स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

नेपाल भ्रमण वर्ष : मुलुकको साझा स्वार्थ

visit nepal 2020 - The Times Of Nepal
सेयर गर्नुहोस

 १९ मङ्सिर : मुलुकलाई पर्यटकीय गन्तव्यका रूपमा विश्वस्तरमा चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ दुई वर्षअघि घोषणा भएको नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी अन्तिम चरणमा पुग्नै लाग्दा सरकारले विभिन्न पक्षसँग छलफल र तयारीलाई तीव्र पारेको छ ।

काठमाडौँ र प्रदेशस्तरमा आगामी जनवरी १ मा र विदेशमा जनवरी ७ तारिखमा भ्रमण वर्षको औपचारिक उद्घाटनको तयारीमा जुटेको सरकारले राजनीतिक दल र तिनका भ्रातृसङ्गठन, नेपालस्थित विदेशी राजदूतावास र कूटनीतिक नियोगदेखि विभिन्न सङ्संस्था प्रतिनिधिहरुको रायसुझाव र प्रतिबद्धता लिइरहेको छ । सन् २०२० मा कम्तीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ ।

सन् २०१९ मा करीब १५ लाख पर्यटक भित्रिने अनुमान गरिएकामा आगामी वर्ष २० लाख पर्यटक भित्र्याउन कठिन छैन । यसका लागि साझा प्रयासको खाँचो रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बताउनुभएको छ ।

भ्रमण वर्षलाई केन्द्रित गरेर बुधबार विभिन्न देशका राजदूतहरुसँग छलफल गरेको पर्यटन मन्त्रालयले आज विभिन्न राजनीतिक दलका नेता, तिनका भ्रातृसङ्गठनका प्रमुख एवं प्रतिनिधिहरुको सुझाव र प्रतिबद्धता लिएको छ । दलका नेता तथा प्रतिनिधिहरुले भ्रमण वर्ष सफल पार्नु सरकारको मात्रै जिम्मेवारी नभएको भन्दै आवश्यकताअनुसार नेता, कार्यकर्ता र भ्रातृसङ्गठनका प्रतिनिधिहरुलाई अवैतनिक स्वयंसेवकका रूपमा परिचालन गर्ने आश्वासन दिएका छन् ।

सरकार तथा निजी क्षेत्रले भ्रमण वर्षको सन्दर्भमा विशेष प्याकेज घोषणा गर्ने तयारीसमेत गरेका छन् । मन्त्री भट्टराईको संयोजकत्वमा समिति बनाएर आवश्यक गोष्ठी र छलफल जारी छ । भ्रमण वर्षलाई केन्द्रित गरेर हवाई उडान गन्तव्य थप्नेदेखि विमानस्थलको स्तरोन्नति, पर्यटन पूर्वाधार विकास, आवश्यक प्रचारप्रसार तथा नेपाल र विदेशमा रहेका नेपाली प्रतिनिधिमार्फत प्रवद्र्धनात्मक कार्यक्रमक सञ्चालन भइरहेको छ । राजनीतिक दल, तिनका भ्रातृसङ्गठनका प्रमुख तथा प्रतिनिधिहरुले सरकारको प्रयासको सराहना व्यक्त गर्दै बन्न नसकेको क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले भ्रमण वर्ष नेपाल सरकारको मात्रै जिम्मेवारी नभई साझा राष्ट्रिय कार्यक्रम भएको बताउनुभयो । उहाँले नेकपाको सम्पूर्ण पार्टी पङ्क्तिले भ्रमण वर्षका लागि आउने दायित्व पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । “यो एकचोटि पर्यटक आएर फर्कने कुरा होइन, उनीहरुले यस्तो सन्देश लिएर जाउन् की, आफ्नो देशमा पुगेर पटकपटक गइरहनुपर्ने ठाउँ नेपाल हो भन्न सकुन्”, महासचिव पौडेलले भन्नुभयो, “अतिथिलाई देवता मान्ने संस्कार नेपालमा छ ।”

त्यही आचरण र व्यवहार प्रदर्शन गर्नका लागि त्यसको स्रोत व्यक्तिका रूपमा दलका नेता तथा कार्यकर्ताहरुले भूमिका निर्वाह गर्नुपर्ने भन्दै पौडेलले यसतर्फ सबैको साझा प्रयास हुनुपर्नेमा जोड दिनुभयो । गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वको अग्लो शिखर सगरमाथा अन्य कुनै देशले बनाउँछु भनेर बनाउन नसक्ने उल्लेख गर्दै बरु त्यस्ता सम्पदा र सम्भावनाको विश्वमा प्रचार जरुरी रहेको उहाँको भनाइ थियो । नेकपा र भ्रातृसङ्गठनका प्रतिनिधिहरुलाई अवैतनिक स्वयंसेवकको रूपमा परिचालन गर्न नेकपा तयार रहेको उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले भ्रमण वर्ष नेपालीहरुको साझा कार्यक्रम र साझा स्वार्थ भएको उल्लेख गर्नुभयो । उहाँले कार्यक्रम सफल बनाउनु आम नेपालीको कर्तव्य हो भन्नुभयो । नेपालले भविष्य कोर्नुपर्ने र राष्ट्रिय उद्देश्यले प्रेरित कार्यक्रम गर्नुपर्ने आजको सन्दर्भमा आर्थिक विकासका लागि राजनीतिक रूपमा विवाद सिर्जना गर्ने बेला नभएको नेता बस्नेतको भनाइ थियो ।

सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्न कृषि, पर्यटन र ऊर्जाको विकास अपरिहार्य रहेकोमा उहाँको जोड थियो । नेता बस्नेतले मुलुकमा धेरै समस्या रहेकाले त्यसको जस–अपजस हामी सबैले लिनुपर्नेमा जोड दिँदै भन्नुभयो, “पूर्वाधार निर्माण गर्नुपर्छ, होटल व्यवस्थापनदेखि हवाई क्षेत्रमा देखिएका समस्या समाधानमा लाग्नुपर्छ ।”

भ्रमण वर्षको सफलता भनेको सरकारको मात्रै सफलता नभई आम नेपालीको सफलता हो भन्दै उहाँले कांग्रेस र भ्रातृसङ्गठनले आफ्नै दायित्व सम्झेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । छलफलमा राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले पहाडीहरुको मात्रै पर्यटन गन्तव्य हुन्छ भन्ने सोचलाई चिर्दै सरकारले मधेसलाई समेत प्राथमिकतामा राखेर भ्रमण वर्ष घोषणा गर्न लागेकोमा खुशी व्यक्त गर्दै पार्टीको पूर्ण साथ रहने प्रतिक्रिया दिनुभयो । पूर्वाधार निर्माणमा जोड दिन सुझाव दिँदै उहाँले सुरक्षित गन्तव्यस्थल छ भन्ने सन्देश विश्वव्यापी पु¥याउन सुझाव दिनुभयो ।

छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, समाजवादी पार्टीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि र सांसदहरुले भ्रमण वर्ष सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले डिसेम्बर महिनाभर नै अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरी प्रचारात्मक कार्यक्रम थालिएको जानकारी दिनुभयो । उहाँले नेपालमा पर्यटकको पूर्ण सुरक्षा रहेको उल्लेख गर्दै एकाध घटना विश्वमा हुने भएकाले त्यस्ता गतिविधिलाई बढावा दिन नहुनेमा जोड दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -