स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

पिपिएल उद्घाटन : पोखराको विजयी शुरुआत

क्रिकेटमा उत्कृष्ट व्याटिङ
सेयर गर्नुहोस

 २९ मङ्सिर : पोखरामा आजदेखि शुरु भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनले विजयी शुरुआत गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा घरेलु टोली पोखराले काठमाडौँ गोल्डेन वारियर्सलाई नौ विकेटले पराजित गरी प्रतियोगितामा सुखद शुरुआत गरेको हो । खेलमा टस जितेर पोखराले व्याटिङको निम्तो दिएपछि काठमाडौँले पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर ११५ रनको योगफल तयार गरेको थियो ।

जितका लागि ११६ रनको विजयी लक्ष्य पोखराले शुरुआती ब्याटस्म्यान कुशल भुर्तेलको अर्धशतकीय ६५ रन योगदानको मद्दतले १४ दशमलव एक ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । जम्मा ४३ बल सामना गरेको खेलको ‘म्यान अफ दी म्याच’ भुर्तेलले पाँच छक्का र चार चौका प्रहार गर्दै अविजित रहँदै टोलीलाई पहिलो खेलमा जित दिलाए ।

पोखराका लागि रवीन्द्र सिंहले अविजित रहँदै ३८ रन जोडे भने शुरुआती ब्याट्सम्यान आशिफ शेख शुसान भारीको बलमा एलविडब्लु हुँदै १४ रन जोडेर पेभिलियन फर्किए । काठमाडौँका लागि सुवोध भाटीले सर्वाधिक ४५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

सर्वजीत लड्डाको बलमा आशिफ शेखबाट क्याच आउट हुनुअघि उनले २९ बलमा चार चौका र चार छक्कासहित ४५ रन बनाएका थिए । पोखराका रशियो खान, ललितनारायण राजवंशी र कुशल मल्लले समान दुई तथा सर्वजित लड्डा तथा प्रथमेश ढाकेल एक÷एक विकेट लिएका थिए ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले आयोजना गरेको प्रतियोगिताका विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन् । ‘म्यान अफ दि सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीन जना खेलाडीलाई टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरी प्रतियोगिताको ‘मोस्ट भ्यालुएवल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’लाई रु १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पोखरा पल्टन, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ शहरका छ टोलीको सहभागिता छ । प्रतियोगिताअन्तर्गत सोमबार विराटनगर टाइटन्स र धनगढी ब्लुजबीच बिहान पहिलो स्पर्धा हुनेछ भने काठमाडौँ गोल्डेन्स र बुटवल ब्लास्टर्सबीच दोस्रो खेल हुनेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -