरुप पाउन नसकेको ग्रुपको ठम्याइ छ । आफैंले हस्ताक्षर गरी प्रतिवद्धता जनाएको भए पनि स्थानीय तहले बेवास्ता गरेका संयोजक कँडेलले बताए । भरतपुर महानगरपालिकाले नगरसभाबाट पारित गरेर कार्यान्वयन गर्ने आश्वासन नै दिएको थियो तर, नगरसभामा गुट्कामुक्त अभियानको प्रस्ताव नै लगिएन ।

“कार्यान्वयन गर्ने तहमा रहेका मान्छेले चासो नदिएपछि अभियान प्रभावकारी हुन सकेन,” संयोजक कँडेलले भने – “अहिले हरेक चोक र गल्लीमा गुट्काका खोस्टाहरुले जिस्काइरहेको अनुभूति हुन्छ ।” ग्रुपमा आवद्ध व्यक्तिहरुले मात्रै सरसफाइ गरेर नहुने अनुभव सङ्गालेका कँडेलले स्थानीय बासिन्दा तथा स्थानीय सरकारको साथ र सहयोग अत्यावश्यक भएको बताए ।

जथाभावी फालिने फोहर जम्मा गर्न ग्रुपले डस्टबिन वितरणलाई समेत प्रभावकारी रुपमा अगाडि सारेको छ । ग्रुपको अगुवाइमा अहिलेसम्म चितवनमा एक हजारभन्दा बढी डस्टबिन वितरण भइसकेका छन् । सार्वजनिक स्थानका साथै टोलमा रहेका बिजुलीका खम्बाहरुमुनि डस्टबिन राखिएका छन् । सार्वजनिक सवारी साधनबाट जथाभावी फोहर विसर्जन गर्ने प्रवृत्ति रोक्न सवारी साधनमा समेत डस्टबिन राख्न थालिएको छ ।

शुरुमा स्थानीय मार्गमा चल्ने सार्वजनिक सवारी साधनमा डस्टबिन राखेर परीक्षण गरिएको थियो । सार्वजनिक बसमा सवार यात्रुले पानीका बोतल तथा प्लाष्टिक जथाभावी फालिदिने गरेका कारण यस्तो कदम चालिएको हो । उच्च घरानाबाट असहयोग करीब साढे तीन वर्ष अगाडि शुरु भएको अभियानमा धेरै भनाइहरु सुन्नु परेको ग्रुपमा आबद्ध अभियानकर्मीहरु बताउँछन् ।

सार्वजनिक स्थानको फोहर सङ्कलन गरेर हिँड्दा शुरुआती अवस्थामा आफूहरुलाई नगरपालिकाको कर्मचारी समेत ठान्ने गरेको अनुभव उनीहरुसँग छ । “अभियानको शुरुआती अवस्थामा हामीलाई केही स्थानमा नगरपालिकाको कर्मचारी समेत भने,” कँडेलले भने – “हामीले फोहर नउठाउँदा उनीहरुको ठाउँ सफा गर्न नआएको भनेर गालीसमेत गरे ।”

पछि बुझाउँदै गएपछि उनीहरुसमेत अभियानसँग जोडिँदै आएका अनुभव कँडेलले सुनाए । समाजका केही प्रतिष्ठित व्यक्तिले आफूहरुको अभियानमा साथ दिनभन्दा पनि असहयोग गर्ने गरेका दुःखेसो कँडेलले पोखे । “हामी फोहर टिप्दै हिँडेको अवस्थामा समाजका प्रतिष्ठित व्यक्तिले धम्क्याउने काम समेत गरेका थिए,” कँडेलले भने – “जथाभावी फोहर नफाल्न आग्रह गर्दा हामीले धेरैको गाली समेत सुन्नु परेको थियो ।”

काठमाडौँमा राज्यले शुरु गरेको भएर बागमती सफाइ अभियान प्रभावकारी भएको चितवनका अभियानकर्मीहरुको बुझाइ छ । ‘बागमती तथा विष्णुमती सफाइमा राज्य आफैं अगाडि सरेको कारण त्यो अभियान सफल भएको छ,” संयोजक कँडेलले भने – “चितवनमा हामी युवा जमात मिलेर शुरु गरेको अभियानमा पछिल्लो समय स्थानीय तहले समेत साथ नदिएपछि हामीले सोचेको चितवन बनाउन सकेनौँ ।”

कँडेलका अनुसार चितवन मध्य नेपालमा पर्ने भएकाले समेत यहाँबाट सरसफाइको सन्देश देशभरि पु¥याउन सकिन्छ । आफूहरुकै सिको गरेर पोखरा, बुटवल, धनगढी लगायतका ठाउँहरुमा युवाले स्वतःस्फूर्त रुपमा सरसफाइ शुरु गरेका कँडेलले बताए ।

उनी भन्छन् – “केही समय वे ग्रुपकै नामबाट पोखरा र धनगढीमा सरसफाइको काम शुरु गरिएको भए पनि पछि उनीहरुलाई आफ्नै तरीकाले अगाडि बढ्न आग्रह गरें । तीन तहको सरकार भएको अवस्थामा सबै सरकार सरसफाइलाई प्राथमिकता दिएर नीति बनाएर अघि बढे सफा र स्वच्छ शहर बन्छ ।

स्वच्छ नारायणी अभियान नारायणी नदीलाई फोहरमुक्त बनाउन वे ग्रुपले गरेको सफाइ अभियान प्रभावकारी बनेको छ । केही वर्ष अगाडिसम्म नदीको किनारमा फोहरका डङ्गुर हुने गथ्र्यो । अहिले नदी किनार सफा र हराभरा भएको छ ।

नदी किनार पार्कको रुपमा विकास भइरहेको छ । कुनै चाडपर्व तथा मेला भएको समयमा ग्रुपका अभियानकर्मीहरु उक्त स्थानमा पुगी फोहर नगर्न आग्रह गर्ने र ठाउँठाउँमा डस्टबिन राखिदिने गर्छन् । पर्व तथा मेला सकिएपछि उनीहरु त्यस ठाउँमा पुगेर फोहर सङ्कलन गर्छन् ।

पवित्र तीर्थस्थलको रुपमा पुजिने नारायणी नदीलाई प्राकृतिक रुपमै बग्न दिन उनीहरुले देवघाटदेखि नारायणगढसम्म बेलाबखत सरसफाइ गर्दै आएका छन् ।

माघे सङ्क्रान्ति, ठूली एकादशी, बाला चतुर्दशी, साउनको सोमबार, नयाँ वर्ष, कात्तिक स्नान जस्ता समयमा नदी किनार बढी फोहर हुने गर्छ । यस्तो अवसरमा उनीहरु ती स्थानमा गएर फोहर नगर्न माइकिङसँगै फोहर सङ्कलन गर्छन् । हिजोआज नारायणी नदीसँगै भरतपुरको मुख्य बजार क्षेत्रले समेत मुहार फेरेको छ । सडक पेटीमा हिँड्दा मुख छोपेर हिड्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

अभियानसँग आवद्ध व्यक्तिहरुले हरेक सोमबार आफ्नो अभियानलाई निरन्तरता दिँदै आइरहेका छन् । जुन ठाउँमा सरसफाइ हुने गरेको छ त्यस ठाउँका स्थानीय बासिन्दासमेत सफाइ अभियानमा सामेल हुन थालेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -