स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

अन्तर्राष्ट्रिय विकास साझेदारलाई लगानी गर्न आग्रह

मुख्यमन्त्री महेन्द्रबहादु्र शाहीले विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय विकास साझेदारलाई लगानी गर्न आग्रह
सेयर गर्नुहोस

२३ मङ्सिर : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादु्र शाहीले विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय विकास साझेदारलाई लगानी गर्न आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आज सम्पन्न कर्णाली प्रदेश सरकार र नेपालस्थित अन्तर्राष्ट्रिय विकास साझेदारसँगको बैठकमा मुख्यमन्त्री शाहीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संयुक्त लगानीबाट मात्र कर्णालीको अपेक्षित विकास हुने बताउनुभयो ।

“विकास, गरिबीको अन्त्य र सुशासनको प्रत्याभूति सबै नागरिकको चाहना हो,” उहाँले भन्नुभयो, “यसलाई पूरा गर्न प्रदेश सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्यको तयारी गरिरहेको छ ।” बैठकमा मुख्यमन्त्री शाहीले यहाँको गरिबी अन्त्य, उत्पादनमा वृद्धि, पर्यटकीय क्षेत्रको विकास, ऊर्जा तथा भौतिक पूर्वाधार विकासका क्षेत्रमा एकीकृतरुपमा लगानी गर्न अन्तर्राष्ट्रिय विकास साझेदार संस्थालाई आग्रह गर्नुभयो ।

प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा विकास साझेदार संस्थाले लगानी गर्नुपर्नेमा जोड दिँदै उहाँले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थासँग सहकार्य गर्न तयार रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी सङ्घीय व्यवस्था कार्यान्वयनको प्रारम्भिक चरणमा छौँ । कानून निर्माण, प्रशासनिक संरचनाको स्थापनालगायतका व्यवस्थापकीय काम नटुङ्गिदा जनअपेक्षाअनुरुप काम हुन सकेको छैनन् ।”

संवैधानिक व्यवस्थाबमोजिम कानूनीरुपमा तीनवटै सरकारको कार्यक्षेत्र निर्धारण, प्राकृतिक स्रोत साधनको बाँडफाँट प्रशासनिक संरचनाको स्थापनाजस्ता आधारभूत काम पूरा हुन नसक्नु दुःखद् भएको जनाउँदै मुख्यमन्त्री शाहीले समृद्ध कर्णाली, सुखी कर्णालीवासीको सोचसहित प्रदेश योजना आयोगबाट कर्णाली प्रदेशको प्रोफाइल निर्माण, पञ्चवर्षीय आवधिक योजनाको मस्यौदा तयारी, आयोजना बैंकको तयारीजस्ता काम सम्पन्न भएको बताउनुभयो ।

बैठकमा बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी)की नेपाल प्रमुख लिजा ह्याननले अन्तर्राष्ट्रिय साझेदार संस्थाले एकीकृतरुपमा प्रदेश तथा स्थानीय सरकार सहयोग (पिएलजिएसपी) कार्यक्रम सञ्चालनका लागि सङ्घीय सरकारसँग सम्झौता गरिसकेको जानकारी दिनुभयो ।

ठूला परियोजना सञ्चालनका लागि सङ्घीय सरकारसँग सहकार्य भइरहेको बताउँदै विश्व बैंकका राष्ट्रिय प्रबन्धक फारिस ह्याडडले मझौला तथा साना योजना, स्थानीय उत्पादनको ब्राण्डिङ्ग तथा ग्रामीण तथा प्रदेश तहका परियोजनामा प्रदेश सरकारसँग सहकार्य गर्न विश्व बैंक इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो । बैठकमा प्रदेश सरकारका मन्त्री, सचिव, अन्तर्राष्ट्रिय विकास साझेदार संस्था डिएफआइडी, विश्व बैंक, युएसएड, युएनडिपी, युरोपेली युनियन र नर्वेजियन दूतावासका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -