स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

भ्रमण वर्षका लागि विश्वस्तरमा प्रवद्र्धन

visit nepal 2020 - The Times Of Nepal
सेयर गर्नुहोस

२५ मङ्सिर  : नेपाल भ्रमण वर्ष २०२० अभियानको उद्घाटन समारोहमा ४० देशका पर्यटनमन्त्रीसहित विशिष्ट पाहुनालाई निमन्त्रणा दिइएपछि भ्रमण वर्षमा रौनक थपिने भएको छ ।

प्राकृतिक र सांस्कृतिक रुपमा सुन्दर र वैभवशाली नेपालमा अर्काे वर्ष २० लाख पर्यटक ल्याउने महत्वाकाङ्क्षी योजनसहित हुन लागेको भ्रमण वर्षको तयारीका क्रममा सरकारले विश्वस्तरमा कूटनीतिक र अन्य माध्यमबाट सम्पर्क स्थापित गरिरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आज रासससँगको अन्तर्वार्तामा भ्रमण वर्षको उद्घाटन कार्यक्रममा करीब तीन दर्जन देशका विशिष्ट पाहुनालाई अनुरोधसहित निमन्त्रणा गरिएको र कोको आउने या नआउने भन्नेबारे ‘फलोअप’ भइरहेको जानकारी दिनुभयो ।

सम्बन्धित मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगबाट ती मुलुकका पर्यटनमन्त्री र विशिष्ट व्यक्तिसँग नेपाल आउनका लागि सम्पर्क भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रमण वर्ष सन् २०२० को जनवरी १ मा शुरु भएर डिसेम्बर ३० मा सकिने विषय होइन ।

हामी आगामी एक दशकलाई नै भ्रमण वर्षका रुपमा मनाउन कार्ययोजना तयार गरिरहेका छौँ । यसका लागि विश्वव्यापी सम्पर्क र प्रचारप्रचारको अभियानमा हामी जुटेका छौँ ।” आगामी नीति तथा कार्यक्रममा समावेश गरेर उक्त कार्यक्रम घोषणा गर्ने योजना बनाइएको जनाइको छ । एक दशक अवधिमा अहिलेका पूर्वाधारलाई सुधार गर्दै आवश्यक सबै पर्यटकीय पूर्वाधार निर्माण गरी पर्यटन विकासमा ध्यान केन्द्रित गर्ने सरकारको तयारी छ ।

“नेपाल भ्रमण वर्ष २०२० त सफलतातर्फउन्मुख छ, त्यसका साथसाथै आगामी दशक ‘पर्यटनका लागि एक दशक’ अभियान चलाउने सोच बनाएका छौँ”, संस्कृतिमन्त्री भट्टराईले भन्नुभयो । एक दशकमा सबै क्षेत्रमा पूर्वाधार सम्पन्न गर्ने, विमानस्थलदेखि प्रमुख गन्तव्य स्थानसम्मको यातायात, होटलको स्तरोन्नति र स्तरीकरणको काम सक्ने, दक्ष जनशक्ति उत्पादन गरेर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठान बनाएर जनशक्ति उत्पादन गरिने मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

आगामी १५ औँ पञ्चवर्षीय योजनामा हरेक वर्ष कम्तीमा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य छ । हालको तीन प्रतिशतबाट कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु¥याउने र पर्यटन क्षेत्रमा हरेक वर्ष एक लाख ५० हजारदेखि दुई लाखसम्म रोजगारी सिर्जना गर्ने योजनामा छ । उक्त लक्ष्य प्राप्त गर्नका लागि मन्त्रालयले पर्यटन दशक घोषणा गरेर आवश्यक पूर्वाधार निर्माण गरी मुलुकलाई विश्वकै आकर्षक गन्तव्यस्थल बनाउने सोच मन्त्रालयको छ ।

पर्यटन दशकका लागि साझा प्रतिबद्धता आवश्यक रहेको र अभियानमा राजनीतिक दल पनि सँगसँगै लाग्नुपर्नेमा मन्त्री भट्टराईले बताउनुभयो । अहिले तत्कालका लागि मुलुक भ्रमण वर्षको तयारीमा रहेको र आगामी दशकका लागि आधार तयार पर्ने उहाँको भनाइ छ ।

यस बेलामा हरेक सङ्घसंस्थाले कम्तीमा एउटा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम नेपालमा गर्नुपर्ने उहाँले बताउनुभयो । आउँदो जनवरी १ (पुस १६ गते) मा काठमाडौँ दशरथ रङ्गशालामा राष्ट्रपतिबाट उद्घाटन हुने भ्रमण वर्षका लागि विदेशस्थित कूटनीतिक नियोग र सातै प्रदेशका सरकारले पनि फरक फरक कार्यक्रम आयोजनाको तयारी गरेका छन् ।

नेपाल भ्रमण वर्षको समग्र तयारीमा कुनै कमी नहुन नदिने गरी काम भइरहेको जनाउँदै मन्त्री भट्टराईले भ्रमण वर्षको भव्य उद्घाटनको आवश्यक तयारी भइरहेको बताउनुभयो । मन्त्री भट्टराईले नेपालमा सम्पन्न दक्षिण एशियाली खेलकूद (साग) ले समेत आसन्न भ्रमण वर्षलाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा योगदान दिएको जनाउँदै खेल क्षेत्रका व्यक्ति र नियकासँग यसबीचमा आफ्नो अनौपचारिक कुरा भएको र सागको सफलताले नेपालले यस्ता अन्तरराष्ट्रिय कार्यक्रम सहजै आयोजना गर्न सक्छ भन्ने पुनः सन्देश दिएको बताउनुभयो ।

सागले नेपालको आत्मबल बढेको र अन्तरराष्ट्रियस्तरमा नेपाललाई माथिल्लोस्तरमा पु¥याएकाले भ्रमण वर्षलाई महत्वपूर्ण टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । सागको समापनका अवसरमा प्रधानमन्त्रीकेपी शर्मा ओलीले पनि ऐतिहासिक र भव्यताका साथ सफलरुपमा सागको सम्पन्नताले नेपाल भ्रमण वर्षलाई समेत योगदान पु¥याउने बताउनुभएको थियो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार नेपालमा पर्यटक बढी आउने र कूटनीतिक सम्बन्ध स्थापित भएका भारत, चीन, म्यान्मा, थाइल्याण्ड, मलेसिया, दक्षिण कोरिया, जापान, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रुस, बेल्जियम, अष्ट्रेलियालगायत मुलुक र अन्य कूटनीतिक सम्बन्ध स्थापित नभएको तर सार्क सदस्य मुलुक माल्दिभ्स र अफ्रिकाको जमैकामा पनि निमन्त्रणा पुगेको बताउनुभयो । सन् २०२० जनवरी १ तारिखमा नेपालमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । विदेशस्थित सबै कूटनीतिक नियोगमा जनवरीको पहिलो साताभित्र भ्रमण वर्षको उद्घाटनको कार्यक्रम तय गरिएको पर्यटनमन्त्री भट्टराईले जानकारी दिनुभयो ।

विश्वका उत्कृष्ट १० गन्तव्यस्थल रहेका मुलुकमा भ्रमण वर्षको तयारीका लागि अहिले सम्पूर्ण शक्ति जुटेको छ । स्वदेशभित्र र बाहिर भ्रमण वर्ष अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको छ ।

बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ र सन् २०१९ को पछिल्लो १० महिनाका अवधिमा १० लाख पर्यटकले नेपाल भ्रमणले गरेका छन् । सन् २०१८ मा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत पर्यटक वृद्धि भएको थियो ।

सरकारले पर्यटक बढाउन र पर्यटनबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा दिन पूर्वाधार विकास र गुणस्तरीय पर्यटक सेवाका लागि विशेष जोड दिँदै आएको छ । सरकारी निकायले पर्यटकको सङ्ख्याका साथै बढी खर्च गरेर बढी दिन नेपालमा बस्ने गुणस्तरीय पर्यटकको आगमनका लागि पनि प्रयास गरिरहेको छ ।

संस्कृति मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स २०१८’ का अनुसार हाल नेपालमा आउने पर्यटकले एक दिनमा ४५ अमेरिकी डलर खर्च गर्छन् भने पर्यटकको औसत बसाइ १२ दशमलव ६ दिन हुने गरेको छ । मन्त्री भट्टराईसँगको अन्तर्वार्ताको विस्तृत विवरण आगामी शनिबार रासस बुलेटिनमा दिइने छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -